गोरखामा बस र ट्रक ठोक्किँदा चालकसहित १७ जना घाइते

दियोपोस्ट संवाददाता

गोरखा । गोरखाको आँबुखैरेनी सडकखण्डअन्तर्गत गोरखा नगरपालिका-१३, पाँचकिलोमा बस र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् ।

बुधबार बिहान करिब ११ बजे गोरखाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६५९ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३-००२ ख २६१५ नम्बरको ट्रक एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा १४ जनाको अवस्था मध्यम र तीन जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार घाइते सबैलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

घाइते हुनेमा बसचालक पोखरा महानगरपालिका-३२ का ४० वर्षीय डोलबहादुर विक, ट्रकचालक चितवनको भरतपुर महानगरपालिका-२९, जुगेडीका ३२ वर्षीय शमिर गुरुङ र ट्रकका सहचालक ३० वर्षीय निशान गुरुङ रहेका छन् ।

त्यसैगरी गोरखा नगरपालिका-१, नयाँबजारका ३३ वर्षीय धनराज सुनार र आठ वर्षीय विजय सुनार, वडा नं. १२ की ३१ वर्षीया सुजता कुमाल र सात वर्षीया सिया कुमाल, वडा नं. ९, नयाँबजारकी २४ वर्षीया सुस्मिता सुनार तथा वडा नं. ६ की २६ वर्षीया तिजमाया घले, ६० वर्षीया कान्छी घले, ५० वर्षीय सेते गुरुङ, ६० वर्षीया सेसरी गुरुङ र चार वर्षीय साहिन खत्री घाइते भएका छन् ।

अन्य घाइतेमा तनहुँको भानु नगरपालिका-२, आँबोटेका ७७ वर्षीय तीर्थराज ढकाल, गोरखाको सिरानचोक गाउँपालिकाकी ४० वर्षीया मिनु गुरुङ तथा धार्चे गाउँपालिका-६ का ३२ वर्षीय सुनिल घले र चार वर्षीय इरोस घले रहेका छन् ।

दुर्घटनापछि केही समय गोरखा-आँबुखैरेनी सडकखण्डमा दुईतर्फी यातायात अवरुद्ध भएको थियो । दुर्घटनाग्रस्त सवारीसाधन हटाउने तथा सडक खुलाउने प्रयासपछि हाल एकतर्फी रूपमा यातायात सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

दुर्घटना कसरी भयो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस