
प्रीय जीवन साथी !
आज पनि म त्यहीँ ठाउँमा छु, जहाँ तपाईले छोडेर जानु भएको थियो ।
तपाई हामीबाट बिदा हुनुभएको आज छ वर्ष बितिसकेछ । समयले छ वर्षको लामो यात्रा तय गरेछ, तर मेरो मनले अझै पनि हजुरको अनुपस्थितिलाई पूर्ण रूपमा स्वीकार गर्न सकेको छैन ।
क्यालेन्डरका पानाहरू फेरिए ! दिन, महिना र वर्षहरू बिते ! छोराछोरी हुर्किंदै गए ! जीवनका अनेकौँ उतारचढावहरू आए ! तर तपाईले छोडेर जानुभएको खाली ठाउँ आज पनि उस्तै छ । तपाईसँग बिताएका ती दिन, सँगै देखेका सपना, गरेका सङ्घर्ष र भविष्यका योजनाहरू सम्झिँदा कहिलेकाहीँ लाग्छ-हजुर कतै टाढा हुनुहुन्छ, एक दिन फेरि फर्केर आउनुहुनेछ ।
तर वास्तविकता यही हो, तपाई अब फर्किनुहुन्न । अनि मैले तपाईको सम्झनालाई मुटुमा राखेर, हजुरकै सपनाहरूलाई आफ्नो जीवनको उद्देश्य बनाएर अघि बढ्न सिक्नुपरेको छ ।
तपाई केवल मेरो जीवनसाथी मात्र हुनुहुन्नथ्यो, एउटा विचार, एउटा सपना र परिवर्तनप्रतिको दृढ प्रतिबद्धताको नाम पनि हुनुहुन्थ्यो । नेकपा माओवादीले सुरु गरेको आन्दोलनको सुरुवाती चरणदेखि नै जनयुद्ध र राजनीतिक परिवर्तनको अभियानमा आफूलाई समर्पित गर्नुभयो । पार्टी संगठन निर्माणदेखि रूपन्देही जिल्ला इन्चार्ज र पछि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हाल्नुभयो ।
राजनीतिक यात्रामा तपाईले कति जोखिम उठाउनुभयो, कति दुःख सहनुभयो र कति कठिन परिस्थितिको सामना गर्नुभयो भन्ने कुरा म नजिकबाट देखेँ र अनुभूति गरेँ । तत्कालीन राज्यसत्ताको निशानामा पर्नुभयो, हजुरको टाउकोको मूल्यसमेत तोकियो । आफ्नो जीवनको सुरक्षाभन्दा विचार र परिवर्तनको सपनालाई ठूलो ठान्नुभयो ।
हजुरको त्यो साहस र प्रतिबद्धताप्रति मलाई सधैँ गर्व छ । तर एउटा श्रीमतीको मनले कहिलेकाहीँ सोच्थ्यो-राजनीति र परिवर्तनका लागि यति धेरै समर्पित मेरो मान्छेले परिवारसँग पनि अलिकति बढी समय बिताउन पाएको भए? सँगै बसेर सुखदुःख बाँड्न पाएको भए? छोराछोरीसँग खेल्दै, उनीहरूको बाल्यकालका साना खुसीहरूमा रमाउन पाएको भए?
तपाईको राजनीतिक यात्रामा परिवारले पनि धेरै असुरक्षा, डर, चिन्ता र अनिश्चितता भोग्यो । तर हजुरको विचारप्रतिको निष्ठा र उद्देश्यप्रतिको समर्पणलाई मैले सधैँ सम्मान गरेँ ।
तपाई जीवित रहँदा पनि जीवन त कहाँ सहज थियो र? अनेकौँ राजनीतिक उतारचढाब, राज्यको दमन, पारिवारिक चिन्ता र अनेकौँ अभावबीच हामीले जीवन बितायौँ । तर हजुर साथमा हुनुहुन्थ्यो । त्यसैले पनि ति कुरा सहज लाग्थे ।
दुःख पर्दा मन खोल्ने आधार हुनुहुन्थ्यो । भविष्यको चिन्ता हुँदा सँगै बसेर सपना देख्ने सहयात्री हुनुहुन्थ्यो । कठिनाइका बीच पनि हजुरको उपस्थितिले एउटा भरोसा दिन्थ्यो ।
तर हजुर गएपछि मेरो संसार नै बदलियो ।
तपाईको निधनपछि मैले जीवनसाथी मात्र गुमाइनँ, मैले आफ्नो भरोसा, आफ्नो सहारा, आफ्नो सुखदुःखको साथी र जीवनका कठिन मोडमा हात समातेर हिँड्ने मान्छे पनि गुमाएँ । हिजोसम्म सँगै बाँडिएका जिम्मेवारीहरू एकाएक मेरा एक्ला जिम्मेवारी बने ।
