प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक र सन्तोषजनक रहेको डा.बाबुराम भट्टराईको निष्कर्ष

दियोपोस्ट संवाददाता

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमण उपलब्धिमूलक रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले इतिहासदेखि थाती रहेका असमान सन्धि, सीमा विवाद र आर्थिक परनिर्भरताजस्ता विषयमा ठोस प्रगति हुन नसके पनि तत्कालीन मुद्दाहरूमा भएका सहमति सन्तोषजनक रहेको बताएका हुन् ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी २४ बुँदे संयुक्त विज्ञप्ति, आठवटा समझदारीपत्र, द्विदेशीय भिजन डकुमेन्ट, विभिन्न परियोजनाको उद्घाटन तथा घोषणा र आर्थिक प्याकेजलाई सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ छ ।

भ्रमणका क्रममा भएका कतिपय विषय औपचारिकतामा सीमित देखिए पनि द्विपक्षीय सम्बन्धमा केही समयदेखि देखिएको अन्योल र आशंका हट्दै नयाँ सकारात्मक सुरुवात हुन खोजेको संकेत मिलेको भट्टराईले उल्लेख गरेका छन् ।

त्यस्तै, दुवै देशका प्रधानमन्त्रीबीचको संवाद र एकअर्काप्रतिको शब्द चयनले समेत बढ्दो कूटनीतिक न्यानोपनको आभास दिएको उनले बताएका छन् ।

यद्यपि, दुई देशबीचका संरचनात्मक समस्या पूर्ण रूपमा समाधान भइनसकेको भन्दै भट्टराईले ती समस्या कुनै पनि बेला पुनः बल्झिन सक्ने सम्भावना औंल्याएका छन् । अहिले भएका सहमति र प्रतिबद्धता कार्यान्वयन गर्नु पनि चुनौतीपूर्ण रहेको उनको टिप्पणी छ ।

समग्रमा विषम परिस्थितिमा गठन भएको नयाँ सरकार र युवा प्रधानमन्त्रीले संवेदनशील परराष्ट्र सम्बन्धको मामिलामा हासिल गरेको उपलब्धिका लागि बधाई दिनु उचित हुने भट्टराईको निष्कर्ष छ ।

उनले प्रधानमन्त्री शाहको पहिलो भारत भ्रमणलाई द्विपक्षीय सम्बन्धमा सकारात्मक सुरुवातका रूपमा व्याख्या गरेका छन् ।

सम्बन्धित खबर

सिफारिस