जनताको प्रश्न: पत्रकार किन समातेको? प्रधानमन्त्रीको जवाफ: लुडो र कलब्रेक!

दियोपोस्ट संवाददाता

काठमाडौं-सञ्चारगृहमा भएको शुक्रबार साँझ प्रहरी हस्तक्षेप र पत्रकार धरपकडको घटनापछि चौतर्फी विरोध र प्रश्नहरूको भुमरीमा परेका प्रधानमन्त्री बालेन शाहले शनिबार आफ्नो फेसबुकमा अनलाइन गेम विकास  र आईटी क्षेत्रको सम्भावनाबारे लामो स्टाटस पोस्ट गरे। तर, उनको यो पोस्टले जनताको ध्यान मोड्ने ( अटेन्सन डाइभर्सन) भन्दा पनि सामाजिक सञ्जालमा उनैलाई झन् ठूलो घेराबन्दीमा पारेको छ।

शुक्रबार साँझ न्युजरुममै पसेर पत्रकारहरूमाथि गरिएको सादा पोशाकको धरपकड, मध्यरातमा प्रहरीले जारी गरेको विरोधाभासी वक्तव्य (प्रधानमन्त्री कार्यलयको ‘चासो’ व्यक्त भएको भनिएको) र ‘फिक्सर’ इनम सापकोटा प्रकरणबारे एकाक्षर पनि नबोली एकाएक ‘लुडो र कलब्रेक’ खेलको कुरा ल्याएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई सिधै ‘विषयान्तर गर्ने उत्तम चाल’ भनेर व्यङ्ग्य कसेका छन्।

पोस्टमा के छ?

प्रधानमन्त्रीले नेपालमा गेम बनाएर विश्वभर नाम कमाएका कम्पनी रहेको उल्लेख गरेका छन्। संसारकै चर्चित लुडो (करिब २०० मिलियन डाउनलोड) र कलब्रेक (१५० मिलियन+ डाउनलोड) नेपालीले बनाएको उनले लेखेका छन्। गेम विकासकर्तालाई बोलाएर समस्या बुझेको र यो क्षेत्रलाई सहज बनाउन तथा उद्योगका रूपमा अघि बढाउन गृहकार्य अघि बढाइएको उनको भनाइ छ।

उनले नेपालबाटै ‘ग्लोबल युनिकर्न’ कम्पनी बनाउन सहज हुने नियम र वातावरण पुनरावलोकन गर्ने जनाएका छन्। आईटी उत्पादन र निर्यात आशालाग्दो चरणमा रहेको भन्दै कर सहजता, नीतिगत सुधार र अन्तर्राष्ट्रिय आयसम्बन्धी नियम सहज बनाउने, तथा गेम ज्याम, स्टार्टअप कार्यक्रम, ह्याकाथन र राष्ट्र बैंक तथा अर्थ मन्त्रालयसँग नियमित अन्तरक्रियामा लगानी गर्ने उल्लेख छ।

पोस्टमा के छैन?

पोस्टमा शुक्रबार सञ्चारगृहमा प्रहरी पुगेको घटनाबारे कुनै उल्लेख छैन। प्रहरीले मध्यरातमा जारी गरेको वक्तव्य र त्यसमा उल्लेख “प्रधानमन्त्री कार्यालयको चासो” बारे पनि केही भनिएको छैन। न्यायपालिका र इनम सापकोटासँग जोडिएको प्रकरणमा पनि मौनता छ।

प्रधानमन्त्रीले पोष्टमार्फत खेलकुदतर्फ बोलिए पनि त्रिवि क्रिकेट मैदानमा पानी जमेर नेपाल प्रिमियर लिग (एनपीएल) को खेल अनिश्चित भएको विषय पनि पोस्टमा छैन। अर्नब चक्रवातका कारण काठमाडौंमा लगातार वर्षा भएपछि मैदानमा पानी जमेको हो। मौसमविद् विनोद पोखरेलका अनुसार शनिबार दिउँसो २ बजेसम्म वर्षा हुन सक्ने पूर्वानुमान छ। दिउँसो १२:३० बजे चितवन राइनोज र लुम्बिनी लायन्सबीच, साँझ ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच खेल तालिका छ।

पोस्टमा उठेका प्रश्न टार्न खोजिएको हो कि भन्ने प्रश्न पाठकले उठाएका छन्। प्रधानमन्त्री वा उनको कार्यालयले यसबारे प्रतिक्रिया दिएको छैन।

बालेको पोष्टमा आएका कमेन्टहरू 

प्रधानमन्त्री शाहको पोस्टमुनि आएका प्रतिक्रियाहरू धेरैजसो एउटै कुरामा केन्द्रित छन्, यो पोस्ट पत्रकार धरपकड र न्यायपालिकाको प्रसङ्गबाट ध्यान मोड्न गरिएको हो भन्ने।

शंकर कार्कीले “समसामयिक कुराको बारे चै किन चुप हो?” भन्दै न्यायमूर्तिप्रतिको सम्मान सम्झाएका छन्। न्यायिक आसनमा बसेकाहरू भ्रष्टाचार र बिचौलियाको चलखेलमा मुछिनु विडम्बना भएको, बिचौलियालाई मात्र दोषी देखाएर नहुने र “न्यायालयको शुद्धीकरण र जवाफदेहिताको समय आएको” उनको भनाइ छ।

