
काठमाडौँ । चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा अण्डाको माग बढेपछि अण्डाको समर्थन मूल्य वृद्धि गरिएको छ । नेपाल लेयर्स कुखुरापालक संघले बिहीबार पोखरामा बसेको बैठकबाट अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको हो । संघले यसअघि गत ६ कात्तिकमा निर्धारण गरेको मूल्य छ दिनमै परिमार्जन गरेको हो ।
नयाँ मूल्यअनुसार एक्सएल, ठूलो र मिडियम अण्डाको मूल्य प्रतिपेटी (कार्टुन) २०० रुपैयाँले बढाइएको छ भने सानो अण्डाको मूल्य प्रतिपेटी १०० रुपैयाँले वृद्धि गरिएको छ ।
नयाँ मूल्यअनुसार १४.५ देखि १४.८ किलोसम्मको एक्सएल अण्डाको समर्थन मूल्य प्रतिपेटी ३ हजार ७०० रुपैयाँबाट बढेर ३ हजार ९०० रुपैयाँ पुगेको छ । त्यस्तै, १३.५ देखि १३.८ किलोसम्मको ठूलो अण्डाको मूल्य ३ हजार ६०० रुपैयाँबाट बढेर ३ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, १२.५ देखि १२.८ किलोसम्मको मिडियम अण्डाको समर्थन मूल्य ३ हजार ५०० रुपैयाँबाट बढेर ३ हजार ७०० रुपैयाँ पुगेको छ । ११ किलोभन्दा माथिको सानो अण्डाको मूल्य भने ३ हजार १०० रुपैयाँबाट बढेर ३ हजार २०० रुपैयाँ कायम गरिएको संघकाले जनाएको छ ।
यद्यपि, फार्म मूल्यमा वृद्धि भए पनि उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा भने परिवर्तन गरिएको छैन । उपभोक्ताका लागि ठूलो अण्डाको मूल्य प्रतिगोटा २५ रुपैयाँ र मिडियम अण्डाको मूल्य दुईवटाको ४५ रुपैयाँ नै कायम गरिएको छ ।