आकाश क्यापिटलको नाम परिवर्तन गरी ‘कामना सेवा क्यापिटल’ राख्ने प्रस्ताव पारित, पुँजी वृद्धिसहितका निर्णय अनुमोदन

दियोपोस्ट संवाददाता

काठमाडौँ । कामना सेवा विकास बैंकले आकाश क्यापिटल लिमिटेडको नाम परिवर्तन गरी ‘कामना सेवा क्यापिटल लिमिटेड’ कायम गर्ने भएको छ । कामना सेवा विकास बैंकले आकाश क्यापिटल लिमिटेडको संस्थापक सेयर खरिद गरी आफ्नो सहायक कम्पनी बनाएपछि कम्पनीको नाम परिवर्तन गर्न लागेको हो ।

आकाश क्यापिटलको आठौँ वार्षिक साधारणसभाले नाम परिवर्तन गरी ‘कामना सेवा क्यापिटल लिमिटेड’ कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले आकाश क्यापिटलको संस्थापक सेयर अधिग्रहण गरेपछि आयोजित पहिलो वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक वित्तीय विवरणहरू पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत सभाले अनुमोदन गरेको छ ।

साधारणसभाले कामना सेवा विकास बैंकको प्रतिनिधित्व गर्दै कम्पनीको सञ्चालक समितिमा नियुक्त भएका कर्मचारीहरूको नियुक्तिलाई पनि अनुमोदन गरेको छ । यसका साथै कम्पनीको पुँजी वृद्धि, नाम परिवर्तन, संस्थागत सुदृढीकरण तथा व्यवसायको कार्यक्षेत्र विस्तारसम्बन्धी प्रस्तावहरू पारित गरेको छ ।

कम्पनीको नयाँ स्वामित्व संरचना र संस्थागत पहिचानलाई प्रतिबिम्बित गर्ने उद्देश्यले नाम परिवर्तनको प्रस्ताव अघि बढाइएको कम्पनीले जनाएको छ । आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा भएपछि कम्पनी ‘कामना सेवा क्यापिटल लिमिटेड’ नामबाट सञ्चालनमा आउनेछ ।

सम्बन्धित खबर

सिफारिस