
काठमाडौँ । बाँकेको वैजनाथ गाउँपालिका-१ चिसापानीमा मेलाका क्रममा दुई समूहबीच झडप हुँदा प्रहरीले ८ राउण्ड हवाई फायर गरेको छ । झडपमा एक जना घाइते भएका छन् भने घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चिसापानीमा लागेको मेलामा राति आगो तापेर बसेका दुई समूहका युवाबीच विवाद भएपछि झडप भएको हो । झडपका क्रममा ढुंगामुढा हानाहान हुनुका साथै अगुल्टोले समेत प्रहार गरिएको प्रहरीले जनाएको छ ।
झडप नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि समेत आक्रमण भएको थियो । आक्रमणमा प्रहरी सहायक निरीक्षक ९सई० सहित चार जना प्रहरी घाइते भएको बताइएको छ ।
दुई पक्षबीचको झडप उग्र बन्दै गएपछि मानवीय क्षति हुन नदिन प्रहरीले इन्सास राइफलबाट ८ राउण्ड हवाई फायर गरेको जनाएको छ ।
झडपमा घाइते भएका एक जनाको उपचार भइरहेको छ । घटनामा संलग्न भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
चिसापानीमा लागेको उक्त मेला जागरण युवा क्लब चिसापानी, बाँकेले आयोजना गरेको हो ।