
काठमाडौँ । दियो मिडिया प्रालिको कार्यालयमा प्रहरीको टोली पुगेर धरपकड गरेको छ । दियोपोस्ट डटकममा प्रकाशित समाचारको विषयलाई लिएर प्रहरीको टोली कार्यालयमा पुगेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोली अनामनगरस्थित कार्यालयमा पुगेर पत्रकारहरूको मोबाइल हेर्ने काम गरिरहेको छ ।
प्रधान सम्पादक सुदीप विश्वकर्माको नाम लिँदै उहाँ कहाँ हुनुहुन्छ ? उहाँको फोन नम्बर कति हो भनी जानकारी मागिएको र मोबाइल डिभाइस समेत हेर्ने काम भइरहेको कार्यालयमा रहेका सहकर्मी राजेन्द्र भट्टले बताए ।
कार्यालयमा जिल्ला प्रहरी परिसर काठमाडौँका इन्स्पेक्टर कपिल जंग शाहीको नेतृत्वमा ४ जनाको प्रहरी टोली पुगेको छ । अहिले पत्रकार तथा कर्मचारीको मोबाइल डिभाइस समेत नियन्त्रणमा लिइएको छ ।
कार्यालय समय सकिनै लाग्दा साँझ ५ः३० बजे कार्यालयमा सादा पोसाकका प्रहरी पुगेका हुन् ।