जापानी कम्पनीको सहयोगमा बनेको महाकाली माविको नवनिर्मित भवन उद्घाटन

दियोपोस्ट संवाददाता

काभ्रे । काभ्रेपलाञ्चोकको मदनदेउपुर नगरपालिका-नगरकोटस्थित श्री महाकाली माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ। जापानको नीचिनोकेन कान्तो कम्पनीको सहयोगमा निर्माण सम्पन्न भएको विद्यालय भवन शुक्रबार एक समारोहबीच उद्घाटन गरिएको हो।

भवन उद्घाटन कार्यक्रममा जापानी कम्पनीले विद्यालयलाई कम्प्युटर र कलर प्रिन्टर हस्तान्तरण गरेको छ । साथै विद्यार्थीहरूलाई कापी र कलमसमेत वितरण गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकराम तामाङको सभापतित्व तथा मदनदेउपुर नगरपालिकाका नगरप्रमुख टोपबहादुर वाइबाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगर उपप्रमुख विष्णुमणि नेपाल विशेष अतिथिका रूपमा उपस्थित थिए ।

त्यस्तै, जापानका लागि नेपालका पूर्वराजदूत डा. दुर्गाबहादुर सुवेदी र जापानस्थित नीचिनोकेन कान्तो कम्पनीका अध्यक्ष ताकाशी कोजिमा विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख वाइबाले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग पुर्‍याएकोमा जापानी कम्पनीप्रति आभार व्यक्त गरे । उनले विदेशी मित्र तथा संस्थाबाट प्राप्त सहयोगले स्थानीय शिक्षाको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी, कम्पनीका अध्यक्ष कोजिमाले नेपालको शैक्षिक क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा पनि नेपालका विभिन्न क्षेत्रमा सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेपाल र जापानबीचको स्थानीय तहस्तरको सम्बन्धबारे समेत चर्चा गरिएको थियो । मदनदेउपुर नगरपालिका र जापानको फुजिनोमिया नगरबीच सन् २०२४ मा भगिनी सम्बन्ध कायम भएको उल्लेख गर्दै दुई नगरबीचको मित्रता र सहकार्यलाई थप विस्तार गर्न यस्ता सहयोगले महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको थियो ।

विद्यालयका प्रधानाध्यापक प्रेम बस्नेतले सञ्चालन गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष नवीन गुरुङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, जनप्रतिनिधि, शिक्षक, अभिभावक, शिक्षाप्रेमी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।

नवनिर्मित भवनले विद्यार्थीका लागि सहज र अनुकूल शैक्षिक वातावरण निर्माण गर्नुका साथै विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

सिफारिस