
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोगको घोषणा गरेका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री मोदीबीच सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले उक्त सहयोग घोषणा गरेका हुन् ।
यो सहयोग मुख्यतः बाढीपहिरोबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र नेपालको दीर्घकालीन विकासमा केन्द्रित रहने बताइएको छ । तर, घोषित रकममध्ये कति अनुदान र कति सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) रहने भन्ने विषयमा भारतले औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेको छैन ।
नेपालले मागेकोभन्दा बढी सहयोग
नेपालले भारतसँग करिब दुई खर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग माग गरेको थियो । त्यसमा एक खर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र एक खर्ब रुपैयाँ अनुदानका रूपमा उपलब्ध गराउन प्रस्ताव गरिएको थियो ।
नेपालको प्रस्तावअनुसार बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पूर्वाधार विकासका लागि अनुदान माग गरिएको थियो । विशेषगरी रसुवाको बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र बुटवल-पोखरा द्रुतमार्ग निर्माणका लागि आर्थिक सहयोगको प्रस्ताव गरिएको थियो ।
नेपालले प्रस्ताव गरेको अनुदानमध्ये ५० अर्ब रुपैयाँ रसुवा बाढीपछिको पुनर्निर्माण र थप ५० अर्ब रुपैयाँ बुटवल–पोखरा द्रुतमार्ग निर्माणमा खर्च गर्ने योजना बनाएको थियो । तर, मोदीले सहयोग घोषणा गर्दा कुन परियोजनाका लागि कति रकम उपलब्ध गराउने भन्ने खुलाएका छैनन् ।
नेपालले मागेको ऋण सहयोगको प्रस्तावलाई भारतले सम्बोधन गरेको देखिए पनि अनुदानको हिस्सा भने प्रस्तावभन्दा कम हुने स्रोतको दाबी छ ।
भारतको ऋण सहयोग उपयोग गर्न विगतमा पनि कठिनाइ
भारतले यसअघि पनि नेपाललाई विभिन्न समयमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । तर, त्यस्ता ऋणको पूर्ण उपयोग गर्न नेपाललाई कठिनाइ हुँदै आएको छ ।
सन् २०१४ मा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा एक अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग घोषणा गरिएको थियो । त्यसमा २५ करोड अमेरिकी डलर अनुदान र ७५ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण थियो ।
सन् २०१५ को भूकम्पपछि उक्त सहयोगलाई पुनर्निर्माणसँग जोडिएको थियो । अनुदानको रकम पुनर्निर्माणमा खर्च भए पनि ७५ करोड डलर ऋणमध्ये करिब पाँच करोड डलर मात्र उपयोग हुन सकेको थियो ।
भारतीय सहुलियतपूर्ण ऋणबाट सञ्चालित परियोजनामा कम्तीमा ७५ प्रतिशत वस्तु तथा सामग्री भारतबाटै खरिद गर्नुपर्ने प्रावधानले नेपाललाई ऋण उपयोग गर्न कठिन बनाएको अर्थ मन्त्रालयका स्रोतले जनाएको छ ।
भारत भ्रमणमा आर्थिक सहयोगसँगै अन्य विषयमा पनि छलफल
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा आर्थिक सहयोगबाहेक ऊर्जा, जलविद्युत्, व्यापार, पारवहन, हवाई र रेल सम्पर्क, सीमा व्यवस्थापन तथा पूर्वाधार विकासका विषयमा पनि छलफल भएको छ ।
नेपालले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतीय हवाई क्षेत्र हुँदै थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ । बागडोगरा क्षेत्र हुँदै हवाई मार्ग उपयोग गर्ने विषयमा समेत छलफल भएको छ ।
त्यसैगरी अयोध्या-जनकपुर रेल सेवा, ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना, पनौतीस्थित नेपाल प्रहरी प्रतिष्ठान तथा अन्य सीमापार पूर्वाधार परियोजनालाई पनि भ्रमणका सम्भावित उपलब्धिका रूपमा अघि सारिएको थियो ।
नेपाल र भारतबीच ऊर्जा व्यापार, जलविद्युत् विकास तथा सीमापार विद्युत् प्रसारण संरचना विस्तारका विषय पनि द्विपक्षीय सहकार्यका महत्त्वपूर्ण क्षेत्र हुन् ।