
काठमाडौँ । गत भदौमा नेपालमा आएको विनाशकारी भोटेकोशी बाढीपछि बेपत्ता भएका २१३ भारतीय नागरिकलाई मृत घोषणा गर्ने प्रक्रिया सुरु गरिएको छ ।
भारतीय दूतावासले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारले बेपत्ता भारतीय नागरिकलाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाएको जनाएको हो ।
दूतावासका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले बेपत्ता भारतीय नागरिकको सूची आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ । सूचीमा कुनै त्रुटि भएमा थपघट वा परिमार्जनका लागि डिसेम्बर २ सम्म आपत्ति तथा सुझाव दिन सकिने जनाएको छ ।
बेपत्ता व्यक्तिका परिवारले सूचीमा नाम, विवरण वा अन्य कुनै त्रुटि भएमा तोकिएको समयभित्र भारतीय दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
आपत्ति तथा परिमार्जन प्रक्रिया पूरा भएपछि नेपाल सरकारले सूचीलाई अन्तिम रूप दिई औपचारिक रूपमा मृत्यु घोषणा गर्नेछ । त्यसपछि भारतीय दूतावासले नेपालका स्थानीय अधिकारीबाट सम्बन्धित व्यक्तिहरूको मृत्यु प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ ।
यस प्रक्रियाका क्रममा बेपत्ता व्यक्तिका परिवारसँग थप विवरण तथा आवश्यक कागजात माग गर्न सकिने र आगामी दिनमा यसबारे थप जानकारी उपलब्ध गराइने दूतावासले जनाएको छ ।