तपाइँको दिमाग अरू कसैले चलाइरहेको त छैन ?

Guest
कट्रिन बेन्होल्ड

हाम्रो मस्तिष्क निरन्तर हमलाको शिकार भइरहेको छ । सामाजिक सञ्जाल र अल्गोरिदमहरू हाम्रो ध्यान खिच्ने तरिकाले बनाइएका गरिएका छन् । ‘न्युरल टेक्नोलोजी’ र एआईको क्षेत्रमा भइरहेको तीव्र विकासले अझ गम्भीर अवस्थाको सामना गर्नु परिरहेको छ ।  हाम्रो मस्तिष्कलाई नियन्त्रण गर्ने प्रयास अझ प्रभावकारी बन्दैछ । यही सन्दर्भमा हामीले प्रविधिबारे अध्येता एवम् लेखक लिन्डा किन्स्टलरसँग कुराकानी गरेका छौँ ।

मेरा बा-आमाहरू विचारको स्वतन्त्रताबारे १९औँ शताब्दीको एउटा लोकगीत गाउँथे । जर्मन भाषामा गीतको बोल थियो ‘डाए गेदांकेन सिन्द फ्रेइ’ । त्यसको अर्थ हुन्छ: ‘विचारहरू मुक्त हुन्छन्’ ।

गीत यस्तो थियो:

तिनीहरूलाई कसैले थाहा पाउँदैन,
कुनै शिकारीले गोली हान्न सक्दैन,
विचार सधैँ सधैँ मुक्त हुन्छ ।

मान्छेको मस्तिष्कलाई कसरी नियन्त्रण गर्ने भन्ने चासो र रहर नयाँ होइन । मान्छेले धेरै अघिदेखि यस्तो प्रयास कुनै न कुनै रूपमा गर्दै नै आएका छन् । यसबारे आजको हाम्रो अतिथि लिन्डा लिन्डा किन्स्टलरले न्युयोर्क टाइम्समा एउटा महत्त्वपूर्ण लेख लेख्नुभएको थियो । शीतयुद्धको समयमा सोभियत सङ्घले जनावरको मस्तिष्कमा नियन्त्रण गर्न सकिने जस्तो खालको एउटा प्रत्यारोपण गरेको समाचार आएको थियो । त्यसको खबर सुन्नासाथ मानिसहरू सोभियत सङ्घले त्यो प्रविधिको प्रयोग गर्दै साम्यवाद फैलाउन लागेको भन्दै आतङ्कित भएका थिए । अमेरिकी गुप्तचर संस्था ‘सीआईए’ले गोप्य ढङ्गले मस्तिष्क नियन्त्रण परीक्षण कार्यक्रम चलाउँथ्यो । मानिसहरू संसारमा ‘मस्तिष्क युद्ध’ हुने चर्चा गर्थे ।

कुनै समय धेरै चर्चामा रहेका ती डरहरू आए । र गए पनि । आजको दिनमा हाम्रो मस्तिष्कमा साँच्चिकै प्रविधि प्रत्यारोपण हुन सक्ने अवस्था आएको छ ।  मस्तिष्कमै यन्त्र जोड्न सकिने आजको अवस्थामा विचारको स्वतन्त्रता हुनु भनेको के हो भन्ने बारेमा फेरी चर्चाहरू सुरु भएका छन् । शीतयुद्धको समयमा देखिएको चिन्ता र डर आज पुनः देखा परेका छन् ।

मस्तिष्क नियन्त्रण गर्ने प्रविधिहरू खासमा कस्ता हुन्छन् ? 

