
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका-१ स्थित ऐतिहासिक तथा धार्मिक स्थल भण्डारथुममा कोजाग्रत पूर्णिमाको अवसरमा लाग्ने परम्परागत पूर्णिमा मेला सम्पन्न भएको छ । विजयादशमीको अन्तिम दिन खुकुरी, तरबारलगायतका हतियार प्रदर्शन गर्दै बाजागाजाको तालमा सरायँ नाच नाचेर मनाइने यस मेलामा जेरीको स्वाद लिन र आफन्तसँग भेटघाट गर्न आउनेहरूको चहलपहल देखिदैँ आएको छ ।
सयौँ वर्ष पुरानो इतिहास बोकेको यस मेलामा अर्घाखाँची, गुल्मी, पाल्पा र प्यूठानलगायतका जिल्लाबाट मानिसहरू आउने गर्छन् । दसैँको टीका लगाउन देश तथा विदेशबाट गाउँ फर्किएकाहरूका लागि यो मेला आफन्त, साथीभाइ र पुराना परिचितसँग भेटघाट गर्ने अवसरसमेत बन्दै आएको छ । धार्मिक आस्था, मौलिक संस्कृति र सामाजिक सद्भावसँग जोडिएको भण्डारथुम पूर्णिमा मेलाले यस क्षेत्रको ऐतिहासिक पहिचानलाई जीवन्त राखेको छ ।
मेलाको मुख्य आकर्षण सरायँ नाच हो । दसैँमा पूजा गरिएका हतियार कोजाग्रत पूर्णिमाका दिन प्रदर्शन गर्दै परम्परागत गीत र बाजागाजासहित नाच्ने चलन छ । विजयादशमीको विजय उत्सवसँग जोडिएको यस नाचले पुस्तौँदेखि मौलिक संस्कृतिको निरन्तरता दिँदै आएको स्थानीयवासी बताउँछन् ।
मालारानी-१ मुसामारेस्थित वसन्तपुर युवा क्लबका अध्यक्ष नवराज भुसालले सरायँ नाचलाई पुरानो मौलिक संस्कृति र परम्पराको प्रतीकका रूपमा व्याख्या गरे । उनका अनुसार दसैँमा हतियारको पूजा गर्ने र कोजाग्रत पूर्णिमाका दिन तिनको प्रदर्शन गर्दै सरायँ नाच नाचेर विसर्जन गर्ने परम्परा छ ।
“हतियार र बाजागाजासहित ‘वाख्यै भाइ हो’ भन्दै गीत गाएर नाच्नु सरायँ नाचको विशेषता हो । यसमा मेरा बाल्यकालका धेरै सम्झना जोडिएका छन् । त्यसैले म हरेक वर्ष मेला भर्न आउँछु,” भुसालले भने, “हाम्रो मौलिक संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्दै यसको संरक्षण गर्न आवश्यक छ ।”
छत्रदेव गाउँपालिका-७ काउलेका ठाकुरप्रसाद पाण्डे पनि आफू जान्ने भएदेखि नै भण्डारथुममा सरायँ नाच हेर्न आउने गरेको बताउँछन् । अर्घाखाँची र गुल्मीलगायतका क्षेत्रमा शताब्दीयौँदेखि चल्दै आएको सरायँ नाचले पुरानो मौलिक संस्कृतिलाई उजागर गर्नुका साथै धार्मिक पर्यटनमा समेत टेवा पुर्याएको उनको भनाइ छ ।
स्थानीय शिक्षक हिमालय आचार्यले सरायँ नाचलाई विजयादशमीको सांस्कृतिक निरन्तरता भएको बताउँछन् । असत्यमाथि सत्यको विजय भएको सम्झनामा मनाइने दसैँपछि विजयको उत्सवका रूपमा सरायँ नाच नाच्ने परम्परा रहेको उनले बताए ।
चार दशकदेखि जेरी बेच्दै, बदलिँदो स्वाद र बजार
