भारतीय मिडियामा बालेनको ‘पहिरन’को चर्चा: कूटनीतिक अडानदेखि रणनीतिक महत्त्वमाथि विश्लेषण

दियोपोस्ट संवाददाता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल र भारतबीचको कूटनीतिक सम्बन्धलाई मात्र चर्चामा ल्याएको छैन, भारतीय सञ्चारमाध्यममा उनको व्यक्तिगत पहिरन, व्यवहार र राजनीतिक अडानसमेत बहसको विषय बनेको छ । भारतका प्रमुख सञ्चारमाध्यमले बालेनको भ्रमणलाई फरक-फरक दृष्टिकोणबाट विश्लेषण गरेका छन् । कतिपयले उनलाई नयाँ पुस्ताको फरक सोच भएको नेतृत्वका रूपमा प्रस्तुत गरेका छन् भने केहीले भारतप्रतिको विगतको धारणा र अहिलेको कूटनीतिक व्यवहारबीच तुलना गर्दै प्रश्न उठाएका छन् ।

भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री बालेनको नेतृत्वलाई भारतले चासोका साथ हेरेको उल्लेख गरेका छन् । विशेषगरी नेपालमा पुरानो राजनीतिक समीकरण परिवर्तन भएर नयाँ नेतृत्व स्थापित भएको अवस्थामा भारतले बालेनसँगको सम्बन्धलाई कसरी अगाडि बढाउँछ भन्ने विषय भारतीय सञ्चारमाध्यमको चासोमा परेको छ।

बीबीसी हिन्दी- विगतका अभिव्यक्तिप्रति भारतमा आशंका
बीबीसी हिन्दीले बालेनको भारत भ्रमणलाई नेपाल-भारत सम्बन्धमा नयाँ सम्भावना र चुनौती दुवैका रूपमा प्रस्तुत गरेको छ । बीबीसीले नेपालमा नयाँ पुस्ताको नेतृत्व स्थापित भएको र बालेनसँग बलियो जनमत रहेको विषयलाई महत्त्व दिएको छ ।

तर उनको विगतका केही अभिव्यक्तिले भारतमा आशंका पनि पैदा गरेको विश्लेषण गरेको छ । विशेषगरी सीमा विवाद समाधानमा बेलायतको भूमिका खोज्ने अभिव्यक्ति, ग्रेटर नेपालको विषयमा देखाएको चासो र भारतसँगको सम्बन्धमा परम्परागत राजनीतिक शैलीभन्दा फरक व्यवहारलाई भारतीय पक्षले ध्यानपूर्वक हेरिरहेको उल्लेख गरिएको छ ।

बीबीसीको समाचारमा नेपाल-भारत मामिलाका जानकार तथा भारतीय सेनाका सेवानिवृत्त मेजर जनरल अशोक मेहताको विश्लेषणसमेत समेटिएको छ । मेहताका अनुसार बालेनका विगतका अभिव्यक्तिका कारण भारतमा उनीप्रति केही अविश्वास देखिए पनि नयाँ नेतृत्वसँग सम्बन्ध निर्माण गर्ने उत्सुकता पनि उत्तिकै छ । यसले भारतले बालेनलाई पूर्ण रूपमा विश्वास गरिसकेको अवस्था नरहे पनि उनको राजनीतिक महत्त्वलाई बेवास्ता गर्न नसक्ने संकेत गर्छ ।

द इन्डियन एक्सप्रेस- दुई देशबीच सम्बन्ध सुधारका रूपमा विश्लेषण
प्रधानमन्त्री शाहको भारत भ्रमणलाई लिएर द इन्डियन एक्सप्रेसले दुई देशबीचको सम्बन्ध सुधार गर्ने अवसरका रूपमा विश्लेषण गरेको छ । बालेन प्रधानमन्त्री बनेपछि भारतसँगको उच्चस्तरीय सम्पर्कमा देखिएको चिसोपन र कूटनीतिक संवादमा आएको परिवर्तनलाई अखबारले उल्लेख गरेको छ । नयाँ दिल्ली भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई व्यावहारिक रूपमा अगाडि बढाउने अवसर प्रदान गरेको उसको विश्लेषण छ ।

