पत्रकार पक्राउ प्रकरणलाई अन्तरपुस्ता ‘द्वन्द्व’ र राष्ट्रिय सुरक्षाको दृष्टिले पनि हेर्नुपर्छ- सौरभ राज पन्त

दियोपोस्ट संवाददाता

काठमाडौँ । ‘एआईको युगमा नेपाल’ अभियानका संयोजक सौरभ राज पन्तले पत्रकार पक्राउ प्रकरणलाई प्रेस स्वतन्त्रता र सरकारको आलोचनामा मात्र सीमित नगरी अन्तरपुस्ता द्वन्द्व, राज्यका संस्थाहरूप्रतिको विश्वास र राष्ट्रिय सुरक्षाको व्यापक सन्दर्भमा विश्लेषण गर्नुपर्ने बताएका छन् ।

पन्तका अनुसार नेपालमा सूचना प्राप्त गर्ने माध्यम, राजनीतिक चेतना र लोकतन्त्रप्रतिको बुझाइमा पुस्तागत भिन्नता बढ्दै गएको छ । सामाजिक सञ्जाल, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का फेसबुक स्टाटस तथा ‘रुटिन अफ नेपाल बन्द’ जस्ता डिजिटल माध्यमबाट राजनीतिक घटनाक्रम बुझ्ने नयाँ पुस्ता र लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताका लागि लामो समयदेखि संघर्ष गर्दै आएको पुस्ताबीच दृष्टिकोणमा भिन्नता देखिन थालेको उनको भनाइ छ ।

उनले पत्रकार पक्राउ प्रकरणलाई यही पुस्तागत भिन्नताको सन्दर्भमा समेत बुझ्नुपर्नेमा जोड दिए ।

‘यो केवल पत्रकार पक्राउको घटना मात्र होइन, एउटा अन्तरपुस्ता द्वन्द्वको संकेत पनि हो । एउटा पुस्ता डिजिटल सूचना र सामाजिक सञ्जालको परिवेशमा हुर्किएको छ भने अर्को पुस्ता लोकतान्त्रिक आन्दोलन, संस्थागत अभ्यास र मूलधारको पत्रकारिताको संघर्षबाट आएको छ । दुवै पुस्ताले एकअर्काको अनुभव र दृष्टिकोण बुझ्न आवश्यक छ। अहिलेको आवश्यकता पुस्तागत टकराव होइन, पुस्ताबीच संवाद र सहकार्य हो,’ पन्तले भने ।

समाचार प्रकाशन तथा प्रसारणसँग सम्बन्धित विषयमा पत्रकारहरूलाई नियन्त्रणमा लिइएको घटनाबारे टिप्पणी गर्दै पन्तले सूचना चुहावट, राष्ट्रिय सुरक्षा र पत्रकारको पेसागत अधिकारबीच सन्तुलन कायम गर्नुपर्ने बताए ।

उनका अनुसार राष्ट्रिय सुरक्षा र संवेदनशील सूचनाको संरक्षण राज्यको महत्त्वपूर्ण दायित्व भए पनि त्यसका नाममा पत्रकारको पेसागत स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउन मिल्दैन। यस्ता विषयको निरूपण कानुनी व्यवस्था, सार्वजनिक हित, उपलब्ध प्रमाण, जवाफदेहिता र घटनाको परिस्थितिलाई ध्यानमा राखेर गरिनुपर्ने उनले बताए ।

‘राष्ट्रिय सुरक्षा र संवेदनशील सूचनाको संरक्षणलाई बेवास्ता गर्न मिल्दैन । त्यसैगरी पत्रकारको पेसागत स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई पनि कमजोर बनाउन मिल्दैन । यी विषयलाई कानुनी व्यवस्था, सार्वजनिक हित, प्रमाण, जवाफदेहिता र परिस्थितिको सापेक्षतामा विश्लेषण गर्नुपर्छ। सुरक्षा र स्वतन्त्रता एकअर्काका विरोधी होइनन्। लोकतान्त्रिक राज्यमा दुवैको संरक्षण हुनुपर्छ,’ उनले स्पष्ट पारे ।

पन्तले मुलुकको राजनीतिक तथा संस्थागत संरचनाभित्र विभिन्न शक्ति केन्द्र, सुरक्षा निकाय, राजनीतिक नेतृत्व, सामाजिक सञ्जाल, प्रवासी नेपाली समुदाय र असन्तुष्ट युवा पुस्ताबीच अविश्वास तथा शक्ति संघर्ष बढिरहेको विश्लेषण गरेका छन्। जङ्गी अड्डा, प्रहरी, सिंहदरबारदेखि डिजिटल सार्वजनिक क्षेत्रसम्म देखिएका गतिविधिले राज्यका संस्थाहरू र नागरिकबीचको सम्बन्धमा समेत प्रभाव पारिरहेको उनको भनाइ छ ।

‘अहिले मुलुक जङ्गी अड्डा, प्रहरी, सिंहदरबार, सामाजिक सञ्जाल, डायस्पोरा र युवा पुस्ताको निराशाबीचको एउटा शक्ति संघर्षमा छ । यसलाई कुनै एउटा पक्षको जित वा हारका रूपमा बुझेर समाधान गर्न सकिँदैन। राज्यका संस्थाहरूलाई बलियो बनाउने, नागरिकको विश्वास कायम गर्ने र पुस्ताबीचको दूरी घटाउने राष्ट्रिय संवाद आवश्यक छ,’ उनले भने ।

यसै सन्दर्भमा पन्तले ‘एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै’ नामक खुला राष्ट्रिय अभियानको औचित्य पनि पुनः स्पष्ट पारेका छन् । बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा नेपालको राष्ट्रिय हित, सार्वभौमिकता, लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण, राष्ट्रिय सुरक्षा, प्रेस स्वतन्त्रता र दीर्घकालीन समृद्धिका लागि व्यापक राष्ट्रिय सहमति आवश्यक रहेको उनले बताए ।

उनका अनुसार राष्ट्रिय महत्त्वका विषयमा साझा दृष्टिकोण निर्माण गर्न राजनीतिक दल, व्यावसायिक तथा प्राज्ञिक क्षेत्र, नागरिक समाज, सामुदायिक संस्था, जेन–जी पुस्ता, सञ्चार क्षेत्र र प्रवासी नेपाली समुदायलगायत सबै सरोकारवालाबीच निरन्तर संवाद र सहकार्य हुनुपर्छ ।

पन्तले अभियानको मुख्य उद्देश्य विभाजनलाई बढावा दिनुभन्दा विभिन्न पुस्ता, विचार र क्षेत्रबीच सहकार्यको वातावरण निर्माण गर्नु रहेको बताए ।

‘हाम्रो अभियान कसैलाई जोड्ने हो, कसैलाई तोड्ने होइन। पुस्ताबीचको दूरी घटाउने, राज्यका संस्थाहरूप्रति विश्वास बढाउने र राष्ट्रिय हितका विषयमा साझा दृष्टिकोण निर्माण गर्ने प्रयास हो । आजको आवश्यकता एकअर्कालाई आरोपित गर्नु होइन, फरक अनुभव, विचार र पुस्ताको योगदानलाई सम्मान गर्दै साझा राष्ट्रिय बाटो पहिल्याउनु हो,’ उनले भने ।

सम्बन्धित खबर

सिफारिस