
काठमाडौँ । विवाह गर्ने आश्वासन दिएर महिलाहरूसँग आत्मीय सम्बन्ध बनाउँदै रकम ठगी गरेको आरोपमा पक्राउ परेका अभिनेता सञ्जय उर्फ डम्बर खतिवडालाई पुर्पक्षका लागि थुनामै राख्ने जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटनले सदर गरेको छ ।
काठमाडौँ जिल्ला अदालतले गत असोज ६ गते खतिवडालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध परेको निवेदनमाथि सुनुवाइ गर्दै बिहीबार उच्च अदालत पाटनका न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटा र नारायणप्रसाद सुवेदीको संयुक्त इजलासले जिल्ला अदालतकै आदेशलाई निरन्तरता दिएको हो ।
खतिवडा ठगी तथा आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धानपछि अदालतमा मुद्दा दायर भई पुर्पक्षका लागि थुनामा रहेका छन् । अदालतको पछिल्लो आदेशसँगै मुद्दाको अन्तिम फैसला नआएसम्म उनी थुनामै रहने बताइएको छ ।
प्रहरीमा परेको जाहेरीअनुसार खतिवडाले दुई महिलालाई विवाह गर्ने आश्वासन दिएर आर्थिक लाभ लिएको आरोप छ । उनीविरुद्ध एक बेलायतमा बस्ने नेपालीमूलकी महिला र अर्की नेपालमै व्यवसाय गर्दै आएकी महिलाले जाहेरी दिएका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानसम्बन्धी विवरणअनुसार बेलायतमा बस्ने महिलाबाट ४२ लाख रुपैयाँ र नेपालमा व्यवसाय गर्ने अर्की महिलाबाट २२ लाख रुपैयाँ ठगी गरेको आरोप छ । दुवै जाहेरीमा उल्लेखित रकम जोड्दा कुल ६४ लाख रुपैयाँ ठगी गरेको देखिन्छ ।
बेलायतमा बस्ने महिलासँग लन्डनमा आयोजित सांस्कृतिक कार्यक्रमका क्रममा चिनजान भएको र त्यसपछि विवाह गर्ने आश्वासन दिँदै निकट सम्बन्ध बनाएको जाहेरीमा उल्लेख छ । ती महिलाले रकम दिएपछि खतिवडा सम्पर्कविहीन भएको दाबी गरिएको छ ।
पीडित महिलाले बेलायतबाट अनलाइनमार्फत जाहेरी पठाएपछि काठमाडौँ प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सोही जाहेरीका आधारमा अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले भदौ ८ गते खतिवडालाई पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा नेपालमै व्यवसाय गर्दै आएकी अर्की महिलाले पनि आफू ठगीमा परेको दाबी गर्दै प्रहरीमा जाहेरी दिएपछि उनीविरुद्धका आरोप थप सार्वजनिक भएका थिए ।
दक्षिण कोरियाको राजदूत बन्ने भन्दै रकम मागेको आरोप
खतिवडाविरुद्ध परेको अर्को जाहेरीमा उनले आफू दक्षिण कोरियाका लागि नेपाली राजदूत बन्न लागेको भन्दै रकम मागेको उल्लेख छ ।
जाहेरवाली महिलासँग विवाह गरेर उनलाई पत्नीका रूपमा दक्षिण कोरिया लैजाने र त्यहाँ व्यापार व्यवसाय गर्ने आश्वासन दिएको आरोप उनीमाथि छ । ती महिलालाई प्रभावित पार्न आफू राजदूत बन्न लागेको र त्यसका लागि ठूलो रकम आवश्यक पर्ने बताएको जाहेरीमा उल्लेख छ ।
खतिवडाले राजदूत बन्नका लागि सभामुख डिपी अर्याललाई एक करोड ७५ लाख रुपैयाँ दिनुपर्ने बताएको आरोप छ । त्यसमध्ये ७५ लाख रुपैयाँ बुझाइसकेको र थप एक करोड रुपैयाँ दिन बाँकी रहेको भन्दै रकम सापटी मागेको जाहेरीमा उल्लेख छ ।
अटोमोबाइल व्यवसायमा संलग्न रहेकी ती महिलाको जाहेरीअनुसार खतिवडाले विभिन्न व्यावसायिक अवसर, विदेशमा लगानी र भविष्यमा संयुक्त रूपमा व्यवसाय सञ्चालन गर्ने योजनासमेत देखाएर महिलालाई विश्वासमा लिने प्रयास गरेका थिए ।
ती महिलाले विभिन्न मितिमा नगद, चेक तथा अन्य माध्यमबाट रकम दिएको दाबी गरेकी छन् । साथै, खतिवडासँगको निकट सम्बन्धका क्रममा होटल तथा रेस्टुरेन्टमा भएको खर्चसमेत आफूले व्यहोरेको जाहेरीमा उल्लेख छ ।
ति महिलाले विवाह गर्ने आश्वासनका कारण आफूले विश्वास गरेको तर पछि आश्वासनअनुसार व्यवहार नभएपछि शंका उत्पन्न भएको दाबी गरेकी छन् । त्यसपछि घटनाबारे बुझ्दै जाँदा आफू ठगीमा परेको निष्कर्षमा पुगेको उनको भनाइ छ ।
डम्बर खतिवडा फिल्म क्षेत्रमा सञ्जय खतिवडाका नामले चिनिने गरेको सछन् । उनले ‘काँडेतार’ र ‘आँधी तुफान २’ लगायतका चलचित्रमा अभिनय गरेका थिए ।
खतिवडाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ अन्तर्गत ठगी तथा दफा २५३ अन्तर्गत आपराधिक लाभ लिन नहुने कसुरसम्बन्धी अभियोग लगाइएको छ ।
कानुनको दफा २४९ ले ठगीसम्बन्धी कसुरलाई समेट्छ भने दफा २५३ आपराधिक लाभसँग सम्बन्धित छ । सोही कसुरमा काठमाडौँ जिल्ला अदालतले असोज ६ गते उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन परेपछि उच्च अदालतले पनि जिल्ला अदालतको आदेश सदर गरेको हो । उनीमाथि लागेका आरोपको अन्तिम फैसला अदालतबाट हुन बाँकी नै छ ।