घुस लिएको आरोपमा कपिलवस्तुका इन्जिनियर चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

दियोपोस्ट संवाददाता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्राविधिक प्रमुख (करार इन्जिनियर) प्रदीप कुमार चौधरीविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि आयोगले आज (शुक्रबार) आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार इन्जिनियर चौधरीले नगरपालिकाबाट सञ्चालित सडक निर्माण कार्य सम्पन्न सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी गर्न गराउन विभिन्न बहाना बनाई निर्माण व्यवसायीलाई दुःख हैरानी दिई कमिसन तथा घुस माग गरेका थिए ।

सोही उजुरीका आधारमा आयोगले गरेको अनुसन्धानका क्रममा चौधरीले बार्गेनिङ गरी सेवाग्राहीबाट चेकमार्फत ५० हजार रुपैयाँ र फोनपेबाट बैंक खातामा १ लाख रुपैयाँ गरी कुल १ लाख ५० हजार रुपैयाँ घुस लिएको प्रमाणित भएको छ ।

अख्तियारले चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा १ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनबमोजिम कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस