
काठमाडौँ । ओखलढुङ्गामा बोका खरिद गर्ने क्रममा नक्कली नोट प्रयोग गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुनकोशी गाउँपालिका-९, ककनीमा बोका किनबेचका क्रममा नक्कली नोट प्रयोग गरेको पाइएपछि प्रहरीले चम्पादेवी गाउँपालिका-केउरिनीका २१ वर्षीय कृष्ण खत्री र ३३ वर्षीय ध्रुवबहादुर खत्रीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूले स्थानीय हस्तबहादुर तामाङ र वीरबहादुर तामाङबाट तीन वटा बोका खरिद गर्दा २८ हजार रुपैयाँको कारोबार गरेका थिए। सो क्रममा उनीहरूले १९ हजार रुपैयाँ बराबरका एक हजार दरका १९ थान नक्कली नोट प्रयोग गरेको पाइएको हो।
नक्कली नोट प्रयोग गरेको खुलेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक महर्जनले जानकारी दिए।
प्रारम्भिक सोधपुछका क्रममा उनीहरूले उक्त नक्कली नोट काठमाडौँबाट ल्याएको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।