
काठमाडौँ । रसुवा-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले नेपाल सरकारसमक्ष सिफारिस गरेको छ । लामो समयदेखि बेपत्ताको सूचीमा रहेका हजारौँ नागरिकका सम्बन्धमा सरकारले कानुनी प्रक्रिया अघि बढाउने बाटो खुलेको हो ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार बसेको समितिको ३८औँ बैठकले ४८ जिल्लाबाट प्रमाणीकरण भई आएका ३ हजार २९२ जना नेपाली नागरिक र १९ वटा विदेशी नियोगबाट प्राप्त विवरणका आधारमा पहिचान भएका ६२३ जना विदेशी नागरिकलाई मृत घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदी प्रणालीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो । ल्हेन्दे खोला हुँदै भोटेकोशी, त्रिशूली र नारायणी नदी प्रणालीमा फैलिएको बाढीले रसुवासहित नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा विनाश मच्चाएको थियो । प्रारम्भिक प्राविधिक प्रतिवेदनअनुसार हिमताल तथा चट्टानी भूभागबाट उत्पन्न हिमपहिरो र त्यसपछिको आकस्मिक बहाव बाढीको प्रमुख कारण बनेको थियो ।
बाढीपछि लामो समयसम्म खोज तथा उद्धार कार्य सञ्चालन गरिए पनि ठूलो सङ्ख्यामा मानिसको अवस्था यकिन हुन सकेको थिएन । बेपत्ता व्यक्तिका परिवार आफन्तको पर्खाइमा रहँदा मृत्यु दर्ता, राहत, क्षतिपूर्ति तथा अन्य कानुनी प्रक्रियासमेत प्रभावित हुँदै आएका थिए ।
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत घोषणा गर्न सक्ने व्यवस्था गरिएको छ । सोही कानुनी व्यवस्थाका आधारमा समितिले सरकारलाई सिफारिस गरेको हो ।
नेपाली नागरिकको हकमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा विवरण सङ्कलन तथा प्रमाणीकरण गरिएको थियो । विदेशी नागरिकका हकमा सम्बन्धित मुलुकको नेपालस्थित कूटनीतिक नियोग वा नेपाल हेर्ने जिम्मेवारी पाएको नियोगबाट प्राप्त सूचीका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई चरणमा सातदिने सूचना प्रकाशन गरी दाबी पेस गर्न आह्वान गरेको थियो ।
समितिको सिफारिसपछि अब नेपाल सरकारले आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृत घोषणा गर्ने निर्णय गर्नुपर्नेछ । यसबाट बेपत्ता व्यक्तिका परिवारलाई मृत्यु दर्ता, राहत तथा क्षतिपूर्तिसम्बन्धी प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ । तर मृत घोषणा गर्ने सिफारिस र सरकारले गर्ने अन्तिम निर्णय फरक कानुनी चरण हुन् ।
यसैबीच, समितिको बैठकले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न राष्ट्रिय रणनीति तथा कार्ययोजनासमेत स्वीकृत गरेको छ ।