हाम्रो थालको राजनीति: हामी के खाँदैछौँ, कसले तय गर्दैछ?

आनन्द तेल्तुम्दे
आनन्द तेल्तुम्दे

भोजन हाम्रो जीवनको आधारभूत कर्म हो । धर्तीका सबै जीवित प्राणीले कुनै न कुनै रूपमा भोजन गर्छन् । हाम्रो शरीरको रूपमा अस्तित्वमा रहेको भौतिक यन्त्रलाई चलाउन चाहिने खाद्य एवम् ऊर्जाको आपूर्तिको प्रक्रिया पनि भोजन नै हो । शरीरलाई ऊर्जाको लागि ‘कार्बोहाइड्रेट्स’ चाहिन्छ । शारीरिक वृद्धि एवम् मर्मतका लागी प्रोटिन चाहिन्छ । विविध शारीरिक क्रियाको लागी चिल्लो पदार्थ (फ्याट्स) चाहिन्छ । स्वास्थ्य अवस्था सकुशल राख्न भिटामिन र खनिज पदार्थहरू चाहिन्छन् । यो सबै हामीले लिने मूलतः भोजनबाटै हो ।

हाम्रो शरीरको पोषणको लागि चाहिने खानाको आवश्यकता र त्यसको पूर्तिका कुनै पनि व्यक्तिको थालमा पुग्ने खाद्य पदार्थको मात्राको बिचमा धेरै थोक विद्यमान हुन्छन् । त्यहाँ आम्दानी, जात, धर्म, लिङ्ग, भूगोल, संस्कृति, राज्यको नीति तथा ठुला व्यावसायिक घराना(कर्पोरेट) वा निगमहरूको शक्ति लगायतको सिङ्गो सामाजिक जगत् हुन्छ ।

भर्खरै ‘हार्पर कोलिन्स’ प्रकाशन गृहबाट लेखक सिल्भिया करपागमको पुस्तक आएको छ । ‘द मिट अफ द म्याटरः हाउ द पोलिटिक्स अफ फुड सेप्स आवर हेल्थ’ नामको यो पुस्तकले हामीले चर्चा गरेजस्तै हाम्रो खानाको सन्दर्भलाई मुख्य विषय बनाएको छ । मान्छेको शरीरलाई आवश्यक पर्ने तथा समाजले उपलब्ध गराउने खानेकुराको बिचको अन्तरबारे गहन चर्चा गरेको छ ।

‘The Meat of the Matter: How the Politics of Food Shapes Our Health’ by Sylvia Karpagam (Harper Collins, 2026).
‘The Meat of the Matter: How the Politics of Food Shapes Our Health’ by Sylvia Karpagam (Harper Collins, 2026).

पोषणबारेका विविध प्रश्नहरू सुरु गर्दै पुस्तक विस्तारै धेरै विवादित विषयहरूमा पुग्छ । अर्थात् शाकाहारी भोजनको पक्षपोषण गर्ने विचार तथा त्यस खालको विचारले दाबी गर्ने नैतिक एवम् पोषणजन्य श्रेष्ठता, गोमांशको राजनीति, मध्यान्हको खाजामा हुने बहिष्करणदेखि खानेकुरामा कर्पोरेट प्रभाव हुँदै पोषणबारे हाम्रो बुझाई, सिकाई र पुनः सिकाईको आवश्यकतासम्म चर्चा गरेको छ ।

समाजको हरेक पक्षमा हिन्दुत्वको शक्तिले प्रभुत्व कायम गर्न खोजेको आजको भारतीय परिवेशमा यो पुस्तकले असङ्ख्य मानिसहरूको आवश्यकता पूरा गर्नका लागि खानामाथि त्यस्तो विचारधाराको नियन्त्रण हटाउनेमा लाग्नुपर्ने मान्यतामा जोड दिएको छ ।

न्यून आय भएका परिवारले प्रोटिन, दूध, फलफूल, तरकारी, अण्डा, माछा किन्न अघि सर्नु अघि घरभाडा, यातायात खर्च, शिक्षा, स्वास्थ्य तथा अन्य अत्यावश्यक वस्तु र सेवाको ख्याल गर्नुपर्ने अवस्था छ । फलतः आहारमा विविधीकरणको सन्दर्भ पोषणजन्य ज्ञानको सवाल बन्नु अघि वर्गीय प्रश्न बनिसकेको हुन्छ ।

के शरीरको कुनै जात हुन्छ र ?