भण्डारथुम पूर्णिमा मेलाको अर्को विशेषता हो-तात्तातो जेरीको मिठास । विगतमा सुन्तला, मौसम, ओखर र जेरी मेलाका प्रमुख आकर्षण मानिन्थे । स्थानीय उत्पादनको किनबेचसँगै मेला भर्न आउनेहरूले यिनै परिकारको स्वाद लिने गर्थे । तर पछिल्लो समय खानपानको रुचि र बजारको स्वरूप बदलिँदा परम्परागत उत्पादनको व्यापार घट्दै गएको व्यापारीहरूको अनुभव छ ।
छत्रदेव गाउँपालिका-८ का रञ्जित आचार्य विगत ४० वर्षदेखि भण्डारथुम पूर्णिमा मेलामा जेरी बिक्री गर्दै आएका छन् । उनी यस क्षेत्रका पुराना जेरी व्यापारीमध्ये एक हुन् ।
आचार्यका अनुसार पहिले जेरी किन्नेहरूको पसलमा निकै भीड लाग्थ्यो । पाँच रुपैयाँको जेरी किन्न पाए पनि हुन्थ्यो भन्ने चाहना राख्दै मानिसहरू मेलामा आउने गरेको उनलाई अझै सम्झना छ । त्यतिबेला सुन्तला, मौसम र ओखरको व्यापारसमेत राम्रो हुने गरेको उनी बताउँछन् ।
“पहिले जेरी खानेहरूको निकै भीड लाग्थ्यो । अहिले भने बिक्री कम भएको छ । धेरैलाई मधुमेहजस्ता स्वास्थ्य समस्या पनि छन् । पहिले गुल्मीको नयाँगाउँबाट मानिसहरू डोकोमा सुन्तला र मौसम बोकेर बिक्री गर्न आउँथे । अहिले ती उत्पादनको व्यापार घटेको छ,” आचार्यले भने ।

उनका अनुसार पछिल्लो समय चना, चटपटे, चाउमिन, मःम र चाउचाउजस्ता परिकारको व्यापार बढेको छ । स्थानीय उत्पादनभन्दा तयारी तथा जङ्क फुडप्रति मानिसहरूको रुचि बढ्दै जाँदा परम्परागत उत्पादनको बजार खुम्चिँदै गएको उनले बताए ।
यद्यपि, चार दशकदेखि मेलामा व्यापार गर्दै आएका आचार्यलाई भण्डारथुमसँगको सम्बन्धले अझै तान्ने गरेको छ । पूजाआजा, दसैँ र पूर्णिमाको अवसरमा पुराना साथीभाइसँग भेटघाट हुने भएकाले आफू नियमित रूपमा मेलामा आउने गरेको उनले बताए ।
“म यहाँको पुरानो व्यापारी हुँ । व्यापार पहिले जस्तो नभए पनि साथीभाइसँग भेटघाट हुन्छ, रमाइलो लाग्छ । त्यसैले हरेक वर्ष आउने रहर लाग्छ,” उनले भने ।
टाढाबाट पनि फर्किन्छन्, पुर्ख्यौली थलोको मायाले
भण्डारथुम पूर्णिमा मेला स्थानीयवासीका लागि मात्र नभई रोजगारी र अवसरको खोजीमा अन्यत्र बसोबास गर्दै आएका मानिसका लागि पनि विशेष अवसर बन्दै आएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका-८ मा बसोबास गर्दै आएका झविन्द्र बञ्जाडे हरेक वर्ष सरायँ नाच हेर्न र दुर्गादेवीको पूजा गर्न परिवारसहित भण्डारथुम आउने गर्छन् । उनी विगतमा कपिलवस्तु र रुपन्देहीबाट समेत मानिसहरू सरायँ नाच हेर्न आउने गरेको स्मरण गर्छन् ।
“मलाई ४० वर्षअघिको सम्झना आउँछ । त्यतिबेला यहाँ जताततै जेरीका पसल देखिन्थे । जेरी यहाँको विशेषता नै थियो । पहले अग्लो डाँडा थियो । अहिले डाँडालाई खारेर ठूलो मैदान बनाइएको रहेछ,” बञ्जाडेले भने।
उनका अनुसार भण्डारथुममा सानो चेक्मी, ठूलो चेक्मी, मरेङ, खसकोट र गुल्मी लगायत आसपासका क्षेत्रका मानिसहरूको ठूलो जमघट हुने गर्छ । अर्घातोषलगायतका क्षेत्रबाट पनि मानिसहरू मेला भर्न आउने गर्छन् ।
