
काठमाडौँ । सोलुखुम्बुको डिङ्बोचेमा रहेको एक होटलमा आगलागी भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका-५ स्थित होटल गुड लकमा शुक्रबार बिहान करिब ११ बजे आगलागी भएको हो ।
प्रारम्भिक जानकारीअनुसार ग्यास पड्किएपछि होटलमा आगो लागेको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ ।
आगलागी भएपछि आगो नियन्त्रणमा लिन प्रहरी तथा स्थानीयले प्रयास गरिरहेका छन् । आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भएको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।
सगरमाथा आधार शिविर जाने पदमार्गमा पर्ने डिङ्बोचे क्षेत्रमा अहिले हिमपातसमेत भइरहेको छ । आगलागीबाट होटलमा भएको भौतिक क्षतिको विवरण भने आउन बाँकी छ ।