यस्ता प्रविधिको केन्द्रमा दिमागलाई कम्प्युटरमा जोड्ने ‘ब्रेन कम्प्युटर इन्टरफेस’ छ । छोटकरीमा त्यसलाई ‘बी.सी.आई.’ भनिन्छ । यस अन्तर्गत मसिना यन्त्रहरू हाम्रो मस्तिष्कमा राखिन्छ । तिनीहरूले हाम्रा स्नायु गतिविधिहरू ठम्याउन सक्छन् । तिनीहरूलाई ‘ब्लुटुथ’को माध्यमबाट कम्प्युटरको ‘प्रोग्राम’मा जोडिन्छ । त्यस्तो प्रोग्रामले प्राप्त जानकारीलाई  बुझ्ने र विश्लेषण गर्छ ।

त्यसलाई एक खालको एआईसँग जोडिएको हुन्छ । हाम्रो दिमाग भित्रको स्नायु सञ्जाल अर्थात् ‘न्युरल नेटवर्क’ले बाहिर रहेको कम्प्युटरको न्युरल नेटवर्कसँग सञ्चार गर्छ । यसरी हामी मानिसहरूको चाहनाकै पुनर्संरचना गर्न सक्ने हुन्छौँ । मानिसहरू के भन्न खोज्छन्,के गर्न चाहन्छन् भन्ने बुझ्न र फेर्न सक्छौँ । आफ्ना हातखुट्टा लगायत अङ्गहरू कसरी चलाउन खोज्छन् भन्ने पनि तय गर्न सक्छौँ ।

आजको दिनमा यस्तो प्रविधिको प्रयोग कसरी भइरहेको छ ?

तपाईँले एलन मस्कको ‘न्युरालिंक’ कम्पनीको बारेमा सुन्नुभएको होला । न्युरालिंक्ले १२ जना मानिसको मस्तिष्कमा त्यस्ता उपकरणहरू जडान गरिसकेको छ । यस्तो काममा मस्कको कम्पनी मात्रै संलग्न छैन । अरू पनि धेरै छन् ।

मस्तिष्कमा जोडिएका त्यस्ता उपकरणहरू मूलतः शरीरले राम्रोसँग काम गर्न सक्ने क्षमता फर्काउने उद्देश्यले बनाइएका हुन्। शरीरका विभिन्न अङ्गहरू अथवा महत्त्वपूर्ण प्रणालीहरू नै विस्तारै कमजोर हुने खालका रोग लागेका, पक्षाघात भएका वा अरू नै कुनै कारणले शारीरिक क्षमता गुमाएका मानिसहरूका लागि यस्तो प्रविधि र उपकरणहरू साँच्चिकै असाधारण रूपमा सहयोगी साबित भएका पनि छन्। त्यस्ता बिरामीहरू मस्तिष्कमा यान्त्रिक प्रत्यारोपण पश्चात् आफ्ना हात चलाउन, कम्प्युटर वा मोबाइलमा टाइप गर्न तथा फेरि बोल्न सक्ने समेत भएका छन् ।

यस्तै सन्दर्भको एउटा घटना मैले थाहा पाएको थिएँ, जहाँ प्रत्यारोपण पश्चात् एकजना बिरामी कुराकानी गर्न मात्र सक्षम भएनन् । उनले आफ्नो आवाज आफैँले फेरि सुन्न पनि पाए। त्यो उपचारमा प्रयोग भएको ‘अल्गोरिदम’ले विगतमा उनी स्वस्थ हुँदाका बखतको आवाज रेकर्ड गरेर पछि उनका विचारहरूलाई त्यही आवाजमा सुनाइदियो । एकैछिन सोच्नुहोस् त, मानौँ तपाईँले लामो समयदेखि आफ्नो बुबाको आवाज सुन्न पाउनुभएको छैन ।  एकाएक उहाँ फेरि तपाईँसँग कुराकानी गर्न थाल्नुभयो भने कस्तो हुन्छ होला ?

तपाईँको कुरा सुन्दा त विज्ञानकथामा आधारित(साई-फाई) चलचित्रहरूको झल्को आउँछ । यो प्रविधि हाम्रा लागी धेरै हिसाबले आशाजनक पनि छ । यसमा हामीले चिन्ता र चासो गर्नुपर्ने विषयहरू चाहिँ केके होलान् ?

