
काठमाडौँ । बुटवल उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयलाई सार्वजनिक बिदाका दिन विद्यालय सञ्चालन नगर्न अनुरोध गरेको छ । उपमहानगरपालिकाले सूचना जारी गर्दै नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णयअनुसार शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरिएको जनाएको छ ।
तर, कतिपय विद्यालय आइतबारसमेत सञ्चालन भइरहेको भन्दै व्यापक जनगुनासो प्राप्त भएको पनि सूचनामा उल्लेख छ । नेपाल सरकारबाट अर्को सूचना प्राप्त नभएसम्म तोकिएका सार्वजनिक बिदाका दिन विद्यालय सञ्चालन नगर्न र नगराउन सम्बन्धित सबै विद्यालयलाई अनुरोध गरिएको छ ।
उपमहानगरले सरकारी निर्णयको अवज्ञा गरी विद्यालय सञ्चालन गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ ।