
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिनसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणले भूमिगत विद्युत् लाइन विस्तारको काम गर्नुपर्ने भएकाले आज कात्तिक १३ गतेदेखि २० कात्तिकसम्म विभिन्न क्षेत्रमा दैनिक ६ घण्टा विद्युत् आपूर्ति बन्द गर्न लागेको हो ।
प्राधिकरणका अनुसार सम्बन्धित क्षेत्रमा बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा भूमिगत विद्युत् लाइन विस्तारको काम गर्न लागिएको हो ।
प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार १३ कात्तिक (आज) बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाइभिजन कोलोनी क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिएको छ ।
त्यस्तै, १४ कात्तिकमा सीतापाइला फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्म र १५ कात्तिकमा कलंकी, थानकोट तथा रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
