
मोरङ । महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएकै दिन सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोले नेपाली समाजमा बालिका तथा महिलामाथि हुने हिंसाको भयावह अवस्थालाई पुनः उजागर गरेको छ । भिडियोमा काखमा शिशु च्यापेर स्तनपान गराइरहेकी एक किशोरीलाई उनका श्रीमानले कम्मरमा लगाउने पेटीले प्रहार गर्दै गालीगलौज गरेको देखिन्छ । किशोरीमाथि आफ्नै ससुरासँग यौन सम्बन्ध राखेको आरोप लगाउँदै श्रीमानले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि घटना चर्चामा आएको हो ।
मोरङको कानेपोखरी गाउँपालिका-६ की १४ वर्षीया किशोरीमाथि भएको भनिएको यो घटनाले एउटै परिवारभित्र बालविवाह, यौन हिंसा, शारीरिक तथा मानसिक यातना र बाल अधिकार उल्लङ्घनका गम्भीर सवाल उठाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत कात्तिक २९ गते राति किशोरीकै घरमा उनका ५५ वर्षीय ससुरा जयराम दर्जीले जबर्जस्ती करणी गरेको आरोप छ । घटनाको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरी मंसिर १ गते अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको थियो ।
कानुन अनुसार बालविवाह भएको भन्दैमा बालिकाले विवाहपछि आफ्नो बाल अधिकार गुमाउँदिनन् । विवाह भइसकेको वा बच्चा जन्माइसकेको कारणले उनी वयस्क महिला बन्दिनन् । १८ वर्ष नपुगेकी उनी कानुनको दृष्टिमा बालिका नै हुन् र राज्यबाट विशेष संरक्षण पाउने अधिकार राख्छिन् ।
ससुराबाट भएको भनिएको यौन हिंसाको घटना सार्वजनिक भएपछि किशोरीका २३ वर्षीय श्रीमानले पनि उनीमाथि सोधपुछ र कुटपिट गरेका थिए । प्रहरीका अनुसार आमालाई समेत छेउमा राखेर श्रीमानले किशोरीमाथि कुटपिट गरेका थिए । कुटपिटको दृश्य श्रीमान् स्वयंले सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि घटना बाहिर आएको हो ।
प्रहरीले उनलाई मंसिर ९ गते पक्राउ गरेको जनाएको छ । उनीमाथि कुटपिट, बालविवाह र विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
घटनाको सबैभन्दा गम्भीर पक्ष किशोरीको उमेर हो । १४ वर्षकी किशोरी शिशुलाई स्तनपान गराइरहेको अवस्थामा देखिनुले उनी अत्यन्त कलिलो उमेरमै आमा बनेको देखाउँछ ।
नेपालको कानुनले विवाहका लागि दुवै पक्षको उमेर २० वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था गरेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ ले २० वर्ष नपुगी विवाह गर्न वा गराउन निषेध गरेको छ । उक्त उमेरभन्दा कममा भएको विवाह स्वतः बदर हुने र बालविवाह गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।
कानुन अनुसार बालविवाह भएको भन्दैमा बालिकाले विवाहपछि आफ्नो बाल अधिकार गुमाउँदिनन् । विवाह भइसकेको वा बच्चा जन्माइसकेको कारणले उनी वयस्क महिला बन्दिनन् । १८ वर्ष नपुगेकी उनी कानुनको दृष्टिमा बालिका नै हुन् र राज्यबाट विशेष संरक्षण पाउने अधिकार राख्छिन् ।
मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग उनको सहमतिमै यौन सम्पर्क भएको भए पनि त्यसलाई जबर्जस्ती करणी मानिन्छ । त्यसैले १४ वर्षीया किशोरीमाथि ५५ वर्षीय ससुराले यौन सम्पर्क गरेको आरोप पुष्टि भएमा उनीहरूको सम्बन्ध, पारिवारिक अवस्था वा बालिकाले कथित रूपमा सहमति दिएको भनिए पनि कानुनी रूपमा त्यसलाई वैध सहमति मान्न मिल्दैन ।
