प्रधानन्यायाधीशको समाचार छापेकोमा अपराध र साइबर ब्युरो परिचालन गरिएको भन्दै दियोपोस्टलाई धम्की

दियोपोस्ट संवाददाता

काठमाडौँ । दियोपोष्ट डटकमका प्रधानसम्पादक सुदीप विश्वकर्मालाई अज्ञात नम्बरबाट फोन गरी पक्राउ/धरपकड गर्ने धम्की दिइएको छ। प्रधानन्यायाधीश र न्यायपालिकासँग सम्बन्धित खोजमूलक समाचार प्रकाशन गरेपछि उनलाई टेलिफोनमार्फत धरपकडको धम्की र दबाव दिइएको हो।

९८५१२८६७७१ नम्बरबाट फोन गरी “सुदीप विश्वकर्मा कहाँ हुनुहुन्छ? उहाँविरुद्ध उजुरी परेको छ” भन्दै सोधपुछ गरिएको थियो। फोनकर्तासँग कसले र के विषयमा उजुरी दिएको हो भनी जिज्ञासा राख्दा “उजुरीको विवरण खुलाउन मिल्दैन” भन्ने गैरजिम्मेवार जवाफ आएको थियो।

फोन गर्ने व्यक्तिले प्रधानन्यायाधीशसँग जोडिएका समाचारको विषयलाई लिएर नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा) र साइबर ब्युरोको संयुक्त टोली परिचालन गरिएको दाबी गरेका छन्।

दियोपोष्टले हिजो ‘प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा ‘घुस’ : फिक्सर इनमको मोबाइलले खुलाएको प्रमाण !’ शीर्षकमा एक्सक्लुसिभ समचार ब्रेक गरेको थियो।

समाचार लेखेकै आधारमा प्रहरी प्रशासनको नाम प्रयोग गरी सम्पादकलाई धरपकड गर्ने नियतले फोन गरिएपछि सञ्चारक्षेत्रमा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपलाई लिएर गम्भीर चासो र चिन्ता समेत बढेको छ।

दियोपोष्टले पछिल्लो समय न्यायिक तथा कानुनी रिपोर्टिङसम्बन्धी विषय र अदालतभित्रका विविध गतिविधिबारे खोजमूलक समाचारहरू ब्रेक गर्दै आइरहेको छ।

सम्बन्धित खबर

सिफारिस