रोजगारी र अन्य अवसरको खोजीमा धेरै मानिस गाउँबाहिर गए पनि पुर्ख्यौली थलोप्रतिको माया भने कायमै रहेको उनले बताए । मेलाले परिवारका सदस्य तथा आफन्तबीच भेटघाट, मेलमिलाप र आत्मीयता साटासाट गर्ने अवसर प्रदान गर्दै आएको उनको भनाइ छ।
स्थानीय समाजसेवी अनिरुद्र सुवेदी पनि भण्डारथुम पूर्णिमा मेलाले सामाजिक सम्बन्ध बलियो बनाउन र स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउँछन् । स्थानीय उत्पादनको बिक्रीवितरणले आर्थिक गतिविधि बढाउनुका साथै ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।
उनका अनुसार विगतमा भण्डारथुममा पुजारीहरू बसेर पूजा गर्ने र चौमासमा भजनकीर्तन गराउने परम्परा थियो । अहिले मन्दिर निर्माण तथा चौर विस्तार गरिएपछि यस क्षेत्रमा स्थानीय खेलकुद र पर्यटकीय गतिविधि सञ्चालन गर्ने सम्भावनासमेत बढेको छ ।
प्रचारप्रसार र व्यवस्थापनमा चुनौती
ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको भण्डारथुम क्षेत्र पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीयवासीको गुनासो छ । मेलाको मौलिकता, स्थानीय उत्पादन र धार्मिक पर्यटनलाई एकीकृत रूपमा प्रवर्द्धन गर्न सके यस क्षेत्रलाई थप आकर्षक पर्यटकीय गन्तव्य बनाउन सकिने उनीहरूको धारणा छ ।
स्थानीय समाजसेवी तथा व्यवसायी शोभाखर बञ्जाडेले भण्डारथुममा हुने मेला र यहाँको कला संस्कृतिको प्रवर्द्धनका लागि स्थानीय सरकार तथा युवाहरूले सक्रिय भूमिका खेल्नुपर्ने बताए । उनका अनुसार उचित प्रचारप्रसार हुन सके धार्मिक तथा सांस्कृतिक पर्यटनका माध्यमबाट स्थानीय आर्थिक गतिविधि बढाउन सकिन्छ ।
पूर्व शिक्षक तथा स्थानीय समाजसेवी चेतनारायण आचार्यले प्रविधिको विकास, बसाइँसराइ र रोजगारीका अवसरको अभावले गाउँको सामाजिक तथा सांस्कृतिक जीवनमा परिवर्तन ल्याएको बताए । इन्टरनेट तथा डिजिटल माध्यमबाट घरमै बसेर पनि मेला र सांस्कृतिक गतिविधि हेर्न सकिने भएकाले प्रत्यक्ष रूपमा उपस्थित हुने मानिसको सङ्ख्यामा कमी आएको उनको अनुभव छ ।

“पहिलेको तुलनामा अहिले पनि युवाहरूमा सरायँ नाच्ने, गाउने र बाजा बजाउने उत्साह छ । तर रोजगारीको अभाव, बसाइँसराइ र अन्यत्र अवसर खोज्ने प्रवृत्तिले गाउँको दसैँ र मेलाको स्वरूपमा परिवर्तन ल्याएको छ,” उनले भने ।
स्थानीय शिक्षक कमल पोखरेलले संस्कृति पहिचान र गौरवको विषय भएको उल्लेख गर्दै पर्यटनलाई समृद्धिको आधार बनाउन सकिने बताए । उनका अनुसार स्थानीय कला, संस्कृति, भेषभूषा, लोकगीत, लोकनृत्य, जात्रा, पर्व र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक छ ।