हिन्दुस्तान टाइम्स- आर्थिक सहयोगको चर्चा
हिन्दुस्तान टाइम्सले बालेनको भ्रमणलाई आर्थिक सहकार्य र विकास साझेदारीको दृष्टिकोणबाट महत्त्व दिएको छ । व्यापार, ऊर्जा, पूर्वाधार, डिजिटल कनेक्टिभिटी, स्वास्थ्य, प्रविधि र लगानीका क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार हुन सक्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।

नेपालले पुनर्निर्माण तथा विकासका लागि दुई अर्ब अमेरिकी डलरको आर्थिक सहयोग प्याकेज प्रस्ताव गरेको विषय पनि भारतीय सञ्चारमाध्यममा चर्चित बनेको छ । यद्यपि यति ठूलो रकमको सहयोगका लागि परियोजनाको विस्तृत विवरण, खर्च गर्ने क्षमता र कार्यान्वयनको सुनिश्चितता आवश्यक पर्ने भारतीय पक्षको दृष्टिकोण पनि समाचारमा उल्लेख गरिएको छ ।

इन्डिया टुडे- कूटनीतिक परिवर्तनका रूपमा व्याख्या
इन्डिया टुडेले भने बालेनको भ्रमणलाई विगतको कडा राजनीतिक अडानबाट व्यावहारिक कूटनीतितर्फको परिवर्तनका रूपमा व्याख्या गरेको छ । भारतसँगको सम्बन्धमा पहिले देखिएको असहजता, भारतीय विदेश सचिव विक्रम मिस्रीसँगको भेटघाटसम्बन्धी प्रसंग, आर्थिक सहयोगको आवश्यकता र गोर्खा सैनिक भर्तीको विषयलाई आधार बनाएर बालेनको वर्तमान कूटनीतिक व्यवहारमाथि प्रश्न उठाइएको छ । उसको विश्लेषणमा भारतसँगको सम्बन्धमा राजनीतिक अडानसँगै आर्थिक तथा रणनीतिक आवश्यकताले पनि महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ ।

बालेनको पहिरनको चर्चा
बालेनको भारत भ्रमणका क्रममा सबैभन्दा बढी चर्चा भएको विषयमध्ये उनको पहिरन हो । भ्रमण अवधिभर बालेन कालो दौरा–सुरुवाल, कालो कोट, कालो भादगाउँले टोपी, कालो चस्मा र बुटमा देखिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट, राष्ट्रपति भवनको स्वागत समारोह र महात्मा गान्धीको समाधिस्थल राजघाटमा श्रद्धाञ्जली अर्पण गर्दा पनि उनको पहिरन उस्तै देखियो । यसले भारतीय सञ्चारमाध्यमको ध्यान खिचेको छ ।

टेलिग्राफ इन्डियाले बालेनको कालो चस्मा, कालो कोट र कालो जुत्तालाई उनको व्यक्तिगत पहिचानसँग जोडेर समाचार प्रकाशित गरेको छ । ‘शेड्स अफ बालेन: हाउ नेपाल्स र्‍यापर-टर्न्ड-पीएम मेड सनग्लासेस हिज स्टाइल स्टेटमेन्ट’ शीर्षकको समाचारमा र्‍यापरबाट प्रधानमन्त्री बनेका बालेनले सार्वजनिक जीवनमा बनाएको आफ्नो छुट्टै पहिचानलाई प्रधानमन्त्री बनेपछि पनि निरन्तरता दिएको उल्लेख गरिएको छ । समाचारमा उनको चस्मालाई व्यक्तिगत शैलीको महत्त्वपूर्ण हिस्सा भएको बताइएको छ ।

नवभारत टाइम्सले भने बालेनको कालो चस्मा, बुट र पहिरनलाई कूटनीतिक प्रोटोकलसँग जोडेर चर्चा गरेको छ । नोभेम्बर २३ मा प्रकाशित समाचारमा बालेनको पहिरनलाई लिएर काठमाडौँसम्म बहस भएको उल्लेख गर्दै औपचारिक कूटनीतिक भेटघाटमा अपनाइने पहिरनको शैलीबारे प्रश्न उठाइएको छ ।

समाचारमा औपचारिक कूटनीतिक भेटमा बुटभन्दा लेस भएका जुत्ता लगाउने चलन रहेको टिप्पणी समेत गरिएको छ ।

