पाल्पामा ढुंगा प्रहार गरी हत्या गर्ने व्यक्ति पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । पाल्पामा ढुंगा प्रहार गरी एक जनाको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा ३५ वर्षीय नारायण लम्तरी रहेका छन् ।

उनले मंसिर ६ गते पाल्पाको तिनाउ गाउँपालिका-६, सिसुवा खहरेका ४५ वर्षीय नन्दलाल बजगाईँलाई ढुंगा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । सँगै बस्दै आएका उनीहरूबीच विवाद तथा झैँझगडा हुँदा लम्तरीले बजगाईँको टाउको तथा शरीरका विभिन्न भागमा ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ ।

घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घाइते बजगाईँलाई उपचारका लागि जिल्ला अस्पताल पाल्पा पठाइएकोमा चिकित्सकले जाँचपछि मृत घोषणा गरेका थिए ।

घटनापछि फरार रहेका लम्तरीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । प्रहरीले खोजतलास गर्ने क्रममा मंगलबार पाल्पाको रैनादेवी छहरा गाउँपालिका-४, छहराबजारस्थित जलधारा होटलमा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका लम्तरीलाई जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस