
काठमाडौँ । बाराको जितपुर सिमरा उपमहानगरपालिका-२१ मा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।शुक्रबार हेटौँडा-पथलैया सडकखण्डमा पर्ने नेपाल आयल निगमको डिपोनजिक डिजेल बोकेको ट्यांकर, हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
प्रहरीका अनुसार अमलेखगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ख २३४९ नम्बरको ट्यांकरमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ग.२ख १९९३ नम्बरको हाइस ठोक्किएको थियो । त्यसपछि हाइसको पछाडि धरानबाट हेटौँडातर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल पनि ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्यांकरचालक जितपुर सिमरा-१६, पिलुवाका ५० वर्षीय चेतनाथ खरेल, जितपुर सिमराकी २२ वर्षीया आशिका श्रेष्ठ, प्रसौनी गाउँपालिका-२ का २४ वर्षीय कुनिल पण्डित कुम्हार, मोटरसाइकलचालक सुनसरीको धरान उपमहानगरपालिका-१६ का २४ वर्षीय सरोज गुभाजू र हाइसचालक कास्कीको पोखरा महानगरपालिका-५ का ३८ वर्षीय आशिष मल्ल घाइते भएका छन् ।
त्यस्तै, हाइसमा सवार पर्साको वीरगन्ज महानगरपालिका-२ की ४५ वर्षीया समिना खातुन, उनकी २५ वर्षीया छोरी सखिना खातुन, पोखरा-१८ साराङकोटका ४३ वर्षीय मनोज थापा क्षेत्री तथा भारतको बिहार राज्य, पूर्वी चम्पारणका ७० वर्षीय नवलकिशोर साह र पश्चिम बंगाल, हुग्लीकी २६ वर्षीया साबनी दास घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइते सबैको अमलेखगन्जस्थित अक्कलबहादुर कार्की मेडिकल र नोभाकेयरमा उपचार भइरहेको छ ।