लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति प्रभावकारी बनाउन प्रधानमन्त्री बालेन्द्र शाहको जोड

दियोपोस्ट संवाददाता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध सरकारले अवलम्बन गरेको शून्य सहनशीलताको नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न कानुनी व्यवस्था, संस्थागत जवाफदेहिता र सामाजिक चेतना अभिवृद्धिमा जोड दिएका छन् ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हिंसाको रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीलाई कानुनी कारबाही सुनिश्चित गर्नुपर्ने बताएका हुन् ।

उनले लैङ्गिक हिंसालाई मानव अधिकारको गम्भीर उल्लङ्घन तथा समतामूलक समाज निर्माणको प्रमुख चुनौतीका रूपमा चित्रण गरेका छन् । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाबाट बढी प्रभावित हुने गरेको उल्लेख गर्दै उनले डिजिटल माध्यमबाट हुने हिंसा पनि पछिल्लो समय थप चुनौतीका रूपमा देखिएको बताएका छन् ।

प्रधानमन्त्री शाहका अनुसार सरकारले लैङ्गिक हिंसाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै कानुनी तथा संस्थागत व्यवस्था सुदृढीकरण, महिलाको सशक्तीकरण, बालिका शिक्षाको प्रवर्द्धन तथा पीडितको संरक्षण र पुनःस्थापनालाई प्राथमिकता दिएको छ ।

यी प्रयासलाई प्रभावकारी बनाउन कानुनको कार्यान्वयनसँगै सामाजिक चेतना, संस्थागत जवाफदेहिता र तीनै तहका सरकारबीच समन्वय तथा सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ ।

यसै वर्ष भदौमा भोटेकोशी क्षेत्रमा गएको बाढीको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपद्का समयमा लैङ्गिक हिंसाको जोखिम बढ्न सक्ने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने बताएका छन् ।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान नेपालमा पनि बुधबारदेखि विभिन्न कार्यक्रमसहित सुरु भएको छ ।

संयुक्त राष्ट्रसङ्घले यस वर्ष ‘महिला तथा बालिकाविरुद्धको हिंसा अन्त्य गर्न एकजुट होऔँ: न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ अभियान सञ्चालन गर्न आह्वान गरेको छ । नेपालमा भने ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारासहित अभियान सञ्चालन भइरहेको छ ।

अभियानलाई सफल बनाउन प्रधानमन्त्री शाहले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम, राजनीतिक दल, अभियन्ता र आम नागरिकलाई सक्रिय सहभागिता तथा ऐक्यबद्धताका लागि आग्रह गरेका छन् ।

सम्बन्धित खबर

सिफारिस