
काठमाडौँ । दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकमा पुनर्बहालीका लागि अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ । बुधबार सर्वोच्च अदालतले कार्कीको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा बुधबार सुनुवाइ हुँदा कार्कीलाई हटाउने सरकारको निर्णय बदर गरी अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको हो ।
कार्कीले आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकको पदबाट हटाएर सरकारको सुरक्षा सल्लाहकार बनाउने निर्णय बदर गरी पुनर्बहाली गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
तर सर्वोच्च अदालतको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै रिट जारी गर्नु पर्ने कि नपर्ने भन्ने सम्बन्धमा मुद्दाको अन्तिम किनारा लाग्दा नै निर्णय हुने भन्दै तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । त्यसको विरुद्धमा कार्की सर्वोच्च अदालत पुगेको भए पनि अदालतले कार्कीको विपक्षमा हुने गरी अन्तरिम आदेश दिन अस्वीकार गरिदिएको हो । यससँगै अब नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई जिम्मेवारी अनुसारको काम कारबाही अगाडि बढाउन सहज भएको छ ।
इजलासले जारी गरेको आदेशमा विपक्षीमध्येका डा. मनोजकुमार के.सी. नेपाल सरकारको मिति २०८३ कात्तिक १८ गतेको निर्णयानुसार प्रहरी महानिरीक्षक पदमा बढुवा भई सोही दिन नियुक्ति बुझेर कार्यभारसमेत सम्हालिसकेको मिसिलबाट देखिएको उल्लेख छ । देशको शान्ति सुरक्षा कायम गर्ने प्रहरी सङ्गठनको नेतृत्वसँग सम्बन्धित सार्वजनिक महत्त्वको संवेदनशील विषय भएको र रिट निवेदकले माग गरेको न्यायिक उपचार तथा उठाएका कानुनी प्रश्नहरू अन्तिम सुनुवाइकै बखत निरूपण र सम्बोधन हुने प्रकृतिको देखिएकोले सुविधा सन्तुलनको दृष्टिकोणबाट हाल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको अदालतले स्पष्ट पारेको छ ।
यद्यपि, राज्यको शान्ति सुरक्षा तथा प्रहरी सङ्गठनको नेतृत्व र नियन्त्रण प्रणाली (चेन अफ कमान्ड) सँग जोडिएको विषयवस्तुको महत्त्व, गम्भीरता र संवेदनशीलतालाई दृष्टिगत गर्दै अदालतले छिटो सुनुवाइ र निर्णय हुन वाञ्छनीय ठहर्याएको छ। सोहीबमोजिम प्रत्यर्थीहरूबाट लिखित जवाफ परेपछि वा जवाफ पेस गर्ने अवधि व्यतीत भएपछि ७ दिनभित्रै पेसी चढाई पेसी हटाउन नपाउने पूर्वसूचना दुवै पक्षलाई दिएर नियमानुसार पेस गर्न इजलासले आदेश दिएको छ।
नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाई कार्कीले दायर गरेको उत्प्रेषण (मुद्दा नं. ०८३-wo-०४९४) रिटमाथि अन्तरिम आदेश छलफलका लागि दुवै पक्षका कानुन व्यवसायीहरूले बहस गरेका थिए । निवेदक कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सतिसकृष्ण खरेल, पूर्णमान शाक्य, डा. दिनमणि पोखरेल, अमर थापा, ललितबहादुर बस्नेत र केदारप्रसाद कोइराला तथा अधिवक्ताहरू माधवकुमार बस्नेत, टिकाबहादुर कुँवर, सुजाता के.सी. र आभास रेग्मीले बहस गरेका थिए ।
त्यसैगरी, प्रत्यर्थी नेपाल सरकारका तर्फबाट महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेल, नायब महान्यायाधिवक्ताहरू लोकराज पराजुली, खेमराज ज्ञवाली र ध्रुवकुमार चौहान तथा सहन्यायाधिवक्ताहरू दिनेशप्रसाद घिमिरे र सोमकान्ता भण्डारीले बहस पैरवी गरेका थिए। यस्तै, डा. मनोजकुमार के.सी.का तर्फबाट वरिष्ठ अधिवक्ता तुलसी भट्ट तथा अधिवक्ताहरू डा. सुभाष आचार्य, अपूर्व खतिवडा र सञ्जीवराज रेग्मी र प्रहरी प्रधान कार्यालयका तर्फबाट अधिवक्ता करुणाकर मल्लिकले बहस गरेका थिए।