
काठमाडौँ । ‘हुँकार मधेस’ अभियानमा सहभागी हुने घोषणा गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना केन्द्रीय नेताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् ।
राजीनामा दिने नेताहरूले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीका सबै जिम्मेवारीसँगै साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।
राजीनामा दिनेमा पूर्वसङ्घीय सांसद तथा सहिद परिवारकी सदस्य इन्दुकुमारी शर्मा, जसपा नेपालका केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता घनश्याम शर्मा र युवा नेता पुष्पराज चमन रहेका छन् ।
चारै नेताले संयुक्त रूपमा राजीनामा घोषणा गर्दै ‘हुँकार मधेस’ अभियानमा सहभागी हुने बताएका छन् ।
उनीहरूको सामूहिक राजीनामाले मधेस केन्द्रित राजनीतिमा नयाँ राजनीतिक ध्रुवीकरणको संकेत गरेको छ । पछिल्लो समय मधेसमा विभिन्न राजनीतिक अभियान र संगठनबीच सहकार्य तथा नयाँ राजनीतिक विकल्प निर्माणको बहस चलिरहेका बेला जसपा नेपालका केन्द्रीय नेताहरूले पार्टी परित्याग गरेका हुन् ।
यद्यपि, उनीहरूले पार्टी छाड्नुको विस्तृत कारण र ‘हुँकार मधेस’ अभियानमा उनीहरूको आगामी भूमिकाबारे भने थप विवरण सार्वजनिक हुन बाँकी छ ।