ससुरालीमा खुकुरी प्रहार गर्दा श्रीमतीसहित चार जना घाइते, तीनको अवस्था गम्भीर

दियोपोस्ट संवाददाता

काठमाडौँ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारमा ससुराली घरमा खुकुरी प्रहार हुँदा श्रीमतीसहित चार जना गम्भीर घाइते भएका छन् । श्रीमतीसँग घरायसी विवाद भएपछि च्यास्मीटारस्थित जारबुङका ४३ वर्षीय नइन्द्रकुमार राईले ससुराली घर आहालेमा गएराति खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट ४० वर्षीया श्रीमती अञ्जना राई, ६२ वर्षीया सासु सेवन्ता राई, २५ वर्षीया साली टेमिना राई र सालो नरेन्द्र राई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार घाइते चारै जनाको हलेसी तुवाचुङ नगर आधारभूत अस्पताल दुर्छिममा उपचार भइरहेको छ ।

घाइतेमध्ये अञ्जना, सेवन्ता र टेमिनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट अञ्जना, सेवन्ता र टेमिनाको टाउकोको पछाडिपट्टि तथा हातमा चोट लागेको छ भने नरेन्द्रको दाहिने हातमा गहिरो चोट लागेको बताइएको छ । नरेन्द्रको अवस्था भने सामान्य रहेको छ ।

घटनापछि फरार भएका आरोपित नइन्द्रकुमारलाई प्रहरीले गएराति नै खोजतलास गरी नियन्त्रणमा लिएको जनाएको छ । उनी नेपाली सेनामा कार्यरत रहेको र दसैँ मनाउन घर आएको समयमा घटना भएको बताइएको छ ।

पीडित परिवारले आरोपितले सबैको सामूहिक हत्या गर्ने उद्देश्यले खुकुरी प्रहार गरेको आरोप लगाएको छ । घटनाबारे थप अनुसन्धान गर्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस