१५ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी १५ वर्षपछि नै पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । लागूऔषध (खैरो हेरोइन) मुद्दामा १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पर्साको वीरगञ्जका ३९ वर्षीय असाव मियाँलाई काठमाडौँको डल्लुबाट पक्राउ गरेको हो ।

मियाँ २०६९ वैशाख ५ गते वीरगञ्ज उपमहानगरपालिकाबाट लागूऔषध (खैरो हेरोइन) सहित पक्राउ परेका थिए । उनीविरुद्ध नेपाल सरकार वादी रहेको लागूऔषध मुद्दामा सर्वोच्च अदालतले २०८० फागुन २२ गते १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

फैसलाअनुसार सजाय भुक्तान नगरी फरार रहेका मियाँलाई विशेष सूचनाका आधारमा सीआईबीको प्रहरी टोलीले मंसिर ९ गते काठमाडौँ महानगरपालिका-१५ डल्लुबाट पक्राउ गरेको हो ।

पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ ।

प्रहरीका अनुसार मियाँ पर्साको साविक वीरगञ्ज उपमहानगरपालिका-१८ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका-१५ मा बस्दै आएका  छन् ।

 

सम्बन्धित खबर