
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शुक्रबार अपराह्न शीतल निवासमा भेटवार्ता भएको छ । प्रधानमन्त्री शाह आज अपराह्न राष्ट्रपति कार्यालय पुगेका हुन् ।
भारतको पाँचदिने भ्रमण पूरा गरी स्वदेश फर्किएका प्रधानमन्त्री शाहले राष्ट्रपति पौडेलसँग भेट गरी भ्रमणबारे जानकारी गराउनुका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था र सरकारका कामकारबाहीबारे छलफल गरेका छन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटमा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए । भेटमा अध्यादेशलगायत समसामयिक विषयमा समेत छलफल भएको जनाइएको छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणअघि र फर्किएपछि राष्ट्रपतिसँग भेट नभएको विषयमा यसअघि सार्वजनिक रूपमा टिप्पणी हुँदै आएको थियो ।
यसअघि शुक्रबार नै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए । लामिछाने दिउँसो शीतल निवास पुगेका थिए । उनको सचिवालयका अनुसार भेटमा सरकार, संसद्, अध्यादेश र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।
रास्वपा सभापति लामिछानेले राष्ट्रपतिसँगको भेटमा अध्यादेश जारी हुन बाँकी रहनुको कारण र सरकारले अध्यादेश ल्याउनुको औचित्यबारे छलफल गरेको बताइएको छ।