
काठमाडौँ । धनकुटाको मूलघाटमा केमिकल बोकेको ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् । शुक्रबार बिहान धनकुटा नगरपालिका–९ मूलघाटस्थित कोशी लोकमार्गमा ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० फिट तल खसेको हो ।
इटहरीबाट संखुवासभातर्फ हाइड्रोपावरमा प्रयोग हुने रासायनिक पदार्थ (केमिकल) लिएर जाँदै गरेको प्रदेश १-०२-००२ ख ०५९० नम्बरको ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
दुर्घटनामा ट्रक चालक सुनसरीको इटहरी उपमहानगरपालिका-८ का २५ वर्षीय अभिषेक चौधरी र सहचालक मोरङको सुन्दरहरैँचा नगरपालिका-४ का १८ वर्षीय राहुल चौधरी घाइते भएका छन् ।
प्रहरीका अनुसार दुवै जनालाई उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । चालक चौधरीको अवस्था मध्यम र सहचालकको अवस्था सामान्य रहेको छ ।
दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेको र निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।