मान्छेका अनेक समस्या समाधान गर्नसक्ने यस्ता प्रविधिहरू हुनु राम्रै कुरा हो । तर धेरै तरिकाबाट त्यस्ता प्रविधिको दुरुपयोग हुनसक्छ । त्यस्ता धेरै तरिका र सम्भावनाहरू छन् । तिनीहरूले हाम्रो दिमाग एवम् अन्तर्मनमा गहिरो गरि घुसेर हाम्रा सोचहरूको मूल स्वरूपमै पहुँच स्थापित गर्न सक्छन् । त्यसरी हाम्रो दिमाग र सोचाइको भित्रैसम्म पुगेर निकालिएको डेटालाई कस्ता कस्ता व्यावसायिक प्रयोजनमा प्रयोग गरिएला ? कस्ता राजनीतिक उद्देश्य हासिल गर्न प्रयोग गरिएला ?

यसरी हेर्दा ती प्रविधिहरूले साँच्चिकै हाम्रो नीजत्व र गोपनीयताका सीमारेखाहरू तोड्न खोजिरहेका छन् ।

अचेल धेरै कानुनविद्, दार्शनिक एवम् नैतिकताबारे जानकार विज्ञहरू यही समस्यालाई लिएर चिन्तन गरिरहेका छन् । यस्तो तीव्र गतिमा फड्को मारिरहेको एवम् फटाफट बजारमा आइरहेको यस्तो प्रविधिलाई उपयुक्त नियमकोको परिधि भित्र कसरी राख्ने एवम् सञ्चालनको ‘गाइडलाइन’ कसरी तय गर्ने भन्नेमा घोत्लिइरहेका छन् ।

यस्तो प्रविधिले हाम्रा विचारहरू पढ्ने मात्रै हो कि हेरफेर गर्न पनि सक्छ ?

झट्ट भन्दा त हेरफेर गर्न सक्दैन भन्न सकिन्छ । तर यसको खास उत्तर अलि जटिल छ । ‘विचार’ भनेको ठ्याक्कै कुनै प्राविधिक पदावली होइन । पार्किन्सन्स जस्ता दुरूह रोगको उपचारमा प्रयोग गरिने ‘डीप ब्रेन स्टिमुलेसन’ नामको एउटा तरिका छ । पार्किन्सन्स उपचारमा त्यसको प्रयोगको क्रममा भएको एउटा घटनाको सन्दर्भ छ । बिरामीलाई डीप ब्रेन स्टिमुलेसन गर्दैगर्दा एकाएक उसको व्यवहार नाटकीय तवरमा फरक हुन थाल्यो । स्टिमुलेसन अभ्यास रोक्नासाथ बिरामीको व्यवहार पुरानै जस्तो भयो । यसले पनि देखाउँछ तपाई कुनै व्यक्तिको मस्तिष्कमा हेरफेर गर्दै हुनुहुन्छ भने उसको गतिविधि पनि फेरबदल गर्न सक्नुहुन्छ ।

‘अप्टोजेनेटिक्स’ नामको एउटा प्रविधि छ । त्यसको सहायतामा हामी मस्तिष्कका न्युरोनहरू ‘अन’ र ‘अफ’ दुवै गर्न सक्छौँ । मुसाको मस्तिष्कमा ‘गलत सम्झना’ प्रत्यारोपण गर्न त्यसको प्रयोग भइसकेको छ । मुसामा भएको सफल परीक्षणले आगामी दिनमा मान्छेमा पनि त्यही प्रकृतिको प्रयोग गर्न सकिने सम्भावना प्रष्ट देखाएको छ ।

तत्कालै व्यावसायिक रूपमा प्रयोग हुने सम्भावना त कमै छ । तर वैज्ञानिक रूपमा भने अब असम्भव छैन भन्ने अवस्थामा हामी पुगिसकेका छौँ ।

‘न्युरोप्राइभेसी’ भन्ने एउटा अवधारणाको चर्चा पनि सुन्न पाइन्छ । हामीलाई त्यसबारे पनि केही बताइदिनु न !

