
चितवन । नागढुंगा-मुग्लिन सडक खण्डअन्तर्गत घोप्टेभीरको जोखिमपूर्ण पहिरो हटाउने काम सम्पन्न गर्न थप तीन दिन लाग्ने भएको छ । नागढुंगा-मुग्लिन सडक आयोजना अनुसार भौगोलिक अवस्था अप्ठेरो भएकाले पहिरो हटाउने काममा समय लागेको हो ।
गत शनिबारदेखि दैनिक पाँच घण्टा सडक बन्द गरेर जोखिमपूर्ण पहिरो हटाउने काम भइरहेको छ । थप समस्या नआए आगामी तीन दिनभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ ।
पहिरो हटाउन माथिबाट स्काभेटर प्रयोग गरी जोखिमपूर्ण चट्टान तथा माटो झार्ने र तलबाट सडक सफा गर्ने काम भइरहेको छ । कामका लागि हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सवारी आवागमन रोकिने गरेको छ ।
आयोजनाका अनुसार सडकबाट करिब १०० मिटर माथि रहेको डाँडामा मेसिन पुर्याएर पहिरो काट्ने काम भइरहेको छ । काम निकै जोखिमपूर्ण भएकाले अपेक्षाअनुसार प्रगति हुन नसकेको जनाएको छ ।
मंगलबार माथिल्लो ढिस्को खस्दा एक्साभेटर पुरिएको थियो । पहिरो पन्छाएर पुनः स्काभेटरमार्फत काम सुरु गरिएको जनाइएको छ ।
यसैबीच, सडक बन्द हुने समयमा चुम्लिङटार र कुरिनटारबीच पर्ने डाहाकी खोलामा सडक चौडा गर्ने काम पनि भइरहेको छ । उक्त क्षेत्रमा करिब १०० मिटर लम्बाइमा सडक दुई मिटर चौडा बनाउनुपर्ने भएकाले दुईवटा स्काभेटर र एउटा लोडर प्रयोग गरी भित्तो काट्ने काम भइरहेको छ ।