पुस्तकका सुरुवाती अध्यायहरू प्रोटिन तथा चिल्लो पदार्थको बारेमा व्याख्या भेटिन्छ । लेखकले मान्छेको शरीरको लागि भिटामिन, खनिज तत्त्व लगायतको महत्वको चर्चा गर्छन् । भारतमा मानिसहरूको पोषणको अवस्था तथा त्यस वरपरको राजनीति बुझ्नका लागि  वैज्ञानिक आधार तय गर्नु आवश्यक नै हुन्छ । त्यस्तो खालको राजनीति पोषण सम्बन्धी अनेक वैज्ञानिक प्रमाण तथा जात, धर्म र शुद्धता एवम् प्रदूषणको अवधारणासँग जोडिएका  सांस्कृतिक विश्वासहरू बिचको सीमारेखालाई धमिलो पारेर फस्टाउने गरेको छ ।

अझ निरपेक्षरूपमा पोषणबारे हुने छलफलहरू त झन् खानालाई मानिसहरूको भौतिक परिवेशबाट अलग्याएर प्रस्तुत गर्ने गरेका देखिन्छन् । आज पनि भारतको जनसङ्ख्याको ठुलो हिस्सा पोषणको दृष्टिले कुन कुन खाना आफ्नो लागि उपयुक्त छ भनेर खुट्याउने अवस्थामा छैन । उनीहरूको अघिल्तिर अरू नै बग्रेल्ती समस्या छन् । उनीहरू आफूले किन्न सक्ने खानेकुरा छान्ने समस्यामै अल्झिएका छन्  । न्यून आय भएका परिवारले प्रोटिन, दूध, फलफूल, तरकारी, अण्डा, माछा किन्न अघि सर्नु अघि घरभाडा, यातायात खर्च, शिक्षा, स्वास्थ्य तथा अन्य अत्यावश्यक वस्तु र सेवाको ख्याल गर्नुपर्ने अवस्था छ । फलतः आहारमा विविधीकरणको सन्दर्भ पोषणजन्य ज्ञानको सवाल बन्नु अघि वर्गीय प्रश्न बनिसकेको हुन्छ ।

वर्गले मात्रै यो सबैकुरा तय गर्दैन । भारतको हकमा अरू पनि पक्ष महत्त्वपूर्ण छन् । मान्छेको खान्कीले जातको बोझ पनि बोकेको हुन्छ । जातले ऐतिहासिक रूपमा मान्छेको पेशा, विवाह तथा खाद्य सम्बन्ध पनि तय गर्छ । को मान्छे को-कोसँग बसेर खान सक्छ, को को बाट खाना लिन सक्छ, कसले कसको लागी खाना पकाउन पाउँछ भन्ने मात्रै तय गर्दैन । कुन खाना शुद्ध र कुन खाना अशुद्ध हो भन्ने पनि तय गर्छ । नितान्त व्यक्तिगत मामलाको रूपमा रहने खानपानको सन्दर्भ सामाजिक वर्गिकरणको व्यापक प्रणालि अन्तर्गत रहन पुग्छ । हाम्रो थालको खानेकुरा यस्तो माध्यम बन्न पुग्छ जसमार्फत  दैनिक जीवनमा को ठुलो र को सानो भन्ने श्रेणीक्रम तय हुन्छ ।

करपागमले आफ्नो पुस्तक मार्फत पोषण विज्ञानलाई यहि सामाजिक-राजनीतिक यथार्थसँग ठोक्काएर हेरेकी छन् ।

शाकाहारको भ्रम

पुस्तकमा करपागमले खानेकुरासँग जोडिएका धेरै भ्रमहरू चिरेकी छन् । अहिलेको सत्ताले जबरजस्त चलाइरहेको त्यस्तै एउटा भ्रम हो ‘शाकाहार’ । यसबारे पुस्तकमा एउटा रोचक अध्याय नै छ । जसको शीर्षक छ ‘ निर्दोष शाकाहारीहरू’। यो अध्यायले पुस्तकको निशानालाई गज्जबले समाएको छ । मानिसहरू विविध कारणले शाकाहारी हुनसक्छन् । त्यस्ता कारणहरू धार्मिक, नैतिक, सांस्कृतिक, आर्थिक वा व्यक्तिगत जेसुकै हुनसक्छन् । तर भारतमा चलेको शाकाहारी ‘मिथ’ले भने त्यसलाई नैतिक एवम् सांस्कृतिक मान्यतामा लगेर जोड्छ । त्यसो हुँदा बहुसङ्ख्यक जनताको भोजनजन्य अभ्यासको अवमूल्यन हुन पुग्छ ।