न्युरोप्राइभेसी अर्थात् हाम्रा स्नायुहरूको गोपनीयता एउटा अवधारणा हो । जसले हाम्रो शरीर र मनको आन्तरिक मामलामा हाम्रो सहमति बेगर कसैको पहुँच हुनु नहुने कुराको वकालत गर्छ । हाम्रा आन्तरिक विचारको सुरक्षाको कुरा गर्दैगर्दा एउटा प्रश्न उठ्ने गर्छ: के न्युरोप्राइभेसीको प्रयोग हाम्रा अव्यक्त विचारहरूको रक्षामा मात्रै सीमित हुने हो ? कि हाम्रो मस्तिष्कका विद्युतीय सङ्केतहरूको हकमा पनि लागु हुन्छ ? मैले के कुरा ‘टाइप’ गर्छु वा के ‘क्लिक’ गर्छु भन्ने विषयको सुरक्षा र गोपनीयताको हकमा लागु हुन्छ कि हुँदैन ?

हामीले ‘किबोर्ड’मा टाइप गर्ने तथा मोबाइल वा कम्प्युटर लगायतका उपकरणमा क्लिक गर्ने जस्ता गतिविधिले भित्री सूचनाहरू  बोकेका हुन्छन् । यी कामहरू हाम्रा स्नायुको गतिविधिसँग जोडिएका हुन्छन् । यस्ता धेरै सूचनाहरू यस अघि नै प्रविधि कम्पनीहरूले लिइरहेका छन् ।

हामीसँग सम्बन्धित ठुलो वा सानो स्तरका जस्तासुकै ‘डेटा’ हुन, तीनलाई संवेदनशील ठान्नुपर्छ भन्नेमा करिब करिब सहमति जस्तै बन्न थालेको छ ।

हाम्रो मस्तिष्क, विचार तथा स्नायुजन्य सूचनाको सुरक्षाका लागी हामी कस्तो तरिका अपनाउन सक्छौँ ? यसबारे सरकारहरू एवम् सरोकारवाला मानिसहरू के सोच्दैछन् ?

अमेरिकामा मान्छेको स्नायु सम्बन्धित तथ्याङ्क (न्युरल डाटा) सम्बन्धी गतिविधि नियमन गर्न धेरै राज्यहरूले कानुन ल्याइसकेका छन् । राष्ट्रिय कानुन पनि प्रस्ताव गरिएको छ । अमेरिकादेखि बाहेकका मुलुकहरू पनि विस्तारै यसमा जागरूक हुँदैछन् । चिली, स्पेन लगायत अन्य केही मुलुकमा छलफल चल्दैछ । केही मुलुकले त स्नायु गोपनीयता कानुन अर्थात् ‘न्युरल प्राइभेसी ल’ स्वीकृत गरिसकेका छन् ।

हाम्रो मस्तिष्कको सुरक्षाबारे चिन्ता बढ्दै जाँदा केही सकारात्मक सङ्केतहरू पनि देखिँदै छन् । मैले यसबारे कुराकानी गरेका धेरैजसो मानिसहरू स्नायुको सूचनामा पहुँच पुर्‍याउने यस्ता प्रविधिले ल्याउने जोखिमबारे सचेत देखिन्छन् । यदि तपाई सवलाङ्ग व्यक्ति हुनुहुन्छ भने अहिले कसैले पनि कानुनी रूपमा तपाईँको मस्तिष्कमा उपकरणहरू जडान गर्न पाउँदैन । यदि शारीरिक रूपमा सकुशल व्यक्तिको मस्तिष्कमा पनि त्यस्ता उपकरण प्रत्यारोपण हुन थाले भने चाहिँ हामीले सीमा नाघ्यौँ भन्ने बुझ्नुपर्छ । अल्डस हक्जलेले लेखेको ‘ब्रेभ न्यु वर्ल्ड’को जस्तै अवस्थामा पुग्न लागियो भन्ने बुझ्नुपर्छ ।

हामीले कुन बाटो रोज्छौँ भन्ने हेर्न बाँकी नै छ ।

(न्युयोर्क टाइम्समा प्रकाशित यस सामाग्रीलाई रोहित बास्तोलाले नेपालीमा अनुवाद गरेका हुन् ।)

 

 

सम्बन्धित खबर