तपाईको राजनीतिक जीवनसँग जोडिएका सम्बन्ध, सहकार्य र सहयोगको निरन्तरतामा पनि चुनौतीहरू देखिए । जुन समाज र राजनीतिक यात्राका लागि हजुरले आफ्नो जीवन समर्पित गर्नुभयो, त्यही यात्रासँग जोडिएको परिवारले हजुरको अनुपस्थितिमा अनेकौँ सामाजिक, राजनीतिक र व्यवहारिक कठिनाइ सामना गर्नुपर्यो ।
परिवर्तनका लागि जीवन समर्पण गर्ने तपाईको अनुपस्थितिमा हामीले धेरै एक्लोपन र असहजता भोग्नु पर्यो । हजुरको योगदान सम्झिनेहरू धेरै भेटिए, तर हजुरले छोडेर जानुभएको परिवारको दुःख बुझिदिने र कठिन समयमा साथ दिनेहरू कम भेटिए ।
मलाई कसैसँग गुनासो छैन । तर एउटा अपेक्षा छ-राजनीतिक परिवर्तनका लागि जीवन समर्पण गर्नेहरूको योगदानको सम्मान उनीहरूको जीवनकालमा मात्र होइन, उनीहरूको अनुपस्थितिमा परिवारले भोगिरहेको सङ्घर्षलाई बुझेर गरियोस् ।
तपाईले संसार छोड्दा हाम्रा छोराछोरी सानै थिए । उनीहरूको बालमनले बाबु खोज्थे । उनीहरूलाई बाबुको काख चाहिएको थियो, बाबुको हात समातेर हिँड्नुपर्ने थियो, साना-साना खुसीमा बाबुसँग रमाउनुपर्ने थियो । उनीहरूको पढाइ, भविष्य, सपना र जीवनका हरेक मोडमा तपाईको साथ र मार्गदर्शन आवश्यक थियो ।
तर नियतिले त्यो अवसर हामीबाट खोस्यो ।
तपाईको अनुपस्थितिमा मैले आफैँलाई सम्हाल्न नसकेका बेला मैले उनीहरूलाई सम्हाल्नुपर्यो । उनीहरूका अगाडि आँसु लुकाएर मुस्कुराउनुपर्यो । आफू भित्रभित्रै टुट्दा पनि उनीहरूलाई कमजोर हुन दिइन । आमा र बुवा दुबैको माया दिएँ । बाबु भएर अनुशासन सिकाएँ । उनीहरूको शिक्षा, स्वास्थ्य, संस्कार र भविष्यका लागि दिनरात सङ्घर्ष गरिरहेँ ।
कतिपय रातहरू यस्ता थिए, जहाँ निद्राभन्दा चिन्ताले बढी सताउँथ्यो । भोलिको जिम्मेवारी सम्झेर मन भारी हुन्थ्यो । छोराछोरीको भविष्य सम्झेर अनेकौँ प्रश्नहरू मनमा उब्जिन्थे । तर उनीहरूको अनुहार हेरेपछि फेरि हिम्मत जुट्थ्यो ।
आफ्ना रहरहरूलाई थाती राखेर व्यक्तिगत चाहनाहरूलाई पछाडि पारेँ । उनीहरूको खुसी नै मेरो खुसी बन्यो, उनीहरूको सपना नै मेरो सपना बन्यो । जीवनले जति नै कठिन परीक्षा लिए पनि उनीहरूलाई अभावको अनुभूति हुन दिइन । बाबुको अनुपस्थितिले उनीहरूको भविष्य अँध्यारो नबनोस् भन्ने मेरो निरन्तर प्रयास रह्यो ।
आज उनीहरू हुर्किंदै छन् । उनीहरूको अनुहार, बोली, हाउभाउ र कतिपय बानीमा तपाईको झल्को देख्छु । कहिलेकाहीँ उनीहरूलाई हेर्दाहेर्दै आँखाबाट आँसु खसेको पत्तै हुँदैन । लाग्छ, तपाई नै उनीहरूभित्र कतै जीवित हुनुहुन्छ ।
उनीहरूको सानो सानो सफलताले मेरो मन गर्वले भरिन्छ, तर त्यही क्षण तपाईको सम्झनाले मुटु चसक्क दुखाउँछ । उनीहरूले कुनै राम्रो काम गर्दा तपाईलाई सुनाउन पाए हुन्थ्यो, उनीहरूको खुसीमा तपाई पनि सँगै हाँस्न पाउनुभएको भए हामी कति रमाउँथ्यौ भन्ने लाग्छ । तर, त्यो कुरा मेरो जीवनबाट धेरै टाढा गइसकेको छ ।