मुलुक भित्र वा बाहिर दुवैतिर भारतलाई शाकाहारीहरूको प्रधानता भएको सभ्यताको रूपमा प्रचार र प्रतिनिधित्व गराउने काम बारम्बार हुँदै आएको छ । यो ज्यादै ठुलो झुट हो । सन २०१९ मा सम्पन्न भारतको ‘राष्ट्रिय पारिवारिक स्वास्थ्य सर्वेक्षण’को तथ्याङ्क अनुसार ८३ दशमलव ४ प्रतिशत पुरुष एवम् ७० दशमलव ६ प्रतिशत महिलाहरू दैनिक, साप्ताहिक वा बेलामौकामा गरेर गैह्र-शाकाहारी खानेकुरा खान्छन् । यस्तो सङ्ख्या सन २०१५-१६मा गरिएको सर्वेक्षणको तुलनामा अझै बढेको छ । अझ दूध र दूधजन्य उत्पादनहरू पनि पशुजन्य मान्दा त यो पुरै बहस नै थला पर्छ ।

परम्परागत अवधारणाबाटै हेर्दा पनि हामी भारतको खाद्य संस्कृति विविधतापूर्ण नै पाउँछौँ । खानपानका अभ्यासहरू विभिन्न क्षेत्र, जात, धर्म, समुदाय, पेसा एवम् भौगोलिक अवस्था अनुसार फरक छन्। भारतलाई मूलतः शाकाहारी मुलुकको रूपमा चित्रण गर्ने भाष्यले ज्यादै सानो सङ्ख्यामा रहेर पनि प्रभुत्वशाली ब्राह्मण जातहरूलाई विशेष स्थान दिइरहेको हुन्छ ।

प्रभुत्वशाली जातहरूको ‘प्रथाजन्य शुद्धता’सँग जोडिन पुगेपछि शाकाहारले प्रतिष्ठा हासिल गर्‍यो । उता मांशाहार भने हीनताको प्रतीक बन्न पुग्यो । यसरी खानपानको अभ्यास पनि जात व्यवस्थाको हिस्सा बन्न पुग्यो ।

यस्तो प्रतिनिधित्व ऐतिहासिक रूपमा कसरी रचना गरिन्छ र सामान्यीकृत गरिन्छ भन्नेबारे धेरै विद्वानहरूले प्रष्ट पारिसकेकै छन् ।  ब्राह्मणवादी धर्मग्रन्थहरूमा जनावरको बलि दिने तथा ब्राह्मणहरू स्वयंले पनि गोमांश सेवन गर्ने गरेका प्रशस्त प्रमाणहरू भेटिन्छन् । बौद्ध धर्मले लिएको अहिंसाको नीति तथा त्यसले तत्कालीन ब्राह्मणवादी सत्तालाई दिएको चुनौतीका कारण विस्तारै ब्राह्मणहरूको ठुलो तप्का मांशाहार त्यागेर शाकाहार अपनाउन थाल्यो। खानपानलाई जात व्यवस्थासँग जोड्ने काम पनि त्यही समयबाट सुरु भएको थियो ।

प्रभुत्वशाली जातहरूको ‘प्रथाजन्य शुद्धता’सँग जोडिन पुगेपछि शाकाहारले प्रतिष्ठा हासिल गर्‍यो । उता मांशाहार भने हीनताको प्रतीक बन्न पुग्यो । यसरी खानपानको अभ्यास पनि जात व्यवस्थाको हिस्सा बन्न पुग्यो । तसर्थ, भारतलाई शाकाहारी मुलुकका रूपमा प्रस्तुत गर्ने कामले ब्राह्मणवादी प्रभुत्वशाली संस्कृतिको तस्बिर देखाउँछ ।

करपागमका अनुसार भारतीय समाजको मुख्य समस्या भनेको खानपानको एउटा शैलीलाई नैतिक रूपमा श्रेष्ठ ठहर्‍याउन खोज्नु तथा त्यो श्रेष्ठतालाई सामाजिक नियम वा एक प्रकारको बन्धनमा परिणत गर्नु हो। करपागमको पुस्तकले मुख्य रूपमा मासु खानेको पक्षमा वकालत गरेको छैन, बरु पोषणको बारेमा कुनै खास विचारधारालाई हाबी हुन नदिने प्रयास गरेको छ ।

