प्रधानमन्त्री शाहको भारत भ्रमण : नेपाल-भारत विकास साझेदारीमा नयाँ आयाम, ऊर्जा र पूर्वाधारमा सहमति

दियोपोस्ट संवाददाता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणले नेपाल-भारतबीच विकास साझेदारीमा नयाँ आयाम थपिएको छ । भ्रमणका अवसरमा प्रधानमन्त्री बालेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ऊर्जा र पूर्वाधारका साथै आर्थिक सहायतासम्म महत्त्वपूर्ण सहमति भएको हो ।

भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री मोदीबीच सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले ठुलो आर्थिक सहयोग घोषणा गरे ।

सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका पैधानमन्त्री बालेन्द्र शाहबीच दुवै देशबीच पूर्वाधार, ऊर्जा, जलस्रोत, शिक्षा, स्वास्थ्य, सुरक्षा, प्रविधि तथा व्यापारलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति समेत भएको छ । नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भारतबाट कुल २४ हजार करोड रुपैयाँ बराबरको विकास सहायता गर्ने घोषणा गरे ।

भारतीय पक्षबाट नेपालको विकास, पूर्वाधार निर्माण तथा ऊर्जा क्षेत्रका परियोजनाका लागि कुल १५ हजार करोड भारु अर्थात् करिब २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध हुनेछ ।

यसअन्तर्गत नेपालमा विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाका लागि ३ हजार ५०० करोड भारु (५ हजार ६०० करोड नेपाली रुपैयाँ)अनुदान सहायता उपलब्ध गराइनेछ । त्यस्तै, ऊर्जा क्षेत्रका परियोजनाका लागि ११ हजार ५०० करोड भारु (१८ हजार ४०० करोड नेपाली रुपैयाँ) बराबरको भारतीय रुपैयाँमा आधारित ऋण सुविधा प्रदान गरिनेछ ।

भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले ‘विकसित भारत र समुन्नत नेपाल’ का लागि संयुक्त दृष्टिकोणसमेत अंगीकार गरेका छन् । यसले आर्थिक तथा विकास साझेदारी, यातायात तथा पारवहन, ऊर्जा, जलस्रोत, जनस्तरको सम्बन्धसँगै जलवायु परिवर्तन, विपद् व्यवस्थापन, खेलकुद, नवउद्यम, डिजिटल सेवा, अन्तरिक्ष तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्ने मार्गचित्र तय गरेको छ ।

ऊर्जा र जलस्रोतमा सहकार्य विस्तार
भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको भर्चुअल माध्यमबाट शिलान्यास गरे । नेपालका जलविद्युत् परियोजनामा भारतीय कम्पनीहरूको संलग्नता बढिरहेको विषयलाई दुवै पक्षले स्वागत गर्दै निर्माणाधीन आयोजनाहरू समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) छिट्टै अन्तिम रूप दिन तथा कार्यान्वयन प्रक्रिया अघि बढाउन पञ्चेश्वर विकास प्राधिकरण र जलस्रोतसम्बन्धी संयुक्त समितिलाई निर्देशन दिइएको छ ।

सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय परियोजनाको डीपीआर निर्माण कार्यलाई तीव्रता दिने सहमति पनि भएको छ । जलस्रोतको पारस्परिक लाभका लागि उपयोग गर्ने तथा बाढीको प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले यी परियोजनालाई अघि बढाइने जनाइएको छ ।

यसैगरी, इनरुवा-न्यू पूर्णिया र दोधारा-बरेलीबीच निर्माण हुने दुई उच्च क्षमताका सीमापार विद्युत् प्रसारण लाइनका लागि संयुक्त उपक्रम गठन गर्ने प्रक्रियामा भएको प्रगतिप्रति दुवै पक्षले सन्तोष व्यक्त गरेका छन् ।

