
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि काठमाडौँका विभिन्न क्षेत्रमा तीन दिन विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।
प्राधिकरणका अनुसार मंसिर १२, १३ र १४ गते बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा काम हुने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो ।
प्राधिकरणले मंसिर १२ गते कोटेश्वर फिडरअन्तर्गत ईडीटीआर ८ए र (ईडीटीआर ८) क्षेत्र, मंसिर १३ गते थानकोट फिडरअन्तर्गत बलम्बुदेखि सगरमाथा स्याटेलाइट स्टेसनसम्म तथा मंसिर १४ गते धोबीखोला र बत्तीसपुतली फिडरअन्तर्गत शिफल ग्राउण्डदेखि कालोपुलसम्म विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।
विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।
