
काठमाडौँ । राष्ट्रिय गौरवको सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का अन्तिम चरणमा पुगेर रद्द भएपछि लेखा समितिले चासो व्यक्त गरेको छ । उक्त विषयमा प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सात दिनभित्र सम्बन्धित सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिएको छ ।
मंगलबार बसेको समितिको बैठकमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र ऊर्जा मन्त्रालयका अधिकारीहरूसँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो ।
आयोजनाले ८ जुन २०२६ मा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना (बाँध र विद्युत्गृह) निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । प्राविधिक मूल्यांकनबाट तीनवटा चिनियाँ कम्पनी छनोट भई आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला गत कात्तिक १३ गते सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३९२० अनुसार भन्दै ठेक्का रद्द गरिएको थियो ।
सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा त्रुटिपूर्ण ढंगले ठेक्का रद्द गर्दा राज्यलाई नै ठूलो आर्थिक घाटा हुने भन्दै सार्वजनिक लेखा समितिमा उजुरी परेको थियो ।
यसैबिच बैठकमा समिति सभापति भरतबहादुर खड्काले सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिँदै कागजात अध्ययनपछि थप निष्कर्षमा पुगिने बताए । ‘राष्ट्रिय गौरवको आयोजना ढिलाइ हुँदा त्यसको असर मधेश प्रदेशमा मात्र सीमित नभई सिंगो देशलाई पर्छ,’ सभापति खड्काले भने, ‘ठेक्का रद्द हुँदा हुने आर्थिक नोक्सानीलाई मात्र हेर्ने प्रवृत्तिमा परिवर्तन आउनुपर्छ ।’
आयोजनाको ढिलासुस्ती भएको भन्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले १३ दशमलव ३ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु सन् २०२४ मे मा भइसकेको भएपनि मापदण्ड परिवर्तन गरेर ठेक्का रोकिनुमा बदमासी भएको भन्दै छानबिन गर्न माग गरेका छन् ।
उनले मधेशका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका एक लाख ८० हजार बिघा जमिनमा सिँचाइ पुर्याउने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य बोकेको आयोजना अलपत्र पारिए मधेश आन्दोलित हुने चेतावनी दिए। उनले भने, ‘मधेशसँग देखाउनलाई न हिमाल छ, न हाइड्रो उत्पादन गर्ने स्रोत । भएकै एउटा खेती हो, त्यसमा पनि अल्झाएर राख्ने काम भए मधेश आन्दोलित हुनुको विकल्प रहँदैन ।’