बालिकामाथि भएको भनिएको यौन हिंसा सामान्य पारिवारिक विवाद होइन, गम्भीर फौजदारी कसुर हो । अनुसन्धानमा घटनाको प्रकृति, प्रमाण, पीडितको बयान, स्वास्थ्य परीक्षण र अन्य परिस्थितिका आधारमा कानुनी प्रक्रिया अघि बढाउनुपर्छ ।
परिवारभित्रै बालिका कति असुरक्षित हुन सक्छन् भन्ने प्रश्न पनि यस घटनाले उठाएको छ । बालिकाको संरक्षण गर्नुपर्ने अभिभावकीय जिम्मेवारीमा रहेका व्यक्तिबाटै यौन हिंसा भएको आरोप लाग्नु गम्भीर विषय हो ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देखिएको अर्को गम्भीर पक्ष श्रीमानबाट भएको भनिएको कुटपिट हो । शिशुलाई स्तनपान गराइरहेकी किशोरीमाथि पेटीले प्रहार गर्नु, गालीगलौज गर्नु र अपमानजनक व्यवहार गर्नु कुनै पनि अवस्थामा जायज हुन सक्दैन । श्रीमतीले कथित रूपमा कुनै गल्ती गरेको भए पनि त्यसको सजाय दिने अधिकार श्रीमान् वा परिवारका अन्य सदस्यलाई हुँदैन ।
नेपालको घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ ले घरेलु सम्बन्धमा रहेका व्यक्तिबाट हुने शारीरिक, मानसिक, यौनजन्य तथा आर्थिक यातनालाई घरेलु हिंसाका रूपमा परिभाषित गरेको छ । ऐनको दफा ३ ले घरेलु हिंसा गर्न, गराउन वा त्यसका लागि दुरुत्साहन गर्नसमेत निषेध गरेको छ । त्यस्तै, मुलुकी अपराध संहिताको दफा १९१ ले अर्काको शरीरमा पीडा पुर्याउने कार्यलाई कुटपिटसम्बन्धी कसुर मानेको छ । कसुर प्रमाणित भएमा तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
यसर्थ भिडियोमा देखिएको कुटपिटलाई केवल श्रीमान्-श्रीमतीबीचको विवादका रूपमा व्याख्या गर्न मिल्दैन । यो घरेलु हिंसा र बालिकामाथिको शारीरिक यातनासँग सम्बन्धित कानुनी विषय हो ।
नेपालको संविधानको धारा ३९ ले बालबालिकाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । धारा ३९ को उपधारा (५) ले बालविवाह गर्न नपाइने व्यवस्था गरेको छ । उपधारा (६) ले बालबालिकालाई शारीरिक, मानसिक, यौनजन्य वा अन्य प्रकारको शोषण तथा दुर्व्यवहारबाट संरक्षण गरेको छ ।
त्यस्तै, उपधारा (७)ले घर, विद्यालय वा अन्य कुनै पनि स्थानमा बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिन निषेध गरेको छ । त्यसैगरी उपधारा (८) ले बालमैत्री न्यायको अधिकार सुनिश्चित गरेको छ ।
बालबालिकासम्बन्धी ऐन, २०७५ ले पनि प्रत्येक बालबालिकालाई सम्मानपूर्वक बाँच्न पाउने, स्वास्थ्य, शिक्षा, संरक्षण र गोपनीयताको अधिकार दिएको छ । यस घटनामा किशोरीको बालविवाह, कलिलो उमेरमै मातृत्वको अवस्था, ससुराबाट भएको भनिएको यौन हिंसा र श्रीमानबाट भएको कुटपिटले संविधान तथा बालबालिकासम्बन्धी कानुनले प्रत्याभूत गरेका अधिकारमाथि गम्भीर प्रश्न उठाएको छ ।
नेपालको संविधानको धारा ३८ ले महिलालाई सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको हक प्रदान गरेको छ । त्यस्तै, कुनै पनि महिलामाथि शारीरिक, मानसिक, यौनजन्य वा मनोवैज्ञानिक हिंसा गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । तर प्रस्तुत घटनामा पीडित किशोरी महिला अधिकारको सवालसँगै बाल अधिकारको विषय पनि हुन् । उनीमाथि भएको हिंसालाई केवल लैङ्गिक हिंसाका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन । उमेर, मातृत्व, पारिवारिक निर्भरता र शक्ति सम्बन्धका कारण उनी थप जोखिममा रहेको अवस्था देखिन्छ ।