यसैबीच, भारतीय विदेशमन्त्री एस.जयशंकरको पाइन्टको तल्लो भाग मोडिएको विषयले पनि नेपाल र भारत दुवैतर्फ चर्चा पाएको छ । जयशंकरले बालेनसँगको भेटमा पाइन्टको तल्लो भाग मोडेर लगाएको तस्बिरलाई केही नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले कूटनीतिक संकेतका रूपमा व्याख्या गरेका थिए । कतिपयले यसलाई नेपालका प्रधानमन्त्रीप्रति गरिएको अपमानका रूपमा समेत प्रस्तुत गरे ।

बालेनले कोटको बटन खोलेको विषयसमेत सामाजिक सञ्जालमा चर्चामा आएको छ । तर भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारमा कोटको बटन खोलेको विषयलाई आलोचनाका रुपमा बिश्लेषण गरिएको छैन ।

राजनीतिक तथा रणनीतिक महत्त्वमाथि विश्लेषण
भारतीय सञ्चारमाध्यमले बालेनको पहिरन र व्यक्तिगत शैलीभन्दा बाहिर गएर उनको राजनीतिक तथा रणनीतिक महत्त्वलाई पनि विश्लेषण गरेका छन् । भारतका लागि नेपालको चीनसँगको सम्बन्ध, सीमा विवाद, व्यापार तथा पारवहन र सुरक्षा सहकार्य महत्त्वपूर्ण विषय हुन् ।

नेपाल भूपरिवेष्टित मुलुक भएकाले व्यापार, पारवहन, ऊर्जा र पूर्वाधारका क्षेत्रमा भारतसँगको सहकार्य आवश्यक छ । अर्कोतर्फ, नेपालको सार्वभौमिकता र सीमा विवादका विषयमा बालेनले लिने अडानले पनि भारतसँगको सम्बन्धको दिशा निर्धारण गर्नेछ ।

भारतीय सञ्चारमाध्यमको विश्लेषणमा बालेनको चीनसँगको सम्बन्धलाई पनि चासोका साथ हेरिएको छ । नेपालले भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने अवस्थामा नयाँ प्रधानमन्त्रीको विदेश नीति कस्तो हुन्छ भन्ने प्रश्न भारतीय विश्लेषकहरूका लागि महत्त्वपूर्ण बनेको छ । बालेनले भारतसँग सम्बन्ध सुधार गर्न खोज्दा आफ्नो पुरानो राजनीतिक अडान र राष्ट्रिय स्वार्थलाई सन्तुलनमा राख्नु पर्ने उल्लेख छ ।

भारतीय सञ्चारमाध्यमले बालेनको भारत भ्रमणलाई प्रशंसा र आलोचना दुबै देख्न सकिन्छ । बीबीसी हिन्दी र इन्डियन एक्सप्रेसले उनको नेतृत्व र सम्बन्ध सुधारको सम्भावनालाई महत्त्व दिएका छन् । भने इन्डिया टुडेले विगतका अडान र वर्तमान कूटनीतिक व्यवहारबीच तुलना गरेको छ । हिन्दुस्तान टाइम्सले आर्थिक सहकार्यलाई प्राथमिकता दिएको छ भने नवभारत टाइम्स र टेलिग्राफ इन्डियाले उनको पहिरन तथा व्यक्तिगत शैलीलाई विशेष समाचार बनाएका छन् ।

भारतले बालेनलाई नयाँ सम्भावना बोकेको राजनीतिक नेतृत्वका रूपमा हेर्न थालेको छ कुरालाई भारतीय मिडियाले प्राथमिकता दिएका छन् । तर उनको विदेश नीति र भारतप्रतिको वास्तविक दृष्टिकोणबारे भारत स्पष्ट हुन चाहेको बिश्लेषण गरिएको छ ।

बालेनको कालो पहिरन, चस्मा र बुटले सञ्चारमाध्यममा चर्चा पाउनु एउटा पक्ष हो । तर उनको भारत भ्रमणको वास्तविक सफलता भने नेपालले प्राप्त गर्ने आर्थिक, राजनीतिक र रणनीतिक उपलब्धिले निर्धारण गर्नेछ ।

सम्बन्धित खबर

सिफारिस