रेल, सडक र बन्दरगाहमार्फत पारवहन पहुँच विस्तार
नेपालको पारवहन व्यापारलाई सहज बनाउन भारतले गुजरातस्थित दीनदयाल बन्दरगाह (काण्डला) हुँदै नयाँ पारवहन मार्ग उपलब्ध गराउने घोषणा गरेको छ । आवश्यक पूर्वाधार तयार भएपछि ओडिशास्थित पारादीप बन्दरगाहसम्म पनि नेपालको पहुँच विस्तार गरिने जनाइएको छ ।

दुई देशका प्रधानमन्त्रीले अयोध्या र जनकपुरबीच सञ्चालन हुने सरयु–कमला एक्सप्रेस रेल सेवाको संयुक्त रुपमा उद्घाटन गरे । यसले नेपाल र भारतबीचको यातायात सम्पर्क विस्तार गर्नुका साथै रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सो अवसरमा बौद्ध तथा शिव-शक्ति धार्मिक पर्यटन सर्किट विकासका लागि पनि यस्तै सम्पर्क सञ्जालको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको छ ।

त्यस्तै, प्रस्तावित रक्सौल-काठमाडौँ विद्युतीकृत ब्रोडगेज रेलमार्गको फिल्ड लोकेसन सर्वेक्षण सम्पन्न भएको घोषणा गरिएको छ । नेपालमा पूर्व-पश्चिम रेलमार्ग विकासका लागि समेत दुवै देशले सहकार्य गर्ने भएका छन् ।

सीमापार पूर्वाधार विस्तारअन्तर्गत बनबासामा निर्माण हुने नयाँ एकीकृत जाँच चौकीको भर्चुअल माध्यमबाट शिलान्यास गरिएको छ। भैरहवा, सुनौली र दोधारा–चाँदनीमा एकीकृत जाँच चौकी निर्माणको प्रगतिलाई पनि दुवै पक्षले स्वागत गरेका छन्य । यसअघि नेपाल-भारत सीमामा तीनवटा एकीकृत जाँच चौकी सञ्चालनमा आइसकेका छन् ।

यसैगरी, भारतको धार्चुला र नेपालको दार्चुलाबीच निर्माण गरिएको नयाँ सीमापार मोटर गुड्ने पुलको उद्घाटन गरिएको छ । यसले पश्चिम नेपाल र भारतबीचको आवागमन तथा व्यापारिक सम्पर्कलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

पेट्रोलियम पूर्वाधार विस्तारमा नयाँ सहमति
नेपाल-भारत पेट्रोलियम पूर्वाधार सहकार्यअन्तर्गत मोतीहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण नेपालका जनतालाई समर्पण गरिएको छ ।

त्यस्तै, झापामा निर्माण हुने पेट्रोलियम टर्मिनलको भर्चुअल माध्यमबाट शिलान्यास गरिएको छ । भारतको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन निर्माणको काम छिट्टै सुरु गर्नुपर्ने विषयमा पनि दुवै प्रधानमन्त्रीले जोड दिएका छन् ।

नेपाल र भारतबीच ग्यास पाइपलाइन निर्माणमा सहकार्य गर्न सकिने सम्भावनाको अध्ययन गर्ने सहमति समेत भएको छ ।

चितवनमा कृषि-औद्योगिक पार्क, नेपालमा अफ-सोर आईआईटी क्याम्पस
भारतको अनुदान सहयोगमा चितवनमा कृषि-औद्योगिक पार्क स्थापना गर्ने घोषणालाई दुवै देशका प्रधानमन्त्रीले स्वागत गरेका छन् । यसबाट कृषि उत्पादनको प्रशोधन, औद्योगिकीकरण तथा रोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, नेपालमा अफ-सोर इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) क्याम्पस स्थापना गर्ने सहमति भएको छ । यसले नेपालको उच्च शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धि तथा प्राविधिक जनशक्ति उत्पादनमा सहयोग पुर्‍याउने विश्वास दुवै पक्षले व्यक्त गरेका छन् ।

नवउद्यम, डिजिटल प्रविधि तथा वित्तीय सम्पर्क सञ्जालका क्षेत्रमा भइरहेको सहकार्यलाई थप विस्तार गर्ने विषयमा पनि छलफल भएको छ । नेपाल र भारतमा बसोबास गर्ने एकअर्का देशका नागरिकलाई बैंकिङ तथा दूरसञ्चारलगायतका सेवामा सहज पहुँच उपलब्ध गराउने आवश्यकता दुवै पक्षले स्वीकार गरेका छन् ।