“स्थानीय कला र संस्कृतिको जगमा पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । यसका लागि सामाजिक सञ्जाल, डिजिटल प्रविधि र सञ्चारमाध्यमको प्रयोग गरेर ऐतिहासिक तथा धार्मिक स्थलको प्रचारप्रसार गर्नुपर्छ । स्थानीय खानपान र रहनसहनलाई पर्यटनसँग जोड्न सके आकर्षण बढ्नुका साथै रोजगारी सिर्जना गर्न पनि सहयोग पुग्छ,” पोखरेलले भने ।

भण्डारथुम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद सुवेदीले पनि गाउँमा युवाहरू बस्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । बसाइँसराइका कारण गाउँ रित्तिँदै जाँदा रैथाने कला तथा संस्कृति लोप हुने जोखिम बढेको उनको भनाइ छ ।
कृषिमा बाँदर र बँदेलको प्रकोप, रोजगारीको अभाव तथा युवाहरूको पलायनले स्थानीय उत्पादन र आर्थिक गतिविधिमा असर पारेको उनले बताए । मन्दिर व्यवस्थापन तथा क्षेत्रको विकासका लागि वडा र स्थानीय तहबाट पर्याप्त आर्थिक सहयोग प्राप्त नभएको उनको गुनासो छ ।
“गाउँमा युवाहरू नभएपछि पुरानो संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न कठिन भएको छ । भण्डारथुम ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । मौलिक संस्कृति र धार्मिक पर्यटनको विकासका लागि युवाहरू गाउँमै बस्न सक्ने वातावरण बनाउनुपर्छ,” सुवेदीले भने ।
मालारानी-१ का प्रचण्डराज पाण्डेले पनि विगतका वर्षको तुलनामा मेलाको व्यवस्थापन र स्थानीय उत्पादनको प्रवर्द्धनमा थप ध्यान दिनुपर्ने बताए । अग्रज व्यक्तित्वसँग भेटघाट गर्न र पुर्ख्यौली संस्कृतिसँग जोडिन आफू हरेक वर्ष मेलामा आउने गरेको उल्लेख गर्दै उनले स्थानीय तह र युवाहरूको पहलमा मेलाले निरन्तरता पाउँदै आएको बताए।
उनका अनुसार मेलामा मानिसहरूको चहलपहल देखिए पनि स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने काममा सुधार आवश्यक छ ।
संस्कृतिको संरक्षणसँगै पर्यटनको सम्भावना
भण्डारथुम पूर्णिमा मेला केवल मनोरञ्जन र किनमेलको अवसर मात्र होइन, यस क्षेत्रको धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक एकताको प्रतीक पनि हो । सरायँ नाच, दुर्गादेवीको पूजा, परम्परागत जेरी र स्थानीय उत्पादनले मेलाको छुट्टै पहिचान बनाएका छन् ।
स्थानीय उत्पादनको बजार विस्तार, व्यवस्थित मेला सञ्चालन, प्रभावकारी प्रचारप्रसार तथा युवाहरूको सहभागिता बढाउन सके भण्डारथुमलाई धार्मिक र सांस्कृतिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ ।
जेरीको स्वाद लिँदै सरायँ नाचमा रमाउने र वर्षौँपछि आफन्तसँग भेटघाट गर्ने परम्पराले भण्डारथुम पूर्णिमा मेलालाई आज पनि उत्तिकै आत्मीय बनाएको छ । बदलिँदो समयसँगै मेलाको स्वरूपमा परिवर्तन आए पनि यसको मौलिकता जोगाउँदै नयाँ पुस्तासम्म पुर्याउनु अहिलेको प्रमुख आवश्यकता बनेको छ ।
































तस्विरः शोभाकर बञ्जाडे