
काठमाडौँ । सिन्धुलीमा गुडिरहेको जिपको ढोकाबाट खसेर एक जनाको मृत्यु भएको छ । सोमबार बिहान ९ः३० बजे घ्याङलेखबाट सिन्धुलीतर्फ जाँदै गरेको बा २१ च ८३२५ नम्बरको जिपबाट खसेर घ्याङलेख गाउँपालिका-४, बन्दीपुर निवासी ५८ वर्षीय मानध्वज योञ्जन घाइते भएका थिए ।
सिन्धुली प्रहरीका अनुसार जिपको ढोकाको लक समातेर बसेका योञ्जन अचानक लक खुल्दा ढोकाबाट खसेका थिए । उनलाई सोही जिपमा उपचारका लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएकोमा बिहान ९ः५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटना कमलामाई नगरपालिका-२, भद्रकालीस्थित भित्री सडकखण्डमा भएको हो ।
प्रहरीले जिप र चालक कमलामाई नगरपालिका-५, सिलामे निवासी २४ वर्षीय टेकबहादुर स्याङ्बोलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।