
काठमाडौँ । बिहीबार बेलुकादेखि काठमाडौँ उपत्यकामा सुरु भएको झरी शुक्रबार बिहानसम्म पनि रोकिएको छैन । काठमाडौँ उपत्यकासहित पूर्वी नेपालका अधिकांश स्थानमा रातभर वर्षा भएको छ।
आज दिनभरि पनि काठमाडौँ उपत्यकालगायत देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। दिउँसोपछि वर्षाको क्रम अझ बढ्ने र थप क्षेत्रमा फैलिने अनुमान गरिएको छ।
रातभरि परेको वर्षाको विवरणअनुसार काभ्रेको रोशीमा सबैभन्दा बढी ४३ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै, काठमाडौँ, ललितपुर र भक्तपुरमा १८ देखि २६ मिलिमिटरसम्म वर्षा भएको छ।
अपराह्न वा साँझदेखि नेपालको पूर्वी आधा भागमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। विशेषगरी रातिको समयमा ठूलो पानी पर्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
बंगालको खाडीमा विकसित भएर भारतको पूर्वी तट हुँदै जमिनमा प्रवेश गरेको चक्रवात ‘अर्नब’ अहिले कमजोर भइसकेको छ । तर, त्यसको प्रभाव भने नेपालमा देखिन थालेको छ।
चक्रवातको अवशेष प्रणाली नेपाल नजिकै भारतीय भू-भागमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको छ। यही प्रणालीको प्रभावका कारण बिहीबार रातिदेखि नेपालका विभिन्न स्थानमा वर्षा भइरहेको हो।
शुक्रबार बिहानसम्म काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका अधिकांश भूभाग र पूर्वी नेपालको कोशी प्रदेशसम्म वर्षा भएको छ।