१४ वर्षको उमेरमा गर्भधारण, प्रसूति र शिशुको हेरचाह गर्नुपर्ने अवस्थाले उनको स्वास्थ्य, शिक्षा, मनोसामाजिक विकास र भविष्यमा समेत गम्भीर प्रभाव पार्न सक्छ । त्यसैले पीडितलाई सुरक्षित आवास, स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, शिशुको उचित हेरचाह र निरन्तर संरक्षणको व्यवस्था गर्नु राज्यको दायित्व हो ।
यस घटनामा श्रीमानले आफैँ कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको भनिएको छ । भिडियो सार्वजनिक भएपछि घटनाबारे जानकारी बाहिर आए पनि यसले पीडित बालिकाको गोपनीयता र मर्यादामाथि अर्को जोखिम सिर्जना गरेको छ।
बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ११ ले बालबालिकाको गोपनीयताको अधिकार सुनिश्चित गरेको छ । बालबालिकालाई लज्जित, अपमानित वा चरित्रमा आघात पुग्ने गरी उनीहरूको व्यक्तिगत विवरण, तस्बिर वा भिडियो प्रकाशन, प्रदर्शन वा प्रसारण गर्न निषेध गरिएको छ । त्यस्तै, दफा ७८ ले बालबालिकाविरुद्धको कसुरबाट पीडित बालबालिकाको पहिचान खुल्ने विवरण सञ्चारमाध्यमबाट सार्वजनिक गर्न रोक लगाएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ता, सञ्चारमाध्यम र सामग्री उत्पादकले घटनाको विरोध गर्ने नाममा समेत किशोरीको अनुहार, नाम, ठेगाना वा पहिचान खुल्ने भिडियो पुनः प्रसारण गर्नु हुँदैन । घटनाको प्रमाणका रूपमा रहेको मूल भिडियो प्रहरी तथा अनुसन्धान निकायलाई उपलब्ध गराउनु र त्यसलाई सार्वजनिक मनोरञ्जन वा सनसनीको विषय बनाउनु फरक कुरा हुन् । पीडितको पहिचान लुकाएर मात्र घटनाको सार्वजनिक महत्त्वबारे समाचार सम्प्रेषण गर्नुपर्छ ।
महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएकै दिन यो घटना सार्वजनिक हुनुले अभियानको सान्दर्भिकतालाई थप गम्भीर बनाएको छ । महिला हिंसाविरुद्धका नारा, प्रतिबद्धता र औपचारिक कार्यक्रम मात्र पर्याप्त हुनु हुँदैन ।
बालविवाह रोकथाम, बालिकाको शिक्षा, यौन हिंसाविरुद्ध सचेतना, घरेलु हिंसाको उजुरी प्रणाली र पीडितको प्रभावकारी संरक्षणमा व्यवहारमै परिवर्तन आवश्यक छ ।
यस घटनाले परिवारभित्र हुने हिंसा बाहिर नआउँदासम्म लुकिरहने सामाजिक प्रवृत्तिमाथि पनि प्रश्न उठाएको छ । बालिका आफ्नै घरमा सुरक्षित छैनन् भने उनीहरूको संरक्षणका लागि बनेका कानुन र संस्थाहरूको प्रभावकारिता कसरी सुनिश्चित गर्ने भन्ने सवाल उठ्नु स्वाभाविक हो ।
बालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य परीक्षण, दीर्घकालीन मनोसामाजिक परामर्श, सुरक्षित आवास तथा शिशुको उचित संरक्षणको व्यवस्था गर्न आवश्यक छ । बालिकाको शिक्षा, स्वास्थ्य, पोषण र भविष्य सुनिश्चित गर्नु पनि राज्यको दायित्व हो । बालविवाह गराउने, प्रोत्साहन गर्ने वा त्यसमा संलग्न अन्य व्यक्तिको भूमिकासमेत अनुसन्धानको दायरामा ल्याउनुपर्छ ।
१४ वर्षीया किशोरीले श्रीमान्, ससुरा वा परिवारको कथित गल्तीको सजाय भोग्नुपर्ने होइन । उनले सम्मानपूर्वक बाँच्न, सुरक्षित मातृत्वको सेवा पाउन, शिक्षा हासिल गर्न र हिंसामुक्त जीवन बिताउन पाउनुपर्छ । कानुनले दिएको अधिकार व्यवहारमा कार्यान्वयन गराउनु नै अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो ।