
नयाँ दिल्ली । नेपाल र भारतबीच विभिन्न आठवटा विषयमा समझदारीपत्र (एमओयू) आदानप्रदान भएको छ। भारतको नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत दुई देशबीच भएका सम्झौताबारे जानकारी गराइएको हो ।
यसअघि सोमबार प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएको थियो । उक्त भेटवार्तापछि दुवै देशका प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो। प्रतिनिधिमण्डलस्तरीय वार्तापछि विभिन्न क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्र सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएका समझदारीपत्रमा सुरक्षा, प्रहरी अनुसन्धान, प्रशासनिक क्षमता अभिवृद्धि, स्वास्थ्य, सञ्चार, शहरी विकास तथा कृषि क्षेत्र समेटिएका छन् ।
समझदारीपत्रअनुसार राष्ट्रिय फोरेन्सिक विज्ञान विश्वविद्यालय, गान्धीनगर, गुजरात र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य हुनेछ । त्यस्तै, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच पनि समझदारी भएको छ ।
नेपालका निजामती कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम सञ्चालन गर्न भारत सरकारको राष्ट्रिय सुशासन केन्द्र, प्रशासनिक सुधार तथा गुनासो विभाग र नेपालको प्रशासनिक कर्मचारी कलेजबीच अर्को समझदारी भएको छ ।
त्यसैगरी, आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहयोग गर्ने, दक्षिण एसियाली उपग्रहको उपयोगका लागि स्याटेलाइट कम्युनिकेसन नेटवर्क स्थापना गर्ने तथा दिगो शहरी विकासमा प्राविधिक सहयोग आदानप्रदान गर्ने विषयमा पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
स्वास्थ्य तथा औषधिको क्षेत्रमा सहकार्य गर्न भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच समझदारी भएको छ। यसैगरी, पशुधन तथा मत्स्यपालन विकासको क्षेत्रमा सहकार्य गर्ने विषय पनि सम्झौतामा समेटिएको छ ।
दुई देशबीच भएका यी समझदारीले विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य, प्राविधिक सहयोग तथा संस्थागत क्षमता अभिवृद्धिका लागि आधार तयार गर्ने अपेक्षा गरिएको छ ।
