
काठमाडौँ । भक्तपुरको मध्यपुर ठिमि-बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका सुकुमबासी परिवार आन्दोलनमा उत्रिएका छन् । प्रशासनले वैकल्पिक आवासको व्यवस्था नगरी आश्रयस्थल खाली गर्न निर्देशन दिइएको भन्दै सुकुमबासी परिवारले थाल ठटाएर बिरोध प्रदर्शन गरेका हुन् ।
सरकारले आफ्नो बास र गाँस खोस्न खोजेको भन्दै उनीहरुले आक्रोश व्यक्त गरे । कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका १९ परिवारका ५९ जनालाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो ।
होल्डिङ सेन्टरमा रहेका परिवारले सुरक्षित बसोबासको व्यवस्था नभएसम्म आफूहरू त्यहाँबाट नहट्ने अडान राखेका छन् । उनीहरूको विरोधमा ऐक्यबद्धता जनाउन नागरिक अभियन्ता तथा जेनजी अभियन्ताहरू पनि सेन्टरमा पुगेर सुकुमबासी परिवारको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् ।
वैकल्पिक आवासको व्यवस्था नगरी सुकुमबासी परिवारलाई आश्रयस्थलबाट हटाउने सरकारको निर्णयप्रति विभिन्न राजनीतिक दलका नेता तथा दलहरूले समेत आपत्ति जनाएका छन् । जाडोको समयमा आश्रयविहीन परिवारलाई पुनः विस्थापित गर्न खोजिएको भन्दै उनीहरूले निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुरक्षित आवासको सुनिश्चितताबिना सुकुमबासी परिवारलाई विस्थापित नगर्न सरकारलाई आग्रह गरेका छन्। बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका परिवारलाई हटाउन निर्देशन दिइएकोप्रति ध्यानाकर्षण गराउँदै उनले बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अशक्त व्यक्तिको अवस्थालाई संवेदनशीलतापूर्वक विचार गर्नुपर्ने बताएका छन् ।
भूमिहीन तथा सुकुमबासी समस्याको समाधान विस्थापन नभई उनीहरूको पहिचान, संवाद र सम्मानजनक पुनर्स्थापना भएको घिसिङको भनाइ छ ।
नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पनि वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टर खाली गराउने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । घरबार गुमाएर आश्रय लिइरहेका परिवार अब कहाँ जाने भन्ने प्रश्न गर्दै उनले पुनर्वासको व्यवस्था नभएसम्म उनीहरूलाई हालकै आश्रयस्थलमा बस्न दिनुपर्ने बताएका छन् ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको निर्णय संविधानप्रदत्त आवासको हकविपरीत रहेको टिप्पणी गरेका छन्। संविधानको धारा ३७ ९१० ले प्रत्येक नागरिकलाई आवासको हक सुनिश्चित गरेको उल्लेख गर्दै उनले भूमिहीन तथा सुकुमबासीको जग्गा र आवासको विषय टुङ्गो लगाएपछि मात्रै व्यवस्थापन प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् । वैकल्पिक आवासको व्यवस्था नगरी नागरिकलाई सडकमा पुर्याउने अधिकार सरकारलाई नभएको उनको भनाइ छ।
यसैगरी, उज्यालो नेपाल पार्टीका प्रवक्ता राजेन्द्र अवस्थीले विज्ञप्ति जारी गर्दै सरकारलाई निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन् । वैकल्पिक तथा दीर्घकालीन व्यवस्थापन नगरी घरटहरा भत्काउने, आश्वासन दिएर महिनौँसम्म अन्योलमा राख्ने र अहिले अस्थायी आश्रयस्थलबाट समेत हटाउन खोज्नु गैरजिम्मेवार तथा अमानवीय कार्य भएको पार्टीको ठहर छ ।
नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले पनि सरकारको कदमप्रति आपत्ति जनाएका छन् । नागरिकको आश्रय खोस्ने नभई उनीहरूका लागि सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उनले होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।
विभिन्न राजनीतिक दलका नेता तथा अभियन्ताहरूले प्रभावित परिवारसँग संवाद गरी उनीहरूको तत्कालीन आधारभूत आवश्यकता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले सुरक्षित, सम्मानजनक र दीर्घकालीन पुनर्वासको व्यवस्था नगरी आश्रयस्थलबाट हटाउनु उचित नहुने भन्दै सरकारलाई मानवीय संवेदनशीलताका आधारमा निर्णय लिन आग्रह गरेका छन् ।