
काठमाडौँ । आजभन्दा १० वर्षअघि नेपाल प्रहरीले लागु औषध तस्करीविरुद्ध ‘अपरेसन स्युडाे’ नामक विशेष अभियान सुरु गरेको थियो। सोही अपरेसनको क्रममा मुख्य लागु औषध कारोबारी रतनलाल संघाई पक्राउ परेका थिए । संघाई समूहले सञ्चालन गरेको आर्या फर्मामार्फत लागु औषधको कारोबार भइरहेको सूचना पाएको प्रहरीले संघाईसँगै उनका भाइ पवन संघाईको समेत खोजी गरेको थियो, तर उनी त्यति बेला भारतमा लुकेर बसेका थिए ।
पाटन औद्योगिक क्षेत्रमा रहेको संघाईको प्लास्टिक इन्डस्ट्रिजबाट लागु औषध नियन्त्रण ब्युरोको टोलीले औषधि बनाउने रसायन लागु औषध तस्करलाई बिक्री गर्न लागिएको अवस्थामा बरामद गरेको थियो । संघाई समूहबाट २९ लाख ७४ हजार ट्याब्लेट बरामद गरिएको थियो, जसबाट ७१ किलो लागु औषध एमफेटामाइन बनाउन सकिने प्रहरीको विश्लेषण थियो । औषधि उद्योगको नाममा आयात गरिएको रसायन लागु औषध बनाउन चीन, भारतलगायतका देशमा पठाउने गरिएको समेत ब्युरोले पत्ता लगाएको थियो। बरामद भएको रसायन मात्रै १ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको थियो । यो धन्दामा संलग्न आर्या फर्माका सञ्चालक रतन पक्राउ पर्दा उनका भाइ पवन संघाई भने फरार भएका थिए ।

लागु औषध कारोबारमा मुछिएपछि यो समूहको व्यापारिक साख ओरालो लागेको थियो । तत्कालीन जनता बैंकले उनीहरूको सम्पत्ति लिलामीमा निकालेको थियो भने नेपाल राष्ट्र बैंकले कारोबारसमेत रोक्का राखिदिएको थियो ।
तर, यही समूहले अहिले सर्वसाधारणको जीवनमाथि गम्भीर खेलबाड गर्ने गरी इनर्जी ड्रिंक उत्पादनमा हात हालेको छ । आर्या फर्मा सञ्चालन गरिरहेको संघाई समूहले औषधिमा प्रयोग हुने रसायनहरूको प्रयोग गरेर इनर्जी ड्रिंक उत्पादन गरिरहेको तथ्य बाहिर आएको छ । संघाई समूहअन्तर्गतको एग्रो थाइफुड नामक कम्पनीमार्फत बजारमा ल्याइएका विभिन्न इनर्जी ड्रिंक स्वास्थ्यका दृष्टिकोणबाट अत्यधिक हानिकारक देखिएका छन् । विशेषगरी ‘एक्सट्रिम इनर्जी ड्रिंक’ र ‘म्याक्स टाइगर’ जस्ता उत्पादनहरूको बजारमा व्यापक विज्ञापन गरिए पनि यसको वास्तविक सञ्चालकको पहिचान भने गोप्य राखिएको छ । विगतको लागु औषध कारोबारको दाग लुकाउन र पहिचान छल्न यो समूहले नयाँ नाम र शैलीबाट यो धन्दा चलाउँदै आएको छ ।

औषधि उत्पादनमा प्रयोग हुने बेन्जोइक एसिड र सोर्बिक एसिडजस्ता हानिकारक रसायनहरू यो समूहले उत्पादन गर्ने इनर्जी ड्रिंकमा भेटिने गरेको दियोपोस्टले फेला पारेको छ । वयस्कहरूका लागि तोकिएको सीमाभित्र भनिएका यी रसायन र उच्च क्याफिनको मात्रा बालबालिकाको अल्पविकसित शारीरिक रचनाका लागि प्राणघातक साबित भइरहेको छ । वयस्कको तुलनामा धेरै कम तौल हुने बालबालिकाहरूले यस्ता ड्रिंक सेवन गर्दा उनीहरूको केन्द्रीय स्नायु प्रणालीमा अतिसक्रियता, बेचैनी र अनिद्रा हुने गर्छ । क्याफिनको उच्च मात्राले मुटुको धड्कन अचानक बढाएर बालबालिकाको मुटुलाई गम्भीर जोखिममा पार्छ ।

बालबालिकाको कोमल कलेजो र मिर्गौलाले यी रासायनिक संरक्षकहरूलाई थेग्न सक्दैन, जसले पाचन प्रणालीमा दीर्घकालीन समस्या र मेटाबोलिक असन्तुलन पैदा गर्छ । कतिपय बालबालिका यस किसिमका स्वास्थ्य समस्याको सिकार भइरहेको भिडियोसमेत फेला परेको छ । यस कम्पनीमा आबद्ध विज्ञ डाक्टरहरूका अनुसार यस्ता पेय पदार्थमा रहेका कृषि कीटनाशकका ट्रेस अंशहरूले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमतालाई भित्रभित्रै खोक्रो बनाउँदै लैजान्छ ।

एक्सट्रिम इनर्जी ड्रिंकको निरन्तर सेवनका कारण एक किशोरको स्वास्थ्यमा गम्भीर असर देखिएको छ । सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै उनले निरन्तर उक्त ड्रिंक सेवन गरेपछि आफ्नो मिर्गौला बिग्रिएको खुलासा गरेका छन् । अस्पतालको शय्याबाटै उनले आफूलाई यस्तो समस्या देखिनुमा इनर्जी ड्रिंकको अत्यधिक सेवन मुख्य कारण रहेको बताएका छन् ।
यस संवेदनशील विषयमा प्रतिक्रिया लिन दियोपोस्टले कम्पनीका प्रतिनिधि पवन श्रेष्ठलाई सम्पर्क गरेको थियो । तर, यस विषयमा लिखित जानकारी गराउन आग्रह गर्दासमेत श्रेष्ठले कुनै प्रतिक्रिया दिएका छैनन् ।