गोमांशको कथा

भारतको अहिलेको सत्ताले गोमांशको राजनीतिलाई विचारधारामा जोड्ने काम गरेको छ । आजको भारतमा ‘गोमांश खाने वा नखाने’ प्रश्न विचारधारासँग जोडिन्छ । हिन्दूहरूमाझ गाईको स्थान असाध्यै पवित्र छ ।  तर दलित, आदिवासी, मुस्लिम र इसाई लगायत अन्य समुदायहरू भने ऐतिहासिक रूपमा गोमांश खाँदै आएका छन् । भारतमा गाई एकसाथ धार्मिक प्रतीक, कृषिजन्य सम्पत्ति, जीवन निर्वाहको आधार, बजारको वस्तु र खानेकुरा पनि हो । भारतका गाउँहरूको कृषि अर्थतन्त्र पशुपालनमा निर्भर छ । तर यसलाई धार्मिक रूपमा लगेर जोड्नाले विभाजनकारी राजनीति पैदा गर्दै मुलुकलाई नै ठुलो मूल्य चुकाउनुपर्ने अवस्थामा पुर्‍याएको छ ।

समाजको एउटा हिस्साको रूपमा रहेको कुनै एउटा धार्मिक विश्वासले आफूजस्तै अर्को समुदायले के-के खान मिल्छ र के-के खान मिल्दैन भनेर तय गर्ने अधिकार हुन्छ ? यसरी हेर्ने हो भने गोमांशको राजनीति नागरिकत्व र शक्तिको प्रश्नमा जोडिन पुग्छ । यस्तो राजनीतिले पशुजन्य व्यापार, ओसारपसार एवम् कारोबारमा संलग्न व्यक्तिहरू अझ खासगरी मुस्लिम र दलित समुदायबाट आउनेहरू विरुद्ध कानुनी प्रतिबन्ध , निगरानी एवम् घातक हिंसाको अवस्था सिर्जना गरेको छ ।

दिवा खाजा र बहिष्करणको विरोधाभास

भारतको दिवा खाजा कार्यक्रम, महत्त्वपूर्ण सिद्धान्तमा आधारित छ । सिद्धान्त अनुसार भोक र कुपोषणका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सिकाई रोकिनु हुँदैन । राम्रोसँग लागु गर्ने हो भने यस्तो दिवा खाजा कार्यक्रमले ‘क्यालोरी’ र पोषक तत्त्व प्रदान गर्ने भन्दा अझै धेरै काम गर्न सक्छ।

आपसमा सँगै बसेर खाजा खाने विभिन्न जातका बच्चाहरूले उनीहरू ठुलो हुँदा सामना गर्नुपर्ने खालको सम्भावित सामूहिक पृथकीकरणको चलिआएको अभ्यासलाई चुनौती दिन सक्छन्। खाना जब जातप्रथाले ग्रस्त समाजमा प्रवेश गर्छ, त्यसबखत  बहिष्करणहरूको पुनरुत्पादन गर्छ ।

पुस्तकमा ‘मिड-डे मिलः अ रेसिप फर एक्सक्लुजन’ शीर्षकको अध्याय छ । त्यसले भारतमा दिवा खाजाको सन्दर्भमा देखिएको विरोधाभासलाई राम्रोसँग देखाएको छ । दिवा खाजा तयार गर्ने मामलामा अनेक प्रश्नहरू अगाडि आउने गर्छन् । अण्डा खुवाउनु हुने कि नहुने ? सांस्कृतिक रूपमा कुन खालको खाना उपयुक्त हो ? खाना कसले तयार गर्नुपर्छ ? बच्चाहरूले कुनै जात विशेषका व्यक्तिले पकाएको खाना खाने कि नखाने ? यस्ता प्रश्नहरूले पोषण कार्यक्रम पनि त्यसलाई चलाउने समाजको चङ्गुलबाट उम्कन सक्दैन भन्ने कुरा देखाउँछ।

अण्डाको उदाहरणले नै हामीलाई धेरै विषय बुझाउन सक्छ । अण्डा तुलनात्मक रूपमा सस्तो हुन्छ । सजिलै यसको वितरण गर्न सकिन्छ । साथै यसमा प्रचुर पौष्टिक तत्त्व हुन्छ । तैपनि स्कुलको दिवा खाजा वा खानामा अण्डा दिने कि नदिने भन्नेबारे हुने निर्णयहरू बारम्बार सत्ताले लिएको शाकाहार विचारधारासँग जोडिन पुग्छ । यसलाई शाकाहारी बच्चाहरूको भावनाको विषयको रूपमा गरिन्छ । यस्तो भावनाको व्यापार उच्च शिक्षा पढाई हुने संस्थाहरूसम्म पुगेको थियो । तर त्यहाँ भने झण्डै झण्डै विस्फोटक अवस्था सिर्जना हुन खोजेपछि अन्ततः सम्झौता गरियो ।

