
काठमाडौँ । स्याङ्जा जिल्ला अदालतले नागरिकताको सरकारी अभिलेख किर्ते तथा अनधिकृत हेरफेर गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका तीन कर्मचारीसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा, कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईँ, लेखापाल रमेश विक र किर्तेका मतियार आरोपी प्रयासी गुरुङलाई अदालले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
जिल्ला न्यायाधीश उपेन्द्रप्रसाद गौतमको इजलासले उनीहरु चारैजनालाई थुनामा पठाउने आदेश दिएको जिल्ला अदालत स्याङ्जाले जनाएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय स्याङ्जाले प्रहरी अनुसन्धानका आधारमा मंगलबार उनीहरूविरुद्ध सरकारी लिखतसम्बन्धी कसुर (किर्ते गर्न नहुने) अन्तर्गत मुद्दा दायर गरेको थियो । अदालतका स्रेस्तेदार भेषराज पौडेलका अनुसार तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीहरू कसुरदार होइनन् भन्ने अवस्था नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ को उपदफा १(ख) बमोजिम थुनामा पठाउने आदेश भएको हो ।
प्रहरीले चारै जनालाई गत कात्तिक १६ गते पक्राउ गरेको थियो । उनीहरूविरुद्धको अनुसन्धान दुईवटा नागरिकता रहेको तथ्य बाहिरिएपछि सुरु भएको थियो । स्याङ्जाको साविक आरुखर्क-८ का प्रयासी गुरुङले २०५६ चैत ३ गते स्याङ्जाको ठेगाना राखेर ५७०६६ नम्बरको नागरिकता लिएका थिए ।
त्यसको करिब छ महिनापछि २०५७ भदौ २५ गते पोखरा लेखनाथ महानगरपालिका-७, कास्कीको ठेगाना राखेर १०८५८८ नम्बरको अर्को नागरिकता लिएको अभिलेखमा देखिएको थियो ।
गुरुङले आफ्ना दुई बालबालिकाको नाबालक परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीमा कागजात पेस गरेपछि ती कागजात रुजु गर्ने क्रममा दुईवटा नागरिकता रहेको तथ्य खुलेको थियो । त्यसपछि कास्की प्रशासनले स्याङ्जा प्रशासनसँग पहिलो नागरिकता रद्द गरिएको भए त्यसको कानुनी आधार, निर्णय र प्रक्रियासम्बन्धी कागजात माग गरेको थियो । सोही क्रममा स्याङ्जाको नागरिकता अभिलेखमा अनधिकृत हेरफेर भएको विषय बाहिर आएको थियो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेका अनुसार कार्यालयको आन्तरिक छानबिनका क्रममा तीन कर्मचारीको भूमिका शंकास्पद देखिएको थियो । छानबिनबाट लेखापाल विकले नागरिकता रद्द गरिएको देखाउने कागजात तयार पारेको, कम्प्युटर अपरेटर चापागाईंले तत्कालीन प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर गरेको र प्रशासकीय अधिकृत शर्माले उक्त कागजात प्रमाणित गरेको खुलेको प्रशासनको भनाइ छ । तर, नागरिकता रद्द गर्ने आधिकारिक निर्णय नै नभएको अवस्थामा निर्णय भएको जस्तो देखाउने गरी कागजात तयार पारिएको आरोप छ ।
प्रशासनको छानबिनमा २०८३ भदौ १५ गतेको घटनासमेत जोडिएको छ । उक्त दिन कार्यालयको अभिलेखमा नागरिकता रद्द गरिएको देखाउने कागजात तयार पारिएको र त्यसमा तीनै कर्मचारीको भूमिका रहेको अनुसन्धानबाट खुलेको बताइएको छ ।
घटनाबारे थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयले भदौ २६ गते नै प्रहरीलाई पत्राचार गरेको थियो । त्यसपछि गृह मन्त्रालयले असोज २८ गते आवश्यक कारबाहीका लागि प्रशासनलाई पत्र पठाएको र प्रशासनले कात्तिक ९ गते पुनः प्रहरीलाई पत्राचार गरेको थियो । त्यसको केही दिनपछि कात्तिक १६ गते चारै जना पक्राउ परेका थिए ।
यस प्रकरणले नागरिकताको प्रमाणपत्र जारी गर्ने मात्र नभई त्यसको अभिलेख संरक्षण, संशोधन र रद्द गर्ने प्रक्रियामा सरकारी कर्मचारीको जवाफदेहितासम्बन्धी गम्भीर प्रश्न उठाएको छ । नागरिकता व्यक्तिको पहिचान र राज्यसँगको कानुनी सम्बन्ध प्रमाणित गर्ने महत्त्वपूर्ण सरकारी दस्ताबेज हो । यसको अभिलेखमा सामान्य त्रुटि सच्याउने कामसमेत निर्धारित कानुनी प्रक्रिया र अधिकारप्राप्त अधिकारीको निर्णयबाट मात्र हुनुपर्छ ।
नेपाल नागरिकता ऐन, २०६३ को दफा १३ मा एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन नहुने व्यवस्था छ । त्यस्तै, ऐनको दफा १२ ले झुटो विवरण दिएर नागरिकता लिएको प्रमाणित भएमा त्यस्तो प्रमाणपत्र रद्द गर्न सकिने व्यवस्था गरेको छ ।
नेपाल नागरिकता नियमावली, २०६३ को नियम १२ अनुसार जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नागरिकता रद्द गर्ने अधिकार सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई हुन्छ । दुई वा सोभन्दा बढी नागरिकता लिएको अवस्थामा पहिलो पटक लिएको नागरिकता कायम राखी पछिल्लो नागरिकता रद्द गर्ने र त्यसको जानकारी सम्बन्धित निकायमा पठाउने प्रक्रिया पनि निर्देशिकामा उल्लेख छ ।
त्यसैगरी, मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ ले झुटो लिखत वा विद्युतीय अभिलेख तयार गर्ने कार्यलाई किर्ते कसुर मानेको छ । सरकारी वा सार्वजनिक लिखत किर्ते गरेको कसुर प्रमाणित भएमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।