जापान पठाइदिने भन्दै दुई करोड ४५ लाख ठगी, काठमाडौँका कृष्णहरि दाहाल

दियोपोस्ट संवाददाता

काठमाडौँ । वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै १७ जनाबाट दुई करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँको नागार्जुन नगरपालिका-९ स्थायी घर भएका ३३ वर्षीय कृष्णहरि दाहाल रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार उनलाई मंसिर ७ गते जिल्ला प्रहरी कार्यालय कास्कीसँगको समन्वयमा पक्राउ गरिएको हो ।

दाहालले बेरोजगार युवायुवतीलाई आकर्षक तलबसहित जापानमा रोजगारी दिलाइदिने प्रलोभन देखाएर लामो समयसम्म झुक्यानमा राख्दै आएको प्रहरीको भनाई छ । तर, रकम लिएपछि विदेश नपठाई सम्पर्कविहीन भएको भन्दै पीडितहरूले प्रहरीमा जाहेरी दिएका थिए ।

अनुसन्धानका क्रममा दाहालले पीडितहरूलाई शिरबहादुर गजुरेलको बैंक खातामा रकम जम्मा गर्न लगाउने गरेको खुलेको प्रहरीले जनाएको छ । पीडितहरूले गजुरेलको खातामा रकम जम्मा गर्न आनाकानी गरेमा दाहालले आफू नै शिरबहादुर गजुरेल भएको बताउँदै रकम फिर्ता गर्ने लिखित कागजसमेत गरिदिने गरेको पाइएको प्रहरीले जनाएको छ ।

हालसम्म यस प्रकरणमा १७ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन् । पक्राउ परेका दाहाललाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँ पठाइएको छ ।

यसैबीच, कृष्णहरि दाहाल र शिरबहादुर गजुरेलबाट वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै ठगीमा परेका अन्य व्यक्तिहरूलाई पनि आवश्यक कागजातसहित वैदेशिक रोजगार विभाग वा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा उपस्थित हुन प्रहरीले अनुरोध गरेको छ ।

सम्बन्धित खबर

सिफारिस