सन २०२५ मा महाराष्ट्रले अण्डाको लागि उपलब्ध गराइएको सरकारी रकम फिर्ता लिएको थियो । अर्को प्रान्त गोवाले पनि शाकाहारी समूहहरूको विरोध पछि विद्यालयमा अण्डा दिने कार्यक्रम फिर्ता लिएको थियो । अहिले भर्खरै अर्थात् सन २०२६मा पश्चिम बङ्गाल प्रान्तले शाकाहारी स्कुल खाजाको प्रस्ताव गरेको छ ।

दिवा खाजाबारेको यस्तो राजनीति खासगरी त्यस्ता राज्यहरूमा देखिन्छ, जहाँ अण्डालाई स्कुलको खानामा बहिष्कार  वा फिर्ता गरिएको छ। सन २०२५ मा महाराष्ट्रले अण्डाको लागि उपलब्ध गराइएको सरकारी रकम फिर्ता लिएको थियो । अर्को प्रान्त गोवाले पनि शाकाहारी समूहहरूको विरोध पछि विद्यालयमा अण्डा दिने कार्यक्रम फिर्ता लिएको थियो । अहिले भर्खरै अर्थात् सन २०२६मा पश्चिम बङ्गाल प्रान्तले शाकाहारी स्कुल खाजाको प्रस्ताव गरेको छ । पश्चिम बङ्गालको निर्णयको खबरसँगै खाजाको मुद्दा फेरि विवादको केन्द्रमा आएको छ।

करपागमले कर्नाटकको एउटा उदाहरण उद्धृत गरेकी छन् । त्यहाँ ‘इस्कोन’सँग सम्बन्धित संस्था ‘अक्षय पात्र फाउन्डेसन’लाई विद्यालयहरूमा दिवा खाजा दिने जिम्मेवारी दिइएको थियो। सात्त्विक भोजनको नाममा अक्षय पात्र फाउन्डेसनले खाजाबाट प्याज, लसुन, अण्डा, माछा, मासु आदि हटाएको थियो। त्यो खबरले सार्वजनिक रूपमा तहल्का मच्चाएपछि भारतको ‘राष्ट्रिय पोषण संस्थान’लाई अक्षय पात्र फाउन्डेसनले उपलब्ध गराउने खाना/खाजाको गुणस्तर मूल्याङ्कन गर्न भनियो।

राष्ट्रिय पोषण संस्थानले कुनै पनि विद्यालयको भ्रमण नै नगरी कागजमा उल्लेखित मेनुको आधारमा उपलब्ध गराउँदै आएको खाना/खाजालाई नै अनुमोदन गर्ने वक्तव्य जारी गर्‍यो । कमजोरीहरू नियन्त्रण गर्नका लागि आफैँले बनाएका संस्थाहरू, राज्य आफैले कसरी पङ्गु बनाउँछ भन्ने सन्दर्भमा यसलाई उदाहरणको रूपमा हेर्न सकिन्छ ।

पवित्र खानादेखि कर्पोरेट खानासम्म

जसरी भान्साको थालमा धर्म र जातजन्य विचारधाराले एक खालको शक्ति हासिल गरेका छन्, त्यसरी नै बजारले पनि अर्को खालको शक्ति हासिल गरेको छ । ‘फुड एजेन्डा गोज कर्पोरेट’ नामको अध्यायमा करपागामले बजारको चर्तिकला चर्चा गरेकी छन् । राज्यले लिएको शाकाहारवाला विचारधारासँग मिल्नेगरि कर्पोरेटहरूको अगुवाइमा चलेको बोट-बिरुवामा आधारित खानेकुरा(प्लान्ट-बेस्ड फुड)को अभियानको चर्चा छ । ‘इएटी-लान्सेट आयोग’ले स्पष्ट भाषामा एउटा प्रश्न उठाएको छ : करिब दस अर्ब हाराहारीमा पुग्ने जनसङ्ख्यालाई चाहिने स्वस्थ आहार हामी हाम्रो धर्तीको क्षमताभित्रै पाउन सक्छौँ त ?

