
काठमाडौँ । बिहीबार रातभरि कोशीदेखि बागमती प्रदेशसम्मका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। मध्यरातपछि लुम्बिनी र गण्डकी प्रदेशका पूर्वी भागमा समेत वर्षा सुरु भएको छ।
आज दिनभरि पनि देशका अधिकांश स्थानमा यस्तै वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। तर अपराह्न वा साँझदेखि नेपालको पूर्वी आधा भागमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। विशेषगरी रातिको समयमा ठूलो पानी पर्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।
हाल वर्षाले देशका सातवटै प्रदेशलाई छोएको छ। तर विभिन्न क्षेत्रमा वर्षा गराउने मौसमी प्रणाली भने फरक-फरक रहेका छन्।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभावका कारण वर्षा भइरहेको छ भने बागमतीदेखि कोशी प्रदेशसम्म चक्रवात अर्नबको प्रभाव देखिएको छ।
त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भूभागमा भने दुवै मौसमी प्रणालीको कमजोर प्रभाव मात्र रहेकाले ती क्षेत्रमा उल्लेख्य वर्षा हुन नसकेको त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा जल तथा मौसमविद् डा। विनोद पोखरेलले बताएका छन् ।
उनका अनुसार आगामी ३० घण्टा विशेष सतर्कता अपनाउन आवश्यक छ। विशेषगरी नदीकिनारमा बसोबास गर्ने तथा हिमाली क्षेत्रमा रहेका व्यक्तिहरू बढी सचेत हुनुपर्नेछ ।
अहिलेसम्म वर्षाको क्रम पूर्वानुमानअनुसार नै देखिए पनि वर्षा हुने समय, स्थान र मात्रामा केही फरक पर्न सक्ने पोखरेलले बताएका छन् । उनले आधिकारिक सूचना तथा मौसमसम्बन्धी अपडेट नियमित रूपमा हेर्न र सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् ।