
काठमाडौँ । आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस । विश्वभर महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य, पीडितलाई न्याय र सुरक्षाको सुनिश्चितता तथा लैङ्गिक समानताका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै छ ।
यस वर्ष संयुक्त राष्ट्रसङ्घले दिवस तथा १६ दिने अभियानका लागि ‘न्याय सुनिश्चित गरौँ, पीडितलाई संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ’ भन्ने सन्देश अघि सारेको छ । अभियानले हिंसापीडित महिलाको न्यायमा पहुँच, सुरक्षित उजुरी प्रणाली, प्रभावकारी कानुन कार्यान्वयन र दोषीलाई जवाफदेही बनाउने विषयलाई प्राथमिकता दिएको छ ।
यसैबीच, विश्वभर प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या हुने गरेको तथ्य सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) र संयुक्त राष्ट्रसङ्घीय महिला निकाय (यूएन वुमन) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर करिब ५० हजार महिला तथा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको थियो। यो सङ्ख्या दैनिक औसत १३७ हो ।
प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर ८३ हजार महिला तथा बालिकाको जानाजानी हत्या गरिएको थियो । तीमध्ये करिब ६० प्रतिशतको हत्या आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट भएको थियो । यसको विपरीत, पुरुषको हत्यामा घनिष्ठ साथी वा परिवारका सदस्यको संलग्नता करिब ११ प्रतिशत मात्रै रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले महिलामाथि हुने हत्यालाई प्रायः आकस्मिक घटनाका रूपमा मात्र बुझ्न नहुने औँल्याएको छ । घरेलु हिंसा, लामो समयदेखिको दुर्व्यवहार, धम्की, जबर्जस्ती नियन्त्रण र असमान शक्ति सम्बन्धले यस्ता घटनाको जोखिम बढाउने गरेको छ । साइबर निगरानी, अनलाइन दुर्व्यवहार, धम्की र निजी तस्बिरको दुरुपयोगजस्ता प्रविधिमा आधारित हिंसाले समेत वास्तविक जीवनमा हुने हिंसालाई थप गम्भीर बनाउन सक्ने प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा पनि हिंसाको अवस्था चिन्ताजनक
महिला तथा बालिकामाथि हुने हिंसाको समस्या नेपालमा पनि गम्भीर चुनौतीका रूपमा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र न्यू एराले सार्वजनिक गरेको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले १५ वर्षको उमेरपछि कुनै न कुनै समयमा शारीरिक हिंसा भोगेका छन् । त्यस्तै, आठ प्रतिशत महिलाले आफ्नो जीवनकालमा यौन हिंसा भोगेको सर्वेक्षणले देखाएको छ ।
सर्वेक्षणअनुसार श्रीमान् वा घनिष्ठ साथी भएका महिलामध्ये २७ प्रतिशतले उनीहरूबाट शारीरिक, यौन वा भावनात्मक हिंसा भोगेका छन् । अझ चिन्ताजनक पक्ष के छ भने शारीरिक वा यौन हिंसा भोगेका महिलामध्ये ५८ प्रतिशतले हिंसा रोक्न सहयोग मागेका छैनन् र आफ्नो अनुभव अरूलाई समेत सुनाएका छैनन् ।
नेपालमा घरेलु हिंसा, बलात्कार, यौन दुर्व्यवहार, मानव बेचबिखन, बालविवाह, दाइजो प्रथा, बोक्सीको आरोप, छाउपडी र अनलाइन दुर्व्यवहारलगायतका समस्या अझै विद्यमान छन् । सामाजिक प्रतिष्ठा गुम्ने डर, आर्थिक परनिर्भरता, पारिवारिक दबाब, सामाजिक विभेद र न्यायिक प्रक्रियाप्रतिको अविश्वासका कारण धेरै पीडितले आफूमाथि भएको हिंसाबारे उजुरी गर्न नसकेको विभिन्न अध्ययनले देखाएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय महिला निकायसँग सम्बन्धित सन् २०२६ मा प्रकाशित एक मूल्याङ्कन प्रतिवेदनमा नेपाल प्रहरीमा आर्थिक वर्ष २०८१र८२ मा लैङ्गिक हिंसाका २१ हजार ६६७ घटना दर्ता भएको उल्लेख छ । तीमध्ये ८१ प्रतिशत घटना घरेलु हिंसासँग सम्बन्धित रहेको प्रतिवेदनमा उल्लेख छ। यस्ता तथ्याङ्कले हिंसा घरभित्रै पनि व्यापक रूपमा रहेको देखाउँछन् ।
कानुनी व्यवस्था र कार्यान्वयनको चुनौती
महिला हिंसा अन्त्यका लागि नेपालले संवैधानिक, कानुनी तथा नीतिगत व्यवस्था गरेको छ । नेपालको संविधानले महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक तथा अन्य कुनै पनि आधारमा हुने हिंसा र शोषणलाई निषेध गरेको छ । संविधानले महिलालाई समानताको हक, प्रजनन स्वास्थ्यसम्बन्धी हक तथा हिंसाविरुद्ध संरक्षणको अधिकार सुनिश्चित गरेको छ ।