यसको जवाफको रूपमा मूलतः बोटबिरुवामा आधारित खानपानतर्फ वैश्विक परिवर्तनको आह्वान गरिएको छ । त्यसक्रममा  पटकपटक भारतलाई उदाहरणको रूपमा राखिएको छ। प्रस्तावित ‘धर्तीको स्वास्थ्य पनि ख्याल गर्ने खालको’ आहारले संयुक्त राष्ट्र सङ्घ, कृषि एवम् खाद्य तथा ‘भेगन’ खाद्य एवम् अन्य वस्तु उत्पादकहरूबिच साझेदारी मार्फत अन्तर्राष्ट्रिय आकर्षण प्राप्त गरेको छ । यस्तो समूहमा पशुपालनमा आधारित कृषिको विरोध गर्नेहरू पनि छन् ।

यसरी एकाएक देखिएको परिवर्तनको कारणलाई बलियो बनाउन विज्ञान एवम् धर्तीको आवश्यकताको भाषाको सहायता लिइएको छ । पशुले गर्ने हरित गृह-ग्यास उत्सर्जन, त्यसमा प्रयोग हुने भूमि र पानीको प्रयोग, जैविक विविधतामा हुने क्षति,पशुपालनबाट मिथेन लगायत अन्य हरित गृह ग्याँसको उत्सर्जन, रातो तथा प्रशोधित मासुको अत्यधिक खपतले निम्त्याउन सक्ने स्वास्थ्य जोखिमहरू, स्रोतसाधनको दक्षतापूर्ण प्रयोगको समस्या तथा वैश्विक आहार असमानता जस्ता विषय उठाइएका छन् । त्यस्तो दृष्टिकोणमाथि करपागमको प्रश्न छ । उनले त्यसरी अघि सारिएका वैश्विक आहार सुझावहरू ‘ग्लोबल साउथ’को मौलिक रूपमा पृथक् पोषण अभाव, खाद्य-संस्कृति, पर्यावरणीय एवम् आर्थिक अवस्थालाई पर्याप्त रूपमा समेट्न सक्छन् कि सक्दैनन् भन्नेबारे सन्देह गर्छिन् । इएटी-लान्सेट आफैँले  भने सोझै शाकाहारको वकालत गर्दैन । तर पनि यसले प्रस्तुत गर्ने तर्कहरूको वैज्ञानिकताले शाकाहारको पक्षपोषण गर्ने  विचारधारात्मक अभियानलाई भने ठुलो सघाउ पुर्‍याउन सक्छ।

करपागम आफ्नो पुस्तकमा कर्पोरेट जगतले गर्ने यस्ता हस्तक्षेपलाई सघाउ पुर्‍याउने धेरै दाबीहरूलाई चुनौती दिन्छिन् । अचेल भन्ने गरिएको छ: वनस्पतिको दूध स्वाभाविक रूपमा स्वस्थ, पचाउन सजिलो र गाईवस्तुको दूधभन्दा बढी वातावरणमैत्री छ । त्यस्तै अर्को दाबी छ: मानिसहरू अब जङ्गली जनावरको रूपमा नरहेकोले जनावरहरू मार्न र खान आवश्यक छैन । थप अतिरिक्त पोषण आवश्यक पर्नेहरूलाई मात्रै जनावर-स्रोत भएको खाना दिनुपर्छ । उनीहरूका अरू पनि दाबी छन्: जनावरहरू संवेदनशील छन् ।  खानाको लागि तिनीहरूलाई मार्नु नैतिकरूपमा गलत काम हो। यी सबै दाबीमा प्रश्न उठाउँदै करपागम भन्छिन्, ‘यस्ता दाबीहरूलाई वैश्विक पोषण सत्यको हैसियतमा पुर्‍याउन सकिन्न ।’

खासमा भन्ने हो भने प्रायः बिरुवामा आधारित खानेकुरा व्यापक मात्रामा उत्पादन हुने कर्पोरेट खाद्य उद्योगद्वारा अत्यधिक प्रशोधित हुन्छन् । त्यसमा उपभोक्तालाई के कुराको खाँचो छ भन्ने ख्याल गरिएको हुँदैन । उपभोक्ताको चाहना समेत यसले विज्ञापन, प्याकेजिङ, ब्रान्डिङ र स्वास्थ्य एवम् सहजता सम्बन्धित अनेक दाबीहरू मार्फत उत्पादन गर्छ । ठूलो मात्रामा उत्पादित अति-प्रशोधित खाद्यपदार्थहरूले परम्परागत आहार विविधताको विस्थापन गर्ने काम आफैँमा पोषण असुरक्षाको नयाँ स्रोत बन्न सक्ने ठुलो जोखिम छ ।

