
काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा आनी छोइङ डोल्मालाई सरकारले गरेको नियुक्ति गैरकानुनी तथा विधि र प्रक्रियाविपरीत रहेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। ‘राष्ट्रिय जेनजी नागरिक अभियान’ का तर्फबाट संयोजक सुनिल बहादुर सिंह सहितले आज (मंगलबार) परमादेश लगायतका आदेश माग गर्दै रिट दर्ता गराएका हुन् ।
सर्वोच्च अदालतले उक्त रिट दर्ता गरी मंसिर ९ (बुधबार) गते का लागि पेसी तोकेको छ । रिट निवेदकहरूको तर्फबाट अधिवक्ता प्रेम बहादुर थापाले बहस पैरवी गर्नेछन् ।
रिट निवेदनमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष र नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा मुक्तान लामालाई विपक्षी बनाइएको छ।
शैक्षिक योग्यता, नागरिकता र सम्पत्ति शुद्धीकरणमा प्रश्नसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को गत असोज ३० गते बसेको बैठकले डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले मंसिर २ गतेदेखि पदबहाली गरेकी थिइन् ।
निवेदकहरूले ‘सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरूको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७१’ विपरीत उक्त नियुक्ति भएको बताएका छन् । मापदण्डअनुसार उपाध्यक्ष पदका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था रहे पनि आनी छोइङ डोल्माले टेलिभिजन अन्तर्वार्तामा आफू कक्षा ५ सम्म मात्र पढेको बताएको रिटमा उल्लेख छ।
यसैगरी, डोल्माले आफ्नो पुस्तक ‘सिंगिङ फर फ्रिडम’ मा आफ्ना अभिभावक तिब्बतबाट आएको उल्लेख गरेको भन्दै निवेदकहरूले उनको नेपाली नागरिकताको वैधानिकतामाथि समेत प्रश्न उठाएका छन् । ‘गैरनेपाली नागरिकको सन्तानले कसरी नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरे र नेपाल सरकारले कसरी उहाँलाई नागरिकता प्रदान गर्यो भन्ने विषय नै विवादास्पद रहेको छ,’ रिट निवेदनमा भनिएको छ । निवेदनसँगै महानगरीय प्रहरी परिसर र जिल्ला प्रशासन कार्यालय काठमाडौँबीच २०४६ सालमा जारी नागरिकताको अभिलेखबारे भएको पत्राचारको विवरणसमेत संलग्न गरिएको छ ।
साथै, मापदण्डको दफा ४ ९ख० अनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन लगायतका मुद्दामा सजाय पाएको व्यक्ति अयोग्य हुने व्यवस्था रहेको स्मरण गराउँदै विगतमा डोल्मामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन भएको समाचार सार्वजनिक भएकाले उक्त अनुसन्धान कहाँ पुगेको हो भन्नेबारे अदालतबाट बुझ्नसमेत माग गरिएको छ।
साथै नियुक्ति बदरको मागरिटमा नेपालको संविधानको धारा १७, २७, ३२ र ४६ तथा लुम्बिनी विकास कोष ऐन, २०४२ र सर्वोच्च अदालत नियमावली, २०७४ बमोजिम उत्प्रेषणको आदेशद्वारा नियुक्ति बदर गर्न माग गरिएको छ । नियुक्ति खारेजीको माग गर्दै ‘राष्ट्रिय जेनजी नागरिक अभियान’ ले यसअघि काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शनसमेत गरेको थियो ।