कमरेड दागेलीले “यो पोस्ट विषयान्तर गर्न गरिएको हो” भनेका छन्, किरण गौतमले “सायद लुडोमा व्यस्त भएर हिजोको घटना थाहा नभएको होला” भनेर व्यंग्य गरेका छन्। सरिता सापकोटाले “सापकोटाको गेमबारे पनि भन्दिनू” भन्दै इनम सापकोटा प्रकरणतिर संकेत गरेकी छन्।

अंग्रेजीमा लेख्नेहरूमध्ये अरी बेलुनले “विषय मोड्ने राम्रो उदाहरण” भन्दै नेताहरूप्रति विश्वास गुम्यो भन्ने आशयको लामो टिप्पणी लेखेका छन्। सुशील गिरीले “विवादबाट ध्यान मोड्नमा असाधारण ” र खगेन्द्र भट्टले “विषय बदल्ने उत्तम चाल” भनेका छन्। थोमस तेजुले राष्ट्रिय बहस र चासोको विषयलाई यसरी विषयान्तर गर्न नहुने उल्लेख गरेका छन्। नेपाल अफ रुटिन बन्द नामको अर्को एक पेज (भिक्टर पौडेलको होइन)ले “नेपाल Attention Diversion को पनि ग्लोबल युनिकर्न बन्ने सम्भावना देखियो, सक्छ त कसैले यस्तो टाइमिङ मिलाउन?” भन्दै व्यंग्य गरेका छन्। यस्तैगरि, पवन महराले “पत्रकारलाई किन समातेको होला सोचिरहेथेँ, बल्ल थाहा भयो लुडो र कलब्रेक खेल्न रहेछ” भनेका छन्।

निमेष दुलालले “Journalist lai kina detain garya? Stop the blame game!” भनेका छन्। खेमराज योगी शिशिरले माहोल घुमाइएको भन्दै हिन्दीमिश्रित भाषामा आलोचना गरेका छन्। प्रकट खनालले “पत्रकारलाई समाएको न्युज डाइभर्ट गर्न खोजेको हो सर?” भनेर सिधा प्रश्न सोधेका छन्।

मच्छिन्द्र नरसिंह प्याकुरेलले “सञ्चारकर्मीमाथि मिडिया हाउसमा गएर छोप्ने गेम चाहिँ कुन हो? यसबाट सरकारलाई के फाइदा हुन्छ?” भनेका छन्, साथै बाढीपीडितले त्रिशूली वारपार गर्न पुल कहिले पाउने र घर बगेकाको हकमा के हुने भन्ने प्रश्न पनि उठाएका छन्।

सरोज ढुङ्गानाले “इधर उधरकी बातें मत कर, पत्रकारलाई किन पक्राउ गर्‍यो?” भनेका छन्। यसैगरी, अर्जुन बगालेले प्रधानमन्त्रीले अनलाइन गेम खेलेर पत्रकार पक्राउको कुरा थाहा नपाएको हो कि भन्दै इनमसँगको चिनजान अझै छ कि बिर्सिसक्नुभयो भनेर व्यंग्य कसेका छन्।

 यसैगरी, त्सेरिङ ल्हामो लामा तामाङले यो पोस्ट “हिजोको घटनाबाट ध्यान मोड्न भक्तजनका लागि” भनेका छन्। उनले “सरकार आफ्नै खुट्टामा बन्चरो हान्दैछ” भन्दै “प्रहरी प्रशासन गृह मन्त्रालयअन्तर्गत र गृह मन्त्रालय सरकारअन्तर्गत पर्दैन?” भनेर समेत प्रश्न गरेका छन्।

शनिबार १०:२५ मा पोष्ट गरिएको यस स्ट्याटसमा यस समाचार तयार पार्दासम्म, ५८०० कमेन्ट आएका छन्। अधिकांश कमेन्टले विषयान्तर गरिएको कुरामा नै जोड दिएका छन्। यसले नागरिक हिजोको घटनाको सम्बन्धमा अत्याधिक चासो र चिन्ता गरिरहेको देखाउँछ।

बालेनले पोस्ट गरिरहँदा झरीमा रुझ्दै पत्रकारको प्रदर्शन

प्रधानमन्त्रीले गेम डेभलपमेन्टबारे पोस्ट गरिरहेकै बेला नेपाल पत्रकार महासंघको आह्वानमा काठमाडौंको माइतीघरमा पत्रकारहरूले पत्रकार पक्राउ र सञ्चारगृहमाथि धरपकडविरुद्ध प्रदर्शन गरिरहेका छन्। महासंघले पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्युजरुममा सरकार र प्रहरीको हस्तक्षेप बढेको भन्दै प्रदर्शन गरेको हो।

वर्षा र झरीको प्रवाह नगरी पत्रकारहरू प्रदर्शनस्थल पुग्ने क्रम जारी रहेको छ। प्रदर्शनमा सहभागीले सरकारी रवैयाको विरोधमा नाराबाजी गरे। महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र वरिष्ठ पत्रकार देवेन्द्र चुडाललगायतले प्रदर्शनलाई सम्बोधन गरे।

 

उल्लेखीय कुरा के छ भने, प्रहरी प्रमुख (आईजीपी) दानबहादुर कार्कीले पनि बिहान फेसबुकमा हिजोदेखि परिरहेको झरी (अर्नब चक्रवात) र विपद् जोखिम न्यूनीकरणबारे सञ्चारकर्मीलाई सम्बोधन गरी स्टाटस लेखेका थिए, तर त्यसमा पनि शुक्रबारको धरपकडबारे केही उल्लेख छैन।

सम्बन्धित खबर

सिफारिस