
काठमाडौँ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारमाथि भइरहेको धरपकडको विरोधमा देशभरका पत्रकारहरू आज आन्दोलनमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रमअनुसार देशभरका जिल्ला शाखाहरूले ‘पत्रकारलाई पटक-पटक होइन, एकैपटक सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम आयोजना गरेका हुन् ।
आन्दोलनका क्रममा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरसहित देशका विभिन्न जिल्लामा पत्रकारहरूले प्रदर्शन गरिरहेका छन् । काठमाडौँमा माइतीघर, ललितपुर जिल्ला प्रशासन कार्यालय र भक्तपुर जिल्ला प्रशासन कार्यालयअगाडि पत्रकारहरूले धर्ना दिएका छन् ।
त्यसैगरी, मधेश प्रदेशको धनुषामा नेपाल पत्रकार महासंघ जिल्ला शाखाको अगुवाइमा विरोध कार्यक्रम गरिएको छ । कोशी प्रदेशको झापामा भद्रपुर र दमक गरी दुई स्थानमा पत्रकारहरू आन्दोलनमा उत्रिएका छन् । गण्डकी प्रदेशको कास्कीमा पनि जिल्ला प्रशासन कार्यालयअगाडि पत्रकारहरूले धर्ना दिएका छन् ।
नेपाल पत्रकार महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड तथा पक्राउ गर्ने घटनाप्रति आपत्ति जनाउँदै आन्दोलन घोषणा गरेको हो । समाचारको स्रोत खोज्ने नाममा सञ्चारगृहमा प्रवेश गर्ने र पत्रकारलाई पक्राउ गर्ने कार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठाएको महासंघको भनाइ छ ।
महासंघले प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउने प्रयास भएको, सञ्चारमाध्यमका कार्यालयअगाडि अनधिकृत रूपमा गाडी तेर्स्याउनेमाथि कारबाही नभएको तथा सरकारी र निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको विषयलाई पनि आन्दोलनको मुख्य मुद्दा बनाएको छ ।
त्यस्तै, पत्रकारहरूको श्रम अधिकार उल्लंघन, लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको तथा सञ्चारमाध्यमप्रति सरकारले अनुदार व्यवहार देखाएको भन्दै महासंघले असन्तुष्टि जनाएको छ ।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी आन्दोलनसम्बन्धी विज्ञप्तिअनुसार महासंघले मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको थियो । मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरूलाई ध्यानाकर्षणपत्र पठाउने, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सँग छलफल गर्ने तथा मंसिर ७ गते जिल्ला शाखाहरूले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्ने कार्यक्रमसमेत सम्पन्न गरेको थियो ।
सोही चरणबद्ध आन्दोलनको अन्तिम घोषित कार्यक्रमअन्तर्गत आज देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा विरोध प्रदर्शन गरिएको हो ।
महासंघले पत्रकारलाई निर्भयतापूर्वक समाचार संकलन, लेखन, प्रकाशन तथा प्रसारण गर्ने वातावरण सुनिश्चित गर्न, पत्रकारमाथिको धरपकड रोक्न, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बन्द गर्न र पत्रकारको पेसागत तथा श्रम अधिकारको संरक्षण गर्न सरकारसँग माग गरेको छ ।
घोषित आन्दोलनका कार्यक्रमबाट पनि माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने महासंघले चेतावनी दिएको छ ।






