रोमानिया पठाउने भन्दै लाखौँ ठगीको आरोप, वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष विरुद्ध उजुरी

दियोपोस्ट संवाददाता

काठमाडौँ । आकर्षक तलब र रोजगारीको प्रलोभन देखाएर रोमानिया पठाउने भन्दै ७ लाख २५ हजार रुपैयाँ ठगी गरेको आरोपमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष महेश कुमार बस्नेतको कम्पनीविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दर्ता भएको छ ।

झापाको मेचीनगर नगरपालिका-१४ का सूर्यप्रसाद कडरियाले ‘ग्लोबल राइजिङ प्लेसमेन्ट प्रालि’का सञ्चालक तथा अध्यक्ष बस्नेत र कम्पनीका प्रमुख कार्यकारी अधिकृत भनिएका विष्णु रिमालविरुद्ध वैदेशिक रोजगार विभाग, ताहाचलमा उजुरी दिएका हुन् ।

कडरियाले उजुरीमा आफूलाई रोमानियामा मासिक ४ हजार ४० ल्यु तलब, खानबस्न तथा ओभरटाइम सुविधासहितको रोजगारी दिलाउने भन्दै प्रलोभनमा पारिएको उल्लेख गरेका छन् ।

उजुरीअनुसार उनलाई रोमानियास्थित एक कम्पनीमा ‘मटेरियल ह्यान्डलर’ पदमा काम लगाइदिने आश्वासन दिइएको थियो । भिसा प्रक्रिया र अन्य खर्चका लागि ७ लाख २५ हजार रुपैयाँ लाग्ने बताएपछि आफूले आफन्त तथा साथीभाइबाट ऋण लिएर उक्त रकम र आफ्नो सक्कल राहदानी कम्पनीलाई बुझाएको कडरियाको दाबी छ ।

रकम बुझाएपछि रोजगार सम्झौता, हवाई टिकटलगायत आवश्यक कागजात उपलब्ध गराउने तथा कुनै समस्या आए कम्पनीले नै जिम्मेवारी लिने आश्वासन दिइएको उनको भनाइ छ ।

कडरियाले सुरक्षाका लागि श्रीमतीको बैंक खाताका दुईवटा ओपन चेक र आफ्नो सक्कल नागरिकतासमेत कम्पनीमा राखेको उजुरीमा उल्लेख गरेका छन् ।

रोमानिया पुगेपछि सम्झौताअनुसार काम र तलब नपाएको दाबी

कडरियाका अनुसार उनी सन् २०२५ मे १७ मा फ्लाई दुबईमार्फत रोमानिया पुगेका थिए । तर, त्यहाँ पुगेपछि आफूलाई सम्झौताअनुसारको काम, तलब तथा सेवा-सुविधा नदिइएको उनको आरोप छ ।

आफूलाई व्यक्तिगत भिसामा पठाइएको र रोजगारदाता कम्पनीले जबर्जस्ती केही रकम खातामा जम्मा गरी पुनः फिर्ता लिन लगाएको उनले दाबी गरेका छन् ।

त्यसैगरी, सम्झौताअनुसार काम र तलब नदिइएको तथा आफ्नो समस्याबारे नेपालस्थित म्यानपावर कम्पनीका सञ्चालक र सम्बन्धित व्यक्तिलाई पटकपटक जानकारी गराउँदा पनि समाधानका लागि पहल नभएको उनको भनाइ छ ।

उजुरीमा कडरियाले रोमानियामा आफूलाई बन्दुक देखाएर ज्यान मार्ने धम्की दिइएको र करिब चार महिना १५ दिनसम्म बन्धक बनाएर राखिएको गम्भीर आरोपसमेत लगाएका छन् ।

अन्ततः आफन्तको सहयोगमा ९६ हजार रुपैयाँ खर्च गरेर हवाई टिकटको व्यवस्था गरी नेपाल फर्किएको उनले बताएका छन् ।

नेपाल फर्किएपछि आफूले बुझाएको रकम फिर्ता माग्दा उल्टै धम्की दिइएको र रकम फिर्ता गर्न अस्वीकार गरिएको कडरियाको आरोप छ ।

७ लाख २५ हजारसँगै क्षतिपूर्तिको माग

कडरियाले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ अनुसार आरोपितमाथि कारबाही गर्न माग गरेका छन् ।

उनले आफूले बुझाएको ७ लाख २५ हजार रुपैयाँ, त्यसको ५० प्रतिशतले हुन आउने क्षतिपूर्ति, नेपाल फर्किन लागेको ९६ हजार रुपैयाँ हवाई टिकट खर्च तथा रोमानियामा सम्झौताअनुसार पाउनुपर्ने तलबसमेत उपलब्ध गराउन माग गरेका छन् ।

उनका अनुसार रोमानियामा चार महिना १५ दिन काम गरेको अवधिमा मासिक ४ हजार ४० ल्युका दरले कुल १८ हजार २२४ ल्यु तलब पाउनुपर्ने थियो । उक्त रकमसमेत नपाएको उनको दाबी छ ।

कडरियाले कम्पनीका सञ्चालक, कर्मचारी तथा घटनामा संलग्न अन्य व्यक्तिमाथि अनुसन्धान गरी कानुनी कारबाही गर्न र कम्पनीको इजाजतपत्रसमेत रद्द गर्न माग गरेका छन् ।

उजुरीसँगै उनले कम्पनीका कर्मचारीसँग भएको ह्वाट्सएप संवाद, रोजगार सम्झौतापत्र, रकम बुझाएको प्रमाणलगायत कागजात प्रमाणका रूपमा पेस गरेको बताएका छन् ।

संघको नेतृत्वमा रहेका बस्नेतको कम्पनीविरुद्ध उजुरी

ग्लोबल राइजिङ प्लेसमेन्ट प्रालिका सञ्चालक तथा अध्यक्ष बस्नेत नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्षसमेत हुन् ।

वैदेशिक रोजगार व्यवसायीको छाता संस्थाको नेतृत्वमा रहेका व्यक्तिकै कम्पनीविरुद्ध वैदेशिक रोजगारीका नाममा ठगी तथा सम्झौताविपरीत काम गरेको आरोपसहित उजुरी परेपछि घटनाले थप चासो सिर्जना गरेको छ ।

 

सम्बन्धित खबर

सिफारिस