आठवटा समझदारीपत्र आदानप्रदान
भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठवटा समझदारीपत्र (एमओयू) आदानप्रदान भएका छन् । ती समझदारीपत्र शिक्षा, अनुसन्धान, प्रहरी तालिम, निजामती कर्मचारीको क्षमता विकास, स्वास्थ्य, परम्परागत चिकित्सा, अन्तरिक्ष प्रविधि तथा सहरी विकाससँग सम्बन्धित छन् ।

आदानप्रदान भएका समझदारीपत्रमा राष्ट्रिय न्यायिक विज्ञान विश्वविद्यालय, गान्धीनगर र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य गर्ने विषय समेटिएको छ ।

त्यस्तै, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच सहकार्य गर्ने समझदारी भएको छ । नेपालका निजामती कर्मचारीको क्षमता अभिवृद्धिका लागि भारतको राष्ट्रिय सुशासन केन्द्र र नेपालको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच पनि समझदारीपत्र आदानप्रदान भएको छ ।

आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीमा सहकार्य गर्ने, दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार सञ्जाल स्थापना गर्ने तथा दिगो सहरी विकासमा प्राविधिक सहकार्य गर्ने विषयमा पनि समझदारी भएको छ ।

यसैगरी, स्वास्थ्य तथा चिकित्सासम्बन्धी सहकार्य र पशुपन्छी तथा मत्स्य विकासका क्षेत्रमा सहकार्य गर्ने विषयमा दुई देशबीच समझदारीपत्र आदानप्रदान गरिएको छ ।

विपद्पछिको सहयोगप्रति नेपालको आभार
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले रसुवा-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट नेपालमा भएको जनधन तथा भौतिक सम्पत्तिको क्षतिपछि भारतले उपलब्ध गराएको मानवीय तथा प्राविधिक सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गरे ।

भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकास यात्रामा भारतको निरन्तर समर्थन रहने प्रतिबद्धता दोहोर्‍याए । उच्च प्रभाव सामुदायिक विकास परियोजनासहित नेपालमा भारतको सहयोगमा सञ्चालित विभिन्न विकास आयोजनाको प्रगतिप्रति दुवै नेताले सन्तोष व्यक्त गरेका छन् । भारतको सहयोगमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रतिष्ठानको प्रगतिबारे पनि छलफल भएको छ ।

सीमा व्यवस्थापनका विषयमा दुई देशबीच भइरहेको संयुक्त कार्यको समीक्षा गर्दै सीमा स्तम्भहरूको मर्मतसम्भार तथा रेखदेखमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरिएको छ। बाँकी रहेका सीमासम्बन्धी विषय समाधानका लागि दुवै देशका परराष्ट्र सचिवलाई आवश्यक काम अघि बढाउन निर्देशन दिइएको छ ।

भ्रमणको अन्त्यमा प्रधानमन्त्री शाहले आफू र आफ्नो प्रतिनिधिमण्डललाई प्रदान गरिएको आतिथ्यप्रति भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिँदै नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिए । मोदीले उक्त निमन्त्रणा स्वीकार गरेका छन् । उनको नेपाल भ्रमणको मिति कूटनीतिक माध्यमबाट तय गरिने संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।

दुई देशबीचको सम्बन्ध गहिरो विश्वास, मित्रता, पारस्परिक सम्मान र समझदारीमा आधारित रहेको उल्लेख गर्दै भ्रमणले नियमित उच्चस्तरीय भेटघाट तथा आर्थिक र विकास सहकार्यलाई थप अघि बढाउने प्रतिबद्धता पुनः पुष्टि गरेको छ ।

प्रधानमन्त्री पदभार ग्रहण गरेपछि प्रधानमन्त्री शाहको यो पहिलो भारत भ्रमण हो ।

सिफारिस