तपाईले देख्नुभएको सपना र उनीहरूका लागि सोच्नुभएको भविष्य सम्झाउँदै म उनीहरूलाई असल, इमानदार, सक्षम र आत्मनिर्भर मानिस बन्न प्रेरित गरिरहेकी छु । तपाईले दिन नसक्नुभएको बाबुको भौतिक साथ त म दिन सक्दिनँ, तर हजुरको माया, विचार, संस्कार र योगदानको कथा उनीहरूको जीवनमा सधैँ जीवित राख्नेछु ।
तपाईले जीवनभर अँगाल्नुभएको विचार, राजनीतिक निष्ठा र परिवर्तनको सपना मेरा लागि केवल सम्झनाका विषय होइनन्, ती जिम्मेवारी पनि हुन् । तपाईले समाजमा देख्न चाहनुभएको न्याय, समानता र परिवर्तनको सपना नयाँ पुस्तासम्म पुर्याउनु आवश्यक छ भन्ने मलाई लाग्छ ।
राजनीतिक आन्दोलनमा योगदान गर्ने व्यक्तिहरूको परिवारलाई उनीहरूको अनुपस्थितिपछि बिर्सिनु हुँदैन । उनीहरूका छोराछोरीको शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक सुरक्षाका विषयमा राज्य, राजनीतिक दल र समाजले जिम्मेवारी लिनुपर्छ । श्रद्धाञ्जलीका शब्द र औपचारिक सम्मानले मात्र परिवारको जीवन सहज हुँदैन । कठिन समयमा दिइने व्यवहारिक साथ, सहयोग र संरक्षण नै वास्तविक सम्मान हो ।
म चाहन्छु, तपाईजस्तै आफ्नो जीवन परिवर्तनको सपना बोकेर समर्पण गर्ने व्यक्तिहरूका परिवारले भविष्यमा यस्तो एक्लोपन र असुरक्षाको सामना गर्न नपरोस् ।
तपाई भौतिक रुपमा हामीबाट टाढा भएको ६ वर्ष बिते पनि तपाईसँग मन खोलेर कुरा गर्न मन लाग्ने क्षणहरू आज पनि उत्तिकै छन् । कुनै खुसीको खबर सुन्दा सबैभन्दा पहिले तपाईलाई सुनाउन मन लाग्छ । कुनै दुःख पर्दा तपाईको काँधमा टाउको राखेर केही बेर रुन मन लाग्छ । छोराछोरीको भविष्यबारे सोच्दा हजुरसँग सल्लाह गर्न मन लाग्छ । तर यी सबै चाहना अब सम्झनामा मात्र सीमित भएका छन् ।
म तपाईले छोडेर जानुभएको अधुरो यात्रालाई पूरा गर्ने प्रयासमा छु । थाक्छु, कहिलेकाहीँ कमजोर पनि हुन्छु, तर हार मानेकी छैन । किनकि मेरो पछाडि हजुरका सपना छन्, अगाडि हाम्रा छोराछोरीको भविष्य छ र मनभित्र तपाईले दिनुभएको माया र हौसला छ ।
मलाई थाहा छैन, तपाईले जहाँबाट हेरिरहनुभएको भए पनि मेरो यो सङ्घर्ष देख्नुभएको छ कि छैन । तर यति अवश्य भन्न चाहन्छु-तपाईको अनुपस्थितिमा मैले धेरै कुरा गुमाएँ, तर तपाईले दिनुभएको माया, सिकाउनुभएको जीवनदृष्टि र छोडेर जानुभएको विचार कहिल्यै गुमाउनेछैन ।
तपाईप्रति मेरो प्रेम र सम्मान कहिल्यै घट्ने छैन । छोराछोरीलाई असल मानिस बनाउनु, उनीहरूलाई तपाईको विचार र संस्कारसँग जोडिराख्नु र उनीहरूको उज्ज्वल भविष्य निर्माण गर्नु नै तपाईप्रतिको मेरो जीवनभरको समर्पण हुनेछ ।
तपाइ भौतिक रूपमा हामीमाझ हुनुहुन्न, तर हाम्रो हरेक खुसीमा, हरेक सङ्घर्षमा, छोराछोरीको हरेक सफलतामा र मेरो हरेक धड्कनमा तपाइ हुनुहुन्छ।
छ वर्षको यो लामो वियोगमा तपाइलाई सम्झेर आँखाहरू धेरैपटक रसाए, तर हजुरको सपना सम्झेर पाइला कहिल्यै रोकेकी छैन ।
भावपूर्ण श्रद्धाञ्जली ! मेरो प्रिय जीवनसाथी रामप्रसाद बन्जाडे (टंकमणि)
तपाइको अभाव कहिल्यै पूरा हुनेछैन, तर तपाइको विरासत म मर्न दिनेछैन ।