त्यसैगरी, घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ तथा मुलुकी अपराध संहितालगायतका कानुनले महिला तथा बालिकामाथि हुने विभिन्न प्रकारका हिंसा र शोषणलाई सम्बोधन गरेका छन् ।
तर कानुन बने पनि यसको प्रभावकारी कार्यान्वयन, पीडितमैत्री न्यायिक प्रक्रिया, पर्याप्त संरक्षण गृह, निःशुल्क कानुनी सहायता र मनोसामाजिक परामर्शको पहुँच अझै चुनौतीपूर्ण रहेको छ । हिंसाका घटनामा पीडितलाई नै दोष दिने प्रवृत्ति, मिलापत्रका लागि दबाब दिने व्यवहार र दोषीलाई उन्मुक्ति दिने अवस्थाले न्याय प्राप्तिको प्रक्रियालाई थप जटिल बनाउने गरेको छ ।
राष्ट्रिय महिला आयोगले लैङ्गिक हिंसामा परेका महिला तथा बालिकाका लागि २४ सै घण्टा सञ्चालन हुने निःशुल्क हेल्पलाइन सेवा ११४५ उपलब्ध गराउँदै आएको छ । उक्त सेवामार्फत पीडित वा घटनाबारे जानकारी भएको अन्य व्यक्तिले समेत उजुरी गर्न सक्ने व्यवस्था छ । हेल्पलाइनबाट परामर्श, कानुनी सहायता, सुरक्षित आवास, मनोसामाजिक परामर्श तथा स्वास्थ्य सेवाका लागि समन्वय र सहयोग उपलब्ध गराइन्छ ।
मिराबल दिदीबहिनीको स्मृतिमा दिवस
महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाउनुको ऐतिहासिक पृष्ठभूमि पनि छ । सन् १९६० नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका तत्कालीन तानाशाह राफेल त्रुजिलोको शासनविरुद्ध राजनीतिक गतिविधिमा संलग्न मिराबल दिदीबहिनी प्याट्रिया, मिनर्भा र मारिया टेरेसाको हत्या गरिएको थियो ।
उनीहरूको हत्याको स्मरण गर्दै सन् १९८१ देखि महिला अधिकारकर्मीले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउन थालेका हुन् । पछि संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९९ डिसेम्बर १७ मा प्रस्ताव पारित गरी यस दिनलाई महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा औपचारिक मान्यता दिएको थियो ।
यसअघि संयुक्त राष्ट्रसङ्घले सन् १९७९ मा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि (सीईडीएडब्ल्यू) पारित गरेको थियो । त्यस्तै, सन् १९९३ मा महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र जारी गरिएको थियो । यी अन्तर्राष्ट्रिय दस्ताबेजले महिलाको समानता, स्वतन्त्रता, सुरक्षा र सम्मानको अधिकारलाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
आजदेखि १६ दिने अभियान
महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसकै अवसरमा आजदेखि डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानव अधिकार दिवससम्म १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान पनि सुरु हुँदै छ । सन् १९९१ देखि विश्वव्यापी रूपमा सञ्चालन हुँदै आएको यस अभियानले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्न सरकार, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम र समुदायको सामूहिक भूमिका आवश्यक रहेको सन्देश प्रवाह गर्दै आएको छ ।
यस वर्षको अभियानले हिंसापीडितको आवाज सुन्ने, उनीहरूको अनुभवलाई विश्वास गर्ने र न्यायका लागि आवाज उठाउने विषयलाई विशेष महत्त्व दिएको छ । अभियानको मुख्य सन्देश ‘बोलौँ, पीडितलाई विश्वास गरौँ र न्यायको माग गरौँ’ रहेको छ ।
संयुक्त राष्ट्रसङ्घले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि कानुन निर्माण मात्र पर्याप्त नहुने भन्दै प्रभावकारी कार्यान्वयन, न्यायमा सहज पहुँच, पीडितको सुरक्षा र सामाजिक सोचमा परिवर्तन आवश्यक रहेको जनाएको छ ।
महिला हिंसा कुनै एक व्यक्ति, परिवार वा समुदायको मात्र समस्या नभई समग्र समाज र मानव अधिकारसँग जोडिएको विषय हो । त्यसैले हिंसाका घटना लुकाउने वा सहेर बस्ने प्रवृत्तिको अन्त्य गर्दै पीडितलाई संरक्षण, दोषीलाई कानुनी कारबाही र हिंसा हुन नदिने सामाजिक वातावरण निर्माण गर्नु आजको प्रमुख आवश्यकता बनेको छ ।