कुपोषणले कसरी काम गर्छ भन्ने थाहा पाउने वा नपाउने कुरा भन्दा पनि व्यापक, त्यसको अर्थराजनीति हुन्छ भन्नेमा करपागमको जोड छ । यसका लागी हामीले धेरै प्रश्नहरूमा घोत्लिनुपर्ने हुन्छ । कृषि नीतिले कुन बालिलाई सहयोग पुर्‍याउँछ ? सार्वजनिक वितरण प्रणाली मार्फत कुन-कुन खानेकुराहरू उपलब्ध हुन्छन् ? ज्यालाको तुलनामा कुन आहारमा कति लागत लाग्छ ? कुन आहारले कस्तो र कत्तिको अनुदान पाउँछ वा पाउँदैन  ? कुन खालका उद्योगहरूले सार्वजनिक नीतिलाई प्रभाव पार्छन् ? बालबालिकाहरूका लागि कस्ता खानेकुरा बजारमा ल्याइन्छन् ?  विविधतापूर्ण खाद्य संस्कृतिहरूले एकलरुपी एवम् ‘प्याकेज’ गरिएको खानेकुराको उपभोगलाई बाटो सहज गरिदिँदा के हुन्छ ? कुपोषणको बारेमा यी यस्ता असहज प्रश्नहरू हुन्, जुन आज पर्यन्त सोधिएका छैनन्।

सिकाइका अनेक आयाम

पुस्तकको अन्तिम अध्याय ‘लर्निङ (एन्ड अनलर्निङ) न्युट्रिसन एन्ड द वे फरवार्ड’ शीर्षकमा छ । यो अध्यायमा भारतमा आहार विविधताको अभावलाई पोषण क्षेत्रको सबैभन्दा ठुलो कमजोरीको रूपमा देखाइएको छ । एउटा स्वस्थ आहारमा उपयुक्त मात्रामा दूधजन्य पदार्थ, अण्डा, मासु, कुखुरा, माछा, तरकारी, गेडागुडी, दाल र चिल्लो पदार्थका साथै अन्न र कोदो हुनुपर्छ । यो अध्यायले हालका खाद्य अभ्यासहरू जात र पूर्वाग्रहका कारण कतिसम्म प्रभावित छन् भन्ने ठम्याउनुपर्ने कुरामा जोड दिन्छ । साथै, मानिसहरू शाकाहारी मात्रै नभएर सर्वभक्षी भएकाले उनीहरूलाई सन्तुलित आहार चाहिने उल्लेख गर्छ ।  पौष्टिक खाना सहज, सुलभ र सस्तो बनाउनुपर्नेमा जोड दिन्छ।

यो सन्दर्भमा ‘अन-लर्न गर्नु’ भनेको हामीले विगतदेखि/पुस्तौँदेखि बोक्दै आएका धारणाहरू अझ विशेष गरी शाकाहारको बारेमा प्रश्न उठाउनु हो। यसको अर्थ भारतलाई प्राकृतिक रूपमा शाकाहारी मान्ने धारणालाई चुनौती दिनु, धार्मिक प्रेस्क्रिप्शनहरूलाई पोषण विज्ञानबाट अलग गर्नु र आर्थिक पहुँच बिना आहार छनौटको ठुलो अर्थ हुँदैन भन्ने कुरा स्वीकार गर्नु हो। जसरी औद्योगिक मासु उत्पादनबारे पर्यावरणीय एवम् र नैतिक चासो र चिन्ताहरू महत्त्वपूर्ण छन्; उसैगरी नै गरिबी, घरभित्रको असमानता, मातृपोषण, सरसफाइ, जनस्वास्थ्य, खाद्यमूल्य र विविध आहारहरूमा पहुँच पनि कम महत्त्वपूर्ण छैनन् ।

विज्ञानले पक्कै पनि मान्छेको पोषण आवश्यकता तथा विभिन्न खानाहरूले प्रदान गर्ने पोषक तत्त्वहरूबारे तोकेर भन्न सक्छ । तर यसले भारत जस्तो सांस्कृतिक, पारिस्थितिक र आर्थिक रूपमा विविध देशको लागि सबैलाई ठिक हुने एकै खालको आहार तोक्न बिलकुल सक्दैन।

पुस्तकले हामीले के खाने भन्ने कुराको निर्णय कसले गर्छ भन्नेबारे गम्भीरतासाथ प्रश्न उठाउँछ। त्यस्तो निर्णय परिवार, जाति, धर्म, राज्य, पोषणविद्, निगम वा कसैको खल्तीमा रहेको क्रयशक्तिले गर्छ ? विशेषाधिकार प्राप्त व्यक्तिहरूले आफ्नो प्राथमिकतालाई जीवनशैलीमै परिणत गर्ने तागत राख्छन् ।

अन्त्यमा,

करपागमको यो पुस्तकले शरीर विज्ञान र सूक्ष्म पोषक तत्त्वहरूदेखि जाति, हिन्दुत्व, विद्यालयको खाना, सार्वजनिक नीति र कर्पोरेट पूँजीवादसम्मको फराकिलो फलकमा हेरेको छ । यसले आफ्नो तर्कहरू सिद्ध गर्न पर्याप्त तथ्याङ्क र विद्वत्तापूर्ण निष्कर्षहरूलाई स्पष्ट तरिकाले प्रस्तुत गरेको छ । ती तथ्याङ्क र प्रमाणले भारतमा अहिले चलिरहेका खालका राजनीतिक बहसमा यसको मूल्य बढाउँछन्।

तथापि, ठाउँ-ठाउँमा अलि बढी विश्लेषणात्मक गहिराइ खोज्न सकिने ठाउँहरू पक्कै पनि छन् । उदाहरणका लागि ‘शाकाहार’ ले धार्मिक, जातमा आधारित, नैतिक, स्वास्थ्य सम्बन्धी एवम् आर्थिक रूपमा बाध्यकारी अभ्यासहरू समेटेको हुन्छ । जुन एउटै प्रवर्ग होइनन्। त्यस्तै गरी ‘मासु’ परम्परागत र स्थानीय रूपमा उत्पादित पशु खानादेखि पारिस्थितिक रूपमा हानिकारक औद्योगिक उत्पादनसम्म पर्दछ ।  पशु-स्रोत खानाको पोषण मूल्यको रक्षा गर्दा मासु उत्पादनको हरेक रूपलाई समर्थन गर्नु पर्छ भन्ने बिलकुलै छैन।

पुस्तकमा कर्पोरेट आयामलाई अझै विस्तृत बनाएर प्रस्तुत गर्न सकिन्थ्यो । जस्तो: जात र धर्मले खानालाई शुद्धता तथा पहिचानमा लगेर जोड्छन् । तर पुँजीले भने किफायती, विज्ञापन, प्रशोधन र बजारको केन्द्रिकरण मार्फत यसको स्वरूपलाई बढ्दो रूपमा तय गर्छ । ती दुवैले मान्छेको अर्थपूर्ण आहार छनोटमा बाधा पुर्‍याउँछन्। यी पुस्तकका कमजोरीहरू भने होइनन् । बरु पुस्तकले व्यापक विषय समेट्न खोज्दा स्वाभाविक रूपमा छुट्न गएका पक्षहरू मात्रै हुन ।

समग्रमा पुस्तकले हामीले के खाने भन्ने कुराको निर्णय कसले गर्छ भन्नेबारे गम्भीरतासाथ प्रश्न उठाउँछ। त्यस्तो निर्णय परिवार, जाति, धर्म, राज्य, पोषणविद्, निगम वा कसैको खल्तीमा रहेको क्रयशक्तिले गर्छ ? विशेषाधिकार प्राप्त व्यक्तिहरूले आफ्नो प्राथमिकतालाई जीवनशैलीमै परिणत गर्ने तागत राख्छन् । तर  गरिबहरू भने आफूले जे किन्न सक्छन्, त्यही खानुपर्ने बाध्यतामा हुन्छन् । प्रभुत्वशाली समुदायहरू आफ्ना प्राथमिकतालाई सांस्कृतिक मान्यताको रूपमा स्थापित गर्न सक्छन् । तर सीमान्तकृत समुदायहरू भने आफ्नो खानालाई बहिष्कृत एवम् कलङ्कित रूपमा हेरिएको पाउन सक्छन्। यस्तोमा कर्पोरेटहरू त झन् मान्छेका चाहना नै निर्माण गर्ने ल्याकत राख्छन् । सरकार आफ्ना सार्वजनिक कार्यक्रमहरूले के-के उपलब्ध गराउन सक्छ भन्ने भनेर निर्धारण गर्न सक्छ ।

सरोकारवालाहरूले यी सबै मामिला राम्रोसँग ठम्याउन सक्नुपर्छ ।

(द वायरमा प्रकाशित यस समाग्रीलाई रोहित बास्तोलाले नेपालीमा अनुवाद गरेका हुन् ।)

सम्